४ महिनादेखि बन्द बाटो नागरिक दवावपछि खुल्यो

४ महिनादेखि बन्द बाटो नागरिक दवावपछि खुल्यो

ठेकेदारले सडक निर्माणका नाममा ४ महिनादेखि हिडडुल र सवारी प्रवेश बन्द गराएर स्थानीयललाई सास्ती दिएको भन्दै नागरिक समाजले धर्ना दिएपछि बाटो खुला गरिएको छ । गोरखा नगरपालिका वडा नम्बर ८ को खोलखोलेदेखि नगरपालिका कार्यालय जाने सडक निर्माणका क्रममा ठेकेदारले ढिलासुस्तीसंगै लापरवाही र अनावस्यक दुख दिएको भन्दै नागरिक समाजले स्थलगत अनुगमनपछि २ घण्टा सडकमै धर्ना दिएका थिए ।

मिति २०७८ असोज २ गते शनिबार साेच नेपालले सञ्चालन गरेकाे पारस्पारिक जवाफदेहिता स्थानिय अभियान अन्तर्गत स्थापना भएकाे  नागरिक साझा सवाल गोरखाको नेतृत्वमा भएको कार्यक्रममा जिल्लामा कृयाशिल नागरिक समाज, अधिकारकर्मी, जनप्रतिनिधी, सञ्चारकर्मी लगायत स्थानीय बासिन्दाको सहभागिता रहेको थियो । अनुगमन र धर्ना दिएपछि भोलीपल्ट आइतबार नै सो बाटो सवारी र पैदल यात्रुका लागि खुला गरिएको हो । नागरिक समाजले निगरानीसंगै सडकमै धर्ना दिएर दवाव सृजना गरेपछि केन्द्रिय आयोजना कार्यान्वयन इकाई कास्कीको ठाडो निर्देशनमा बाटो खुला गरिएको हो ।

२०७५ जेठ १६ गते केन्द्रिय आयोजना कार्यान्वयन इकाई कास्कीले सो सडकमा नालीसहित कालोपत्रेका लागि २ करोड ४६ लाख ७३ हजार रुपैयामा मिनिलियम कल्प वृक्ष जेवीसंग सम्झौता गरेको थियो । तर सम्झौताको म्याद २ पटक सकिदा समेत ठेकेदार कम्पनीले काम सम्पन्न नगरी झनै अलपत्र बनाएको भन्दै नागरिक समाज, अधिकारकर्मीसहित स्थानीयले बिरोध जनाएका हुन ।

सो सडक निर्माणको काम २०७६ मंसिर १६ गते सक्ने गरी ठेकेदार हरी पन्तले जिम्मा लिएका थिए । तर ठेकेदार पन्तले सो समयसम्म २० प्रतिशत पनि काम नसकेपछि कार्यान्वयन इकाइले म्याद थप गरी २०७७ भदौ ५ गतेसम्मको समयसिमा दिएको थियो ।

तर त्यो समयसिमा कटेर हाल एक बर्ष बितिसक्दा समेत काम अलपत्र छ । ‘१ बर्षमा काम सक्ने भनेको ३ बर्षअघि नै हो, तर हेर्नुस त बाटोको हालत’ स्थानीय बिनोद बस्नेतले भने ‘अहिले ४ महिना भयो बाटो मेसिनले बाटो छेकेको, न काम गर्छ न बाटो खोल्छ, यो त अति नै भयो ।’

गोरखा नगरपालिकासहित पूर्वाधार कार्यालय, वन डिभिजन कार्यालय लगायतका सरकारी कार्यालय जाने मुख्य बाटो नै बर्षाैदेखि अलपत्र बनेपछि सेवाग्राही र स्थानीयले सास्ती भोग्दै आएका छन् । सो क्षेत्र जाने वैकल्पिक सडक भएपनि अत्याधिक उकालो र ओरालो भएकाले यात्रा निक्कै जोखिमपूर्ण रहेको स्थानीय बताउछन् ।

‘यहाँ आउने बाटो नभएको होइन तर जसो तसो मान्छेले बाइक र मोटर ल्याउन सक्ने बाटो नै छैन, यहिविचमा यहि बाटोमा यात्रा गर्दा दुर्घटना भएर एक जनाको ज्यानै गइसक्यो’ स्थानीय कृष्ण बाबु थापाले भने ‘न बिरामी पर्दा एम्बुलेन्स आउछ, न मान्छे मर्दा शव वहान आउन सक्छ, पिडा झेल्ने पनि सिमा हुन्छ नि, सडकमा हिड्दापनि घुँडासम्म पाइन्ट सारेर हिड्नुपर्ने बाध्यता कहिलेसम्म ?’

बिरोध कार्यक्रममा सहभागी गोरखा नगरपालिकाकी उपमेयर विनाकुमारी श्रेष्ठले सो सडक निर्माणको जिम्मा संघिय आयोजना अन्तर्गत भएकाले स्थानीय सरकारले चाहेरपनि केहि गर्न सक्ने अवस्था नरहेको बताएकी छिन् । ‘हामीपनि जोखिम मोलेर अफिस आउजाउ गर्नुपर्ने अवस्था छ, पोखराको अफिस र ठेकेदारलाई हामीले बारम्बार भनेका छौ तर हाम्रो समेत सुनुवाई भएको छैन’ उनले भनिन ‘अब जनता जाग्नुको विकल्प छैन ।’

वडाध्यक्ष कृष्ण बहादुर खत्रीले भने बाटो बनाउन जनताले आन्दोलन गर्नुपर्ने अवस्था आउनु दुखद भएको बताएका छन् । स्थानीयसंगै विरोध कार्यक्रममा सहभागी भएका केसीले केन्द्रिय आयोजना र ठेकेदारका कारण स्थानीय सरकार समेत बदनाम हुनुपरेको दुखेसो गरे ।

त्यस्तै नागरिक साझा सवालका संयोजक स्थानेश्वर दुवाडीले तिनै तहका सरकारका सार्वजानिक सेवा प्रवाह र सञ्चालित विकास निर्माणका काममा नागरिक निगरानी बढाउनुपर्ने र सकरात्मक दवाव सृजना गर्दै उनिहरुलाई जवाफदेहि बनाउन सबै नागरिक एकतावद्ध हुनुपर्नेमा जोड दिए ।

गोरखा नगरपालिका वडा नम्बर ६ रेडक्रश– आयुर्वेद– आलेगाउँ– जिल्ला वन कार्यालय तथा नपा चोकदेखि डिभिजन कार्यालयसम्मको सडक स्तारोन्नती गर्ने योजना शिर्षकबाट सो सडक ४ मिटर चौडा गरी कालोपत्रे गर्ने कामसंगै आलेगाउँबाट रेडक्रश भवनसम्मको उकालो बाटो ढलानको समेत जिम्मा थियो । तर ठेकेदार पन्तले आलेगाउँबाट रेडक्रशसम्म दुई स्थानमा गरी २१० मिटर दुरीमा कालोपत्रे काम समेत सकेका छैनन् ।

त्यो संगै खोलखोलाबाट नगरपालिका जाने सडकको काममा समेत उल्लेख्य प्रगती हुन सकेको छैन । यता सो सडक निर्माणको ठेक्का लगाउने संघिय आयोजना कार्यान्वयन इकाइका प्रमुख झपटबहादुर थापासमेत सडक निर्माणमा ढिलाई भएको स्विकार्छन् । ‘यो धेरै ठूलो योजनापनि होइन, अब धेरै काम पनि छैन’ उनले भने ‘ठेकेदारले समयमा काम नगरिदिएकै हो, यसमा लुकाएर लुक्ने बिषय छैन हामीले ताकेता गरिरहेका छौ, बाटो बन्द गरिएको कुरा हामीलाई जानकारीमा दिएन, नागरिक समाजलाई धन्यवाद ।’

नागरिक दवावपछि बाटो खुलेसंगै हाल स्थानीय र सरकारी कार्यालयमा आवत जावत गर्ने यात्रु र सवारीलाई सहज भएको छ ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *