ऐन बनेपछि गाउँमा जुवा तास खेल्न छाडे, मदिरा खाएर हल्ला गर्नेलाई कारबाही

ऐन बनेपछि गाउँमा जुवा तास खेल्न छाडे, मदिरा खाएर हल्ला गर्नेलाई कारबाही

पृष्ठभुमी:
देशका विभिन्न भागहरुमा भई रहेको कुरीति, कुसँस्कार, बेथिती तथा सुशासनका क्षेत्रमा करीब एक दशक देखी आफ्नो विविध गतिबिधी सञ्चालन गर्दै आएको संस्था हो ‘सोच नेपाल’ । पछिल्लो केही वर्षदेखी गोरखा, काठमाण्डौं र ओखलढुङ्गामा FHI/USAID को सहयोगमा पारस्पारिक जवाफदेहीता परियोजना समेत सञ्चालन गर्दै आएको छ । यस परियोजना अन्तर्गत संस्थाले गोरखामा नागरिक समाज, सेवा प्रदायक निकाय र सञ्चार माध्यमहरुसंग सहकार्य र समन्वय गर्दै आफ्नो गतिबिधी संचालन गर्दै आएको छ ।

आफ्नो हकहित, अधिकारका बारेमा नागरिकहरुलाई सजग र सचेत गराउदै सेवा प्रदायक निकायहरुलाई समेत आफ्नो जिम्मेवारीको बोध गराउने, बिभिन्न समस्याहरुको उजारका साथै त्यसको समाधानका लागि बहस, छलफल, पैरवी गर्ने कार्य यस परियोजना अन्तर्गत सोच नेपालले गरिरहेको छ । त्यसका लागि नागरिक समाज, मिडियाको भुमिकालाई दरिलो बनाउन समेत यस परियोजनाले जिल्लामा बिभिन्न पक्षसंगको सहकार्यमा विविध गतिबिधी सहितको अभियानहरु सञ्चालन भइरहेका छन् । अभियान सञ्चालनका लागि समाजको तल्लो तहदेखि पालिका र जिल्लातहसम्म बिभिन्न नागरिक समाजका सञ्जालहरु निर्माण भई सञ्चालनमा रहेका छन् ।

सवालको पहिचान:

परियोजना अन्तरगत शहिद लखन गाउँपालिकाको वडा नम्बर ७ मा स्थानीय सभा छ । हरेक महिना आयोजना हुने स्थानीय सभाको मिति २०७६ साल माघ २७ को बैठकमा सदस्य शान्ति परियारले गाउँमा मदिरा प्रयोग र जुवातासको कारण उत्पन्न विकृतीका बारे जानकारी गराउनुभयो । जुन विकृतिलाई यसरी बुदागत गरिएको छ ।

  • घरको काम छाडेर अधिकांश पुरुषहरु जुवा तासमा ब्यस्त रहने ।
  • वातावरण अशान्त हुने, कोलाहल हुने
  • जुवा तासको लतका कारण आर्थिक संकट उत्पन्न ।
  • पारिवारिक झै झगडा ।
  • मदिरा सेवनले समाजमा झगडा, हल्ला र विकृति उत्पन्न
  • मदिरा सेवनकै कारण बुंकोटमा भीरबाट लडेर एक जनाको मृत्यु (रेकर्ड बुंकोट प्रहरी चौकी)
  • आर्थिक, साँस्कृतिक र सामाजिक समस्या

त्यससंगै सो विकृतीहरुलाई रोक्न नागरिक अभियानको सुरुवात हुनुपर्ने बिषयले प्राथमिकता पायो र अभियान अघि बढ्यो ।
सवालको निराकरण तथा रोकथामका लागि निम्न प्रकृया अबलम्बन गरियो ।

स्थानीय सभाको बैठकमा छलफल :

शहिद लखन गाउँपालिका वडा नं ७ बुंकोटमा मिति २०७६ साल माघ २७ को बैठकमा स्थानीय सभाका सदस्य शान्ती परियारले गाउँमा मदिराको प्रयोग र जुवातासका कारण उत्पन्न भएका समस्याहरुकोबारे जानकारी गराउनुभयो र बैठकमा छलफल भयो । छलफलमा अन्य सहभागिहरुले पनि गाउँमा अत्याधिक समस्या भएको र विकृती नियमन गर्नुपर्ने कुरा अगाडी बढाउनुपर्ने बताए । सोही अनुसार विकृती नियमनका लागि स्थानीय सभाका सदस्य विभा राना मगर ले नेतृत्व गर्ने निर्णय भयो । र वडा कार्यालय र प्रहरी चौकीमा ध्यानाकर्षण पत्र बुझाउने निर्णय भयो ।

वडा कार्यालय र प्रहरी चौकीलाई ध्यानाकर्षण पत्रसहित छलफल

दोश्रो चरणमा स्थानीय सभाको वैठकमा छलफल भएअनुसार मदिरा र जुवातासको नियमन र निराकरणका लागि शहिद लखन गाउँपालिका वडा नं ७ को कार्यालय र बुंकोट प्रहरी चौकीमा स्थानीय सभाका प्रतिनिधीहरुले ध्यानाकर्षण पत्र बुझाए । ध्यानाकर्षण पत्र बुझाएपछि बुंकोट प्रहरी चौकीका तत्कालीन प्रमुख जग जिवन यादवले सकारात्मक रुपमा लिनुभयो र मदिरा नियन्त्रण र जुवातासको निराकारणका लागि आफुहरुपनि लागिरहेको र समुदायले यसमा सहयोग गर्नुपर्ने कुरा बताउनुभयो । साथै बुंकोट प्रहरी चौकीमा हालसम्म १० वटा घरेलुहिंसाका घटनाको उजुरी परेको र आवश्यक कारवाही गरि छोडिएको समेत बताउनुभयो ।

बुंकोटका सार्वजानिक स्थनहरुमा जनचेतनामुलक पोस्टर, पम्प्लेट टाँस

तेस्रो चरणमा स्थानीय सभाका पदाधिकारी, वडा कार्यालय, बुंकोट प्रहरी चौकीले संयुक्त रुपमा जनचेतनामुलक सामाग्री तथा सकारात्मक सन्देश दिने पोष्टर पम्प्लेट लगायतका सामाग्री वडाका सवै टोलहरु, सार्वजनिक स्थलहरुमा टाँस गरियो । पोस्टर तथा पम्पलेट टाँस गर्दा वडा अध्यक्ष शरण श्रेष्ठ, वडा नं ८ का वडा अध्यक्ष काशीनाथ अंगाइ, बुंकोट प्रहरी चौकीका प्रमुख जग जिवन यादव, बु.कोट स्वास्थ्य चौकीका प्रमुख, स्थानीय सभाका पदाधिकारी, टोल विकास संस्थाका प्रमुख एवम प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

स्थलको पहिचान र सचेतना

बुंकोटक्षेत्रमा करिब १५ ठाउँमा जुवातास खेल्ने गरेकोे स्थानहरु पहिचान भयो । त्यस्तै आगामी दिनमा यदि कसैले जुवातास खेलेको तथा मध्यपान गरेको देखेमा प्रहरी चौकी बुंकोट, वडा कार्यालय र स्थानीय सभाका पदाधिकारीहरुलाइ जानकारी गराउने निर्णय भयो । साथै जुवा तास तथा मदिरा सेवनबाट समाजमा परेको असर र समस्याका बारे स्थानीय समुदायलाई जानकारी सहित सचेतनाका कार्यक्रम अगाडी बढाइयो ।
वडा कार्यालय मार्फत गाउँपालिकाको कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाइयो । गाउँमा जुवातास खेल्ने खेलाउने स्थानहरुको पहिचान गरि प्रहरीलाई सुचना दिइयाे ।

यसरी बुंकोटमा रहेको स्थानीय सभाले एक बर्षसम्म वडाक्षेत्रमा जुवातास, क्यारेमबोर्ड, मदिरा सेवनलाई नियन्त्रण गर्न बिभिन्न अभियान सञ्चालन गर्यो ।

समस्या / कठिनाईः

मदिरा सेवन र जुवातासका कारण बुंकोट क्षेत्रमा देखिएका समस्याहरुको पहिचान भयो । जुन यसप्रकार छन् ।

  • मदिरा सेवनकै कारण पुरुषहरुबाट घरका महिला र परिवारका अन्य सदस्यहरु पिडित बन्नुपरेको छ । बुंकोट क्षेत्रमा मात्रै वडा कार्यालयसंग भएको जानकारी अनुसार हरेक महिना ५ वटा जति त्यस्ता समस्याहरु आउने गरेको छ ।
  • बालबालिकाको शैक्षिक, मानसिक, सामाजिक पक्षहरमा नकरात्मक प्रभाव परेको छ । जसमा वडा नम्बर ७ क्षेत्रमा रहेका विद्यालयहरु मध्ये शहिद स्मृती माविमा रहेको तथ्यांक अनुसार हरेक बर्ष आर्थिक अवस्थाकै कारण कम्तिमा ७ जनाले पढाई बिचैमा छाड्ने गरेका छन् ।
  • आर्थिक अवस्था खस्किएको साथै कतिपयको घरबार समेत बिग्रिएको । वडा कार्यालयसंग रहेको जानकारी अनुसार यस्ता कारणले एक बर्षमा २ जनाको सम्बन्ध विच्छेद भएको छ ।
  • समाजमा शान्ति सुरक्षामा खलल पुगेको । मदिरा सेवन गरी शान्ती सुरक्षामा खलल पु¥याएको भन्दै बुंकोट प्रहरी चौकीले हरेक महिना कम्तिमा ४ जनालाई कारबाही गरेको तथ्यांकमा उल्लेख ।
  • रोजगारीको सृजना हुनुको सट्टा बेरोजगारी समस्या बढेको ।

सवाल निराकरण गर्न अप्नाएका विधि तथा प्रक्रिया:

  • आफ्नो सवाललाई स्थापित गराउन स्थानीय सभाले बिभिन्न विधि र औजारहरुको प्रयोग गर्यो । जुन बुदागत रुपमा यसप्रकार छन् ।
  • समाजका हरेक तह र तप्काका ब्यक्ति, समुह, क्लब, संस्थाहरुसंग समन्वय, छलफल र सहकार्य ।
  • प्रहरी, वडाअध्यक्ष, लैंगिक हिंसा न्युनिकरण संजालसंग बैठक र कार्ययोजना निर्माण ।
  • वडा कार्यालय, गाउँपालिका लगायतलाई ज्ञापनपत्र, ध्यानाकर्षण पत्र ।
  • टोलटोल र सार्वजानिक स्थलहरु पोष्टर पम्प्लेट टाँस ।
  • बैठक, बहस र पैरवी ।
  • टोल टोलमा अनुगमन तथा सुचना संकलन ।
  • निरन्तर खबरदारी का साथै कानुनी प्राबधानका बारे सचेतना ।
  • अबैध रुपले मध्यपानको विक्री वितरणमा रोक लगाउनका लागि पालिकालाइ ऐन बनाउन दबाब

कार्यान्वयनः
सवाललाई स्थाापित गराउन वडाक्षेत्रमा मात्रै अभियान सञ्चालन भएपनि नीतिगत रुपमा नै समस्या समाधानका लागि गाउँपालिकासंग निरन्तर समन्वय र सहकार्य गर्ने काम समेत भयो । समुदायमा भएका विकृती विसंगती लाइ नियन्त्रण र निराकरण गर्नका लागि वडा कार्यालय, प्रहरी चौकी मा ध्यानाकर्षण बुझाउनका लागि स्थानीय सभाका सदस्य विभा राना मगर ले नेतृत्व लिनुभयो । राना मगरको नेतृत्वमा नै टोल टोलमा पर्चा, पम्पलेट तथा सचेतनामुलक सामाग्री टाँस गर्ने, जुवातास खेलेको देखेसुनेमा प्रहरीलाइ खबर गर्ने र उजुरी गर्ने काम भयो । सहकार्य गर्ने काम समेत स्थानीय सभा र अभियानकर्ताहरुबाट भइरहेको थियो । यसका लागि बैठक, छलफल, बहस, र निगरानी एवं खबरदारी जस्ता औजारहरुको प्रयोगलाई ब्यापकता दिइएको थियो ।

अन्ततः अभियानलाई शहिद लखन गाउँपालिकाले नै अपनत्व ग्रहरण गरी पालिकाले नै अभियानलाई सफल बनाउन भुमिका निर्वाह ग¥यो । २०७७ असोजदेखि गाउँपालिकाले ऐन बनाउनका लागि छलफल गर्यो जसमा नागरिक समाज नागरिक समाज संघसंस्थाहरुको सहकार्यमा नै गाउँपालिकाले मदिरा तथा जुवातास रोकथामका लागि ऐन निर्माण गर्ने प्रकृयालाइ अघि बढायो । नागरिक समाज संघसंस्थाहरुसंगको सहकार्यमा नै गाउँपालिकाले मदिरा तथा जुवा तास रोकथामका लागि ऐन निर्माण गर्ने प्रकृयालाई अघि बढायो । करिब ३ महिनासम्म स्थानीय सभाका सदस्य विभा राना मगर, वडा नं ७ का वडा अध्यक्ष शरण श्रेष्ठ, वडा नं ८ का वडाअध्यक्ष काशीनाथ अंगाइ, शहिद लखन गाउँपालिकाका प्रमुख रमेश बाबु थापा मगर, पालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन आले मगर लगायत अभियानकर्ताहरुसंगको निरन्तर छलफलबाट निर्माण भएको जुवा (नियन्त्रण तथा नियमन ऐन) २०७७, मदिरा (नियन्त्रण, ब्यवस्थापन तथा नियमन) ऐन २०७७ लाई २०७७ फागुन ६ गते सम्पन्न आँठौ गाउँसभा तथा हिउँदे अधिवेशनबाट सर्वसम्मत पास गरियो ।

सो सभाबाट गाउँपालिकाले पाँच वटा ऐनहरु पस ग¥यो । जसमा जुवा (नियन्त्रण तथा नियमन ऐन) २०७७, मदिरा (नियन्त्रण, ब्यवस्थापन तथा नियमन) ऐन २०७७ लाई समेत पारित गरी स्थानीय सभाको एजेण्डालाई दिर्घकालिन रुपमा ब्यवस्थापन र समाधान गरेको छ । गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरको अध्यक्षतामा सम्पन्न सभाले पास गरेको ऐनहरुमा बिभिन्न खाले नीतिगत ब्यवस्थालाई कडाईका साथ लागु गर्ने गरी स्विकृत गरेको छ ।

निष्कर्ष:

२०७७ फागुन ६ गते आठौं गाउँसभाले स्विकृत गरेको जुवा (नियन्त्रण तथा नियमन ऐन) २०७७, मदिरा (नियन्त्रण, ब्यवस्थापन तथा नियमन) ऐन २०७७ हाल कार्यान्वयनको चरणमा छन् । गाउँपालिकामा रहेका ९ वटै वडा क्षेत्रमा जुवा तास, मदिरा सेवन लगायत कानूनले बर्जित गरेका बिषयहरुलाई रोकथाम गर्न कडाई समेत गरेको छ । जसअनुसार शहिद लखन गाउँपालिका भित्र रहेका प्रहरी चौकीहरुलाई अधिकार दिई नियमित गस्तिमा खटाएको छ । त्यस्तै टोल विकास संस्थालाई सकृय बनाई टोलमा भएका यस्ता विसंगतीको जानकारी दिन गोप्य रुपमा सुचनादाता खटाएको छ । यसैगरी स्थानीय महिला स्वास्थ्य स्वयम सेविका, शिक्षकहरुलाई समेत यस अभियानमा खटाएको छ ।

नीति निर्माण पछि ३ महिनाको (२०७७ फागुन–२०७८ बैशाख) अन्तरालमा बुंकोट क्षेत्रमा मदिरा सेवन गरी होहल्ला तथा शान्ति सुरक्षा खलल पुग्ने कृयाकलापमा संलग्न रहेको भन्दै लिखित रुपमा ३ उजुरी र मौखिक रुपमा ७ वटा गरी १० उजुरी परेको छ । उजुरी परेका सबैलाई चौकीमा ल्याएर सम्झाई बुझाई गर्ने, अन्तिम चेतावनी दिने र प्रतिब्यक्ति एक सय रुपैया जरिवाना समेत गरी छाडिएको बुंकोट प्रहरी चौकीका असई सन्तोष अधिकारीले बताउनु भएकोछ ।

बुंकोट प्रहरी चौकीका असई सन्तोष अधिकारीका अनुसार उजुरी उपर छानबिन गरी उनिहरुलाई कानून अनुसार कारबाही गरिएको छ ।
त्यस्तै हाल सो पालिका क्षेत्रमा जुवा तास खेल्न समेत पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । ऐन निर्माण अघि सार्वजानिक स्थान, चौतारा लगायतका समेत स्थानीयहरु तासको खालमा जमेको देखिन्थे तर अहिले त्याहा त्यस्तो अवस्था छैन । घर वा सार्वजानिक स्थानहरुमा जुवा तास तथा मदिरा सेवनको कार्यलाई पूर्णरुपमा रोक लगाइएको छ ।

दिगोपना:

शहिद लखन गाउँपालिकाले निर्माण गरेको यि दुई ऐनको कार्यान्वयनलाई मजबुत र प्रभावकारी बनाउन गाउँपालिकाले चलाखीपूर्ण ब्यवस्था गरेको छ । ऐन कार्यान्वयनको सम्पूर्ण जिम्मेवारी नागरिक समाज, टोलविकास संस्था लगायत दिएको छ । त्यसको कार्यान्वयनको पाटो, अनुगमनको पक्ष, उजुरी, कारबाही, जरिवाना लगायतका बिषयलाई नीतिगत रुपमा नै स्थानीय नागरिक समाज संघसंसस्थाहरुमाथी दायित्व प्रदान गर्दै ऐनको दिगोपनालाई प्रभावकारी बनाउन खोजिएको छ । जुन दुवै ऐनको परिच्छेद ३ मा अनुगमन, ब्यवस्थापन र नियमनको ब्यवस्थालाई उल्लेख गरेको छ ।

यस गाउँपालिकाले निर्माण गरेको यी दुई ऐन जिल्लामै पहिलो हो । यसबा बारे सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि अन्य पालिकाले समेत त्यस ऐनका बारे चासो दिएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आले मगरका अनुसार सो ऐनको ड्राफ्ट अन्य ३ पालिकाबाट माग भइसकेको छ ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *