नेपालमा ‘डिजिटल हेल्थ कार्यान्वयनका सम्भाबना र चुनौती’ छलफल कार्यक्रम प्रतिवेदन
सोच नेपालले सिभिलखबर डटकमसंगको सहकार्यमा ‘नेपालमा डिजिटल हेल्थ प्रणाली कार्यान्वयनको सम्भावना र चुनौती’ का विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
प्रविधिको विश्वव्यापी बढ्दो प्रयोगसँगै नेपालमा पनि प्रविधिको उपयोगमा अभ्यास शुरु भएपछि प्रभावकारीता कमजोर छ । नेपाल सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’को अबधारणा अघि सारेर कार्यान्वयनमा पनि ल्याएको छ । केही काम भएका देखिए पनि ‘डिजिटल हेल्थ’को अवधारणालाई महत्व दिएको पाइँदैन ।
काठमाण्डौंमा माघ १७ मा सम्पन्न ‘नेपालमा डिजिटल हेल्थ प्रणाली कार्यान्वयनको सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया सहभागी नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले नेपालका तथ्याङ्क व्यवस्थापनमा एकीकृत प्रणालीको विकास हुन जरुरी रहेको औँल्याउनु भयो । “जति पनि ज्ञान, सीप, प्रविधि तथा तथ्याङ्क छन् राज्यले खोजेर एकीकृत गर्न सक्नुपर्छ”, डा ज्ञवालीले भन्नुभयो “साथमा डाटाको श्रोत, सुरक्षा र विश्वसनीयतामा ध्यान दिनु पनि जरुरी भइसकेको छ ।” उहाले कोभिडका बेला ठुलो समस्या परेको अनुभव सुनाउँदै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

डा. ज्ञावालीले कुनै पनि चिकित्सकसँग विरामीको अभिलेख नरहेको, रोगको उपचारको खास प्रोटोकल नभएको उल्लेख गर्दै इलेक्ट्रिोनिक रेकर्ड जरुरी भएको बताउनु भयो । विकसित मुलुकमा उपचारमा जाने मानिसको सबै विवरण डिडिटलाइज गरिएको हुन्छ । ऊ जुनसुकै अस्पतालमा उपचार गर्न गए पनि विगतमा यस्तो–यस्तो रोग लागेको रहेछ । फलानो–फलानो ठाउँमा उपचार गरेर त्तत्तत् औषधि लिनुभएको रहेछ भनेर अर्का चिकित्सकले थाहा पाउने व्यवस्था गरिएको हुन्छ । चिकित्सकको सिफारिस पनि कागजमा हुँदैन त्यही डिडिटल प्रविधिको माध्यमबाट पुग्छ र फार्मेसीले सोही आधारमा औषधिहरु उपलब्ध गराउँछन् । जसबाट विरामी जुन चिकित्सकमा जानुपर्ने हो, त्यहाँ पुग्छन् र जुन औषधि लिनुपर्ने हो त्यो पनि सजिलै प्राप्त गर्न सक्छन् । नेपालमा पनि सोहि सुविधा नागरिकलाई उपलब्ध गराउन डिजिटल हेल्थ अपरिहार्य रहेको बताउनु भयो ।
समारोहमा सोच नेपालका कार्यकारी निर्देशक उत्तम निरौलाले डिजिटल हेल्थ सम्बन्धी सोच नेपालले गरेको अनुसन्धानको प्रतिवेदन प्रस्तुत गर्नुहुदै, बेलायत, अष्ट्रेलियमा एक क्लीकमा स्वास्थ्यका सबै जानकारीहरु प्राप्त हुनसक्छ, अब त्यो अभ्यास नेपालमा किन नगर्ने, नेपालमा धेरै क्षेत्रले तथ्याङ्क लिने गरेको तर त्यो एकीकृत छैन, राज्यका हरेक निकायमा एउटै तथ्याङ्क पटकपटक दर्ता हुन्छ, स्वास्थ्य क्षेत्रमा त्यो नहुनका लागि डिजिटल हेल्थको अवधारणा प्रभावकारी कार्यान्वयन हुन जरुरी रहेको बताउनु भयो ।
चिकित्सकले लेखेको अक्षर आधा बुझेर फार्मेसीले औषधि दिने गरेको उल्लेख गर्दै उक्त अन्तरक्रियामा सहभागि सांसद रामहरी खतिवडा भन्नुहुन्छ “डिडिटल हेल्थ लागू भयो भने त धेरै सहज हुनेछ, यसबाट जसले जे सेवा पाउनुपर्ने हो, त्यो प्राप्त गर्नसक्छ ।” उहाले मुलुकलाई प्रविधिमा नलगी सुखै नभएको र आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने पनि प्रतिबद्धता जनाउनु भयो ।
लामो समय चिकित्सा सेवा दिनुभएका हालका सांसद डा. चन्दा कार्की डिजिटल हेल्थको विषयमा राज्य गम्भिर भएर तदारुकताका साथ नीति नियमहरु बनाउनुपर्ने आवश्यकता औँल्याउनु हुन्छ । विगतमा शिक्षण अस्पतालमा हेल्थ नेट भनेर शुरु गरिए पनि प्रभावकारी हुन नसकेको उहाले सुनाउनुभयो । उहा सरकारी संस्थामा यसका विषयमा काम गर्ने मान्छेको अभाव रहेको बताउनुहुन्छ ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका सुचना प्रविधि हेर्ने शाखाका राजेन्द्रप्रसाद पौडेल विवरण सङ्कलनको एक खालको प्रक्रियाहरु त भइरहेको तर डाटा प्रवेश विन्दुमै समस्या रहेको बताउनुहुन्छ । “एक जना चिकित्सकले १०० सम्म विरामी हेर्नुपर्छ, उसले कसरी विवरण भर्न सक्छ, आवश्यक जनशक्ति व्यवस्थापन जरुरी छ”, उहाले भन्नुभयो ।
सोच नेपालका अध्यक्ष डा दामोदर पुडासैनी स्वास्थ्य मन्त्रालयले चासोका साथ डिडिटल हेल्थलाई प्राथमिकता दिनुपर्ने जरुरी रहेको बताउनुहुन्छ “विश्वव्यापी विकास भएको प्रणालीलाई नेपालले पनि स्वीकार गर्नुपर्छ”, उहाले नेपालमा इ–हेल्थमा धेरै खर्च भइसकेको छ, यसलाई प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने यो लागू भयो भने स्वास्थ्य क्षेत्रका भ्रष्टाचार रोकिने उहाको विश्वास छ । यसले स्वास्थ्य क्षेत्रमा इतिहास समेत कायम गर्ने बताउनु भयो ।
छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव एकदेव खनालले केही नीति नियम रहेको र केही बनाउनुपर्ने अबस्था रहेको बताउँदै केही काम पनि भएको तर बजेटको अभाव रहेको बताउनु भयो । उहालेले खण्डिकृत कामलाई एकीकृत गर्न जरुरी रहेको र स्वास्थ्य मन्त्रालयमा रहेको डिजिटल हेल्थ युनिटलाई क्रियाशिल गराई डिजिटल हेल्थ कायान्वयनमा जान पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल हेल्थ अनुसन्धान परिषद्का सुदर्शन शर्माले नेपाल हेल्थ अनुसन्धान परिषद्ले डिजिटल हेल्थको कायान्वयनमा स्वास्थ्य मन्त्रालयसंग सहकार्य गर्न तत्पर रहेको बताउनु भयो ।
कार्यक्रममा विभिन्न संस्थाबाट सृष्टी शाह, निर्मल ढकाल, अनुराधा शर्माले डिजिटल हेल्थका विषयमा आफ्ना अनुभव र धारणाहरु राख्नुभएको थियो । कार्यक्रममा सांसद, स्वास्थ्य संग सम्बन्धीत सरकारी निकायका प्रतिनिधि, स्वास्थ्य पत्रकार, सामाजिक संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
Leave a Reply