छुवाछुत, दलित अधिकार र धर्म

छुवाछुत, दलित अधिकार र धर्म


मितिः श्रावण १९ गते २०७६,

मानववादी समाज सोच नेपालले छुवाछुत, दलित अधिकार र धर्मका बिषयमा बौद्धिकहरुबिच अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । आज काठमाण्डौमा आयोजित कार्यक्रममा विभिन्न बौद्धिक व्यक्तित्वले धर्ममा छुवाछुत सम्बन्धि व्यवस्था बारे छलफल गरियो । कार्यक्रममा यस बिषयका अध्येता, नेपाल स्थित बेलायति राजदुतावासका पुर्व सल्लाहकार, अक्सफोर्ड विश्वविद्यालयका रीसर्च फेलो डा. मित्र परियारले आफ्ना भनाई राख्नु भएको थियो । उक्त कार्यक्रका वक्ताहरुले निम्नानुसार आफ्नो धारणा राख्नु भयो ः कार्यक्रम सोच नेपालका अध्यक्ष बालकृष्ण नेभाको अध्यक्षतामा भएको थियो ।
डा. मित्र परियारः
हिन्दु धर्मले दलितलाई मानव भएर बाँच्न दिएको छैन । कुकुर, सुँगुर र चण्डाललाई देखाएर ब्राम्हणले भोजन गर्न नहुने जस्ता धार्मिक व्यवस्थाहरु १९१०को मुलुकि ऐनमा हुबहु उल्था भएर आएको पाईन्छ । दलितले वेद पढेमा जिब्रो काट्ने व्यवस्था हिन्दु धर्ममा छ । छुवाछुतबाट पिडितले नेपालमा धर्म परिवर्तन गरेनन् । भारतमा आर्य समाज, अम्बेडकरको अभियान, बुद्ध र महाविरको अभियानले दलितलाई मानव वन्ने केही मार्ग खोलेका थिए । तथापी धर्मसँग सँस्कार जोडिएकाले दलितहरु उक्त धर्ममा बाँधिएर बसिरहे । सबै धर्महरु अन्धविश्वास भएतापनि कम्तिमा हिन्दु बाहेक अन्य धर्ममा जातको व्यवस्था नभएकाले हालका दलितहरुले हिन्दु धर्म त्याग्न जरुरी छ । यो बुझेर अम्बेडकरले करिब १० लाख दलितसँगै हिन्दु धर्म त्यागेर बुद्ध धर्म अपनाउनु भएको हो ।
हिन्दु धर्म त्यागेर नास्तिक हुँदापनि हुनेहो । तर नास्तिकहरुले सँस्कारलाई निरन्तरता दिने छुट्टै व्यवस्था नगरेका कारण दलितहरु नास्तिक हुन गाहे छ । मान्छे मर्दा, विवाह गर्दा र न्वारान गर्दा फेरी सँस्कारै खोज्दछ । तर अहिले हरेक सँस्कारले दलितलाई विभेद गरेका छन् । बाहुनहरु जनई लगाउँदा पुनः जन्मेको भनिन्छ । तर दलितहरुलाई भने गोठमा बाँधेर उहि सँस्कार गरिन्छ । पशुजन्य व्यवहार गरीन्छ । जसरी बलि दिनु अगाडी बोकालाई पुजा गरिन्छ त्यसरी नै शुभ कार्यमा दमाईहरुलाई अघिलाउने र पुजा गर्ने चलन छ । तर यथार्थमा दलितहरु बलिघरे व्यवस्था बमोजिम बलि दिईएका पशुको योनी र पुच्छरका भागिदार मात्रै हुन् । यो जति अपमान अरु के हुन सक्तछ ? ी Luice Dumont ले १९५५ मा लेखेको Homa Hiracicus नामक पुस्तकमा हिन्दु धर्मको मुल सिद्धान्त भनेकै जाति व्यवस्था हो भनेका छन् । ब्राम्हणहरु शुद्ध र शुद्रहरु अशुद्ध हुन् भन्ने आधारमा हिन्दु धर्म निर्माण भएको उनको निश्कर्ष छ । दलितहरु गरिब भएका कारणले उनीहरुमाथि छुवाछुत भएको छ भन्ने तर्कपनि सुन्छि । यदि त्यसो भएको भए बेलायतमा गएका नेपाली बाहुन र दलितको अर्थिक हैसियत उस्तै छ तथापी दलितमाथि उस्तै विभेद छ । २००३ सालमा एकजना दलित मर्दा उनको लाशलाई त्यहाँका गुरुंगले नछोएपछि दलितहरुले सृजनशील नेपाली समाज बेलायत भनि स्थापना गर्नुपर्यो । यदि कमजोर आर्थिक कारणले दलितलाई दमन गरेको भए खै त धनाढ्य सुनारकी छोरी र बाहुनको छोराबिच विवाह भएको ? गरिबै भएपनि बाहुनले धनी सुनारको परिवारमा नाता गाँस्न चाहँदैन । दलितलाई पुर्व जन्मको फल भन्दै आजपनि छुवाछुत गरिन्छ । तर कम्तिमा चर्चमा त्यो व्यवस्था नभएका कारण धेरै दलित चर्चमा आकर्षित भएका छन् । यसरी धर्म परिवर्तन गर्नु दलितका लागि व्यक्तिगत र सामुहिक विद्रोह हो । अब अहिले नियम कानुनले छुवाछुत गर्नु हुँदैन भनेको छ । तर अदालतमा त्यहि ब्राम्हणवादी न्यायाधिश हुन्छ । अनि एकपटक पिडित भएको दलित फेरी न्यायधिशको कठघारामा गएर पिडित हुन्छ । यसरी दोहोरो पिडा पाउनु भन्दा बरु दलितले पुनः विद्रोह गर्न तर्फ लाग्नु पर्ने देखिन्छ । हामीलाई लाग्ला पश्चिमाहरु जाति व्यवस्थाका विरोधी छन् भनेर, तर बेलायतले जात व्यवस्थालाई उत्तिकै मलजल गरेको छ । बेलायतले भारतमा राज्य चलाउँदा जातिय विभाजनको भरपुर उपयोग गर्यो भन्ने Caste of Mind भन्ने पुस्तक पढ्यो भने स्पष्ट हुन्छ । अहिलेपनि बेलायतले आफ्नो गार्खा भर्ति जातिवादी तरिकाले गरेको छ । बाहुन र दलितलाई जातकै आधारमा छनौट गर्दैन बरु जनजातीलाई साँस्कृतिकरुपमा युद्धमा प्रयोग गर्न सहज भएकाले सेनामा भर्ति गर्दछ । तसर्थ, नेपालमा बेलायतको दोहोरो मापदण्ड छः नेपाललाई आर्थिक सहयोग जातिप्रथा अन्त्य गर्न भन्दै दिन्छ तर गोर्खा भर्ति भने जातिवादी तरिकाले गर्दछ । बेलायतिहरु भारतबाट फर्कदा समेत बाहुन क्षेत्रीहरुको सेनालाई भारतमै छाडेर जनजाती सेनालाई बेलायत लिएर गयो ।

नरेन्द्र जंग पिटरः
भारतमा दलितले घोडा चढ्यो भनेर हुलले दलितको हत्या गरेको छ । डा. डि.डि. झाले Holy cow भन्ने किताबमा स्पष्टरुपमा गाईलाई देखाएर गरिने अत्याचारका बारेमा उल्लेख गरेका छन् । ब्राम्हणहरुकालागि घोडा र गाई दलित मानव भन्दापनि उच्च हुन् भनेर देखाउन दमन भईरहेको छ । मुुसलमानमा पनि जातिवाद छ नै । पठान, खान, अन्सारी बिचमा आपसमा विहावारी चल्दैन । भोल्गा से गंगा तक भन्ने पुस्तकमा राहुल साँस्कृत्यायनले चन्द्रशेखर रावणबारे उल्लेख गरेका छन् । उनले जातप्रथालाई मिहिन तरिकाले विश्लेषण गरेका छन् ।
सिताराम घले परियारः पश्चिममा अहिलेपनि बिटलु भन्ने थर छ । त्यो भनेको माथिल्लो जातकाले तल्लो जातकासँग विवाह गरेपछि बनेको भिन्ने जात जस्तो छ । उनीहरु गाउँ समाजबाट नितान्त अलग छन् । डा. मित्र परियारले दलितहरुले हतियार सहितको विद्रोह गर्न आवश्यक छ भन्नु भयो । तर मलाई त्यस्तो लाग्दैन । १० बर्षे जनयुद्धको ईतिहास हेरौँ । युद्ध हुनेबेलासम्म छुवाछुत हटेको जस्तो थियो । तर अहिले तिनै मानिस छुुवाछुत गरिरहेका छन् । तसर्थ, युद्ध समाधान हैन । हतियारले परिवतर्नन गर्दैन । अहिलेको दलित आन्दोलनले तिन तहमा परिवर्तन ल्याउनु पर्दछः राजनीति, कानुन र वैज्ञानीक सोच । अनिमात्र आन्दोलन सफल हुन्छ ।

गणेश बिकेः
१० बर्ष जनयुद्ध भयो तर देशमा परिवर्तन १९ दिनको आन्दोलनले ल्याएको हो । तसर्थ, हतियार भन्दा आन्दोलन बलियो छ । उता दलित दलित बिचमा समेत विभेद छ भनेर दलितको आन्दोलनलाई निस्तेज पार्न खोजिन्छ । हो दलित भित्रपनि विभेद छ र त्यो पनि राज्यले बनाएको हो । भ्रष्ट, ब्राम्हणवादी राज्य नै आजको समस्या हो । यो व्यवस्था परापुर्वदेखि नै चलिआएको छ । कमारा कमारीलाई राज्यले बाहुमा खोप्ने गर्दथ्यो । वैज्ञानीक चेतना पनि उत्तिकै महत्वपुर्ण छ । राज्यले चाहेमा जातिय व्यवस्था तुरुन्त अन्त्य हुन्छ । तर गर्दैनन् । पुष्पलालका पालादेखि नेपाली समाज परिवर्तन भन्दै आन्दोलन गरियो तर जनवादी क्रान्ति संपन्न भईसक्दा समेत समाजमा छुवाछुत र विभेद यथावत् छ । जातपातका बारेमा अम्बेडकरको जस्तो राजनीतिक आन्दोलन नेपालमा भएन । अम्बेडकरलाई पाकिस्तान वा बंगालको प्रमुख बनाउने बेलायतिहरुको प्रस्ताव समेत लत्याएर उनी जातिय विभेद विरुद्धको आन्दोलनमा होमिए । त्यस्तो विद्रोह भएको भए केहि परिवर्तन हुने थियो । दलित आन्दोलन छुवाछुत मात्र हैनः आर्थिक, सामाजिक र धार्मीक समानताको आन्दोलन हो । अब परिवर्तित अवस्थामा दलित आन्दोलनलाई पुनः व्याख्या गर्नुपर्ने भएको छ । यो देशको राजनीतिक आन्दोलन निरंकुशता बाट पुँजीवाद तर्फ गयो भन्दैछन् हाम्रा नेताहरु । पुँजीवादमा वर्ग विभाजन हुन्छ । तर दलितहरु वर्ग हुनै बाँकी छ । दलितहरु मान्छे बन्ने बाँकी छ । सबैजना मान्छे बनेपछि पो हाम्रो साझा सँस्कृति बन्दछ त । दलितहरुले हिन्दु धर्म बहिष्कार गर्ने आन्दोलन गर्न जरुरी छ । उक्त धर्म परित्याग गरेपछि समाज परिवर्तन गर्ने विज्ञान अपनाऔँ । माक्र्सवाद त्यो विज्ञान थियो होला तर अहिलेका नेताले माक्र्सवादमाथिपनि भ्रष्टाचार गरे । माक्र्सवादको सिद्धान्तमा स्थापित पार्टिमा धर्ममा भन्दा बढी दलित माथि विभेद छ । डा. बाबुराम भट्टराईलाई सपथग्रहण गराउने तिलक परियार कता छन् । बाबुराम कताछन् हेरे मात्रै पुग्दछ । नेपालका हरेक क्रान्ति बाहुनबादलाई बलियो बनाउन भए । बरु बाहुनले धर्म त्यागे दलितले धर्म त्याग्न सकेनन् । तिनै ब्राम्हणवादी शासकले दलितका संघहरु ध्वस्त पारे ।

रामदेव पाण्डेः
बाहुनले विभेद गर्न स्थापना गरेको मन्दिर प्रवेश पाउँ भनि दलितहरु आन्दोलन गर्दैछन् । स्वाभलम्बि दलितले त मन्दिर विभेदको केन्द्र भएकाले म त्यहाँ कतै पाईला राख्दिन भन्नु पो पर्ने । अम्बेडकरले हिन्दु धर्म त्यागेर बुद्ध धर्ममा लागेको उपयुक्त छ । नास्तिक हुनपनि सँस्कृति चाहिन्छ । म नास्तिक हुँ र सँस्कृतिलाई उत्तिकै मायाँ गर्दछु तर सँस्कृतिले अन्धविश्वास र विभेद गर्न हुँदैन । अहिले खासमा दलित अभियानहरु एनजिओ र आईएनजिओहरुले संचालन गरिदिए जस्तो भएको छ । अभियानले धर्मलाई सुधार र पुर्नपरिभाषित गर्न सक्नु पर्दछ । जहाँसम्म हिन्दु धर्म त्यागेर दलितहरु क्रिश्चियन धर्ममा जानु पर्दछ भन्ने सवाल छ यो भनेको तावाबाट भुंग्रामा हाम फाले जस्तै हो । हिन्दु वा क्रिश्चियन धर्महरु अन्धविश्वासका पुलिन्दा मात्रै हुन् । धर्म हैन दर्शनका हिसाबले बुद्ध धर्म सहि छ ।

अर्जुन परियारः
अम्बेडकरको जस्ता व्यक्तिहरुले देखाएको मार्ग दलित मुक्तिको मार्ग हुन सक्दछ । श्रम विभाजनको अवस्था परिवर्तन गरियो भने दलितको अवस्थापनि परिवर्तन आउन सक्तछ । युद्ध र विद्रोह योजना बनाएर हैन परिस्थितीले जन्माउने हो । कार्ल माक्र्सले युद्ध अर्थले मात्र हैन सोच र विज्ञानले पनि समाज परिवर्तन हुन्छ भनेका छन् । अहिलेको समाज ा feudal, semi-feudal र colonial कुन समाज हो अब छुट्याउनु पर्दछ । आन्दोलनको बिषय र तरिकामा अब फरक ल्याउने बेला भयो होला । दलितलाई धर्म र सँस्कृतिका बारेमा बहस गर्न सक्ने बनाऔँ । दलितलाई व्यापारी कसरी बनाउने? समावेश आन्दोलनलाई अझ सशक्त कसरी बनाउने भन्ने बिषय मुख्य हो । दलित कोही हैन श्रमजिवि मात्र हो । उनीहरुसँग श्रम र सिप छ भने त्यसबाट अधिकतम फाईदा उठाउने गरी नीजि कंपनीहरुलाई दलितमाथि लगानी गर भनेर भन्न सक्नु पर्यो ।
संजय खड्काः
दलित आन्दोलन दलितको मात्र हैन यो सबैको आन्दोलन हो । दलित भन्दापनि गैर दलित भनिनेहरु यस बिषयमा अझ सचेत हुन जरुरी छ । विद्यालय स्तरदेखि नै छुवाछुत विरुद्ध अध्ययन गर्ने गराउने गर्नु पर्दछ । छुवाछुत अन्त्य गर्न मानिसको विवेकमा काम गर्नु पर्दछ । तसर्थ, धर्म भन्दा माथि उठेर मानिसका विभेदवारे बहस र छलफल जरुरी छ ।

उत्तम निरौलाः
जातिय छुवाछुत विश्वको सबैभन्दा क्रुर र निन्दनिय विभेद हो । भारतले यस बिषयमा विश्वमा बहस नै गर्न दिँदैन । दलितमाथि दिन दिनै हत्या भईरहेको कुरा उसलाई सामान्य छ तर दलितमाथि ज्यादती भयो भन्ने कसैले आवाज उठायो भने भारतलाई सबैभन्दा बढी सरोकारको बिषय बनेको छ । जसका कारणले विश्वमा छुवाछुतको मुद्दा सामान्य बनेको छ । अरु त कुरै छाडौँ संयुक्त राष्ट्र संघले समेत दलित शब्द अफिसियल रुपमा प्रयोग गर्न सकेको छैन । दलितको बिषयलाई हेर्ने संयुक्त राष्ट्र संघको भिन्ने आयोग आवश्यक छ । ७० बर्ष लडेर के के न ल्याईयो भन्ने दलित नेतालाई परेको होला संघियताकालागि आवश्यक कर्मचारीको पहिलो भर्ना प्रकृयामै दलित आन्दोलन उत्तानो पर्यो । पार्टीमा दलित आन्दोलन विभाजित भएकालेपनि ब्राम्हणवादीले फुटाउ र राज गर व्यवहारमा उतार्न सफल भए । अब भने जातिय छुवाछुतका बारेमा विश्वव्यापी आवाज उठाउने बेला भएको छ । छुवाछुत नेपाल र भारतमा मात्र हैन दक्षिण एशियाका अन्य मुलुक र हिन्दुहरु बसाई सरेर गएका अमेरिक, बेलायत जस्ता मुलुकमा पनि उस्तै छ । तसर्थ, जातिय छुवाछुतबाट तिमिहरुपनि चोखो छैनौ भनेर ति राष्ट्रलाई समेत बुझाउनु पर्ने भएको छ ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *