अन्धविश्वासीलाई कार्वाही गर्न माग

अन्धविश्वासीलाई कार्वाही गर्न माग

काठमाडौं, साउन १०, नवलपरासीको कुडिया–४ मर्चहवाका झाँक्री कोदाई चमारले आफ्नो छोरालाई बचाउने नाममा छिमेकी बालकको निर्ममतापूर्वक घाँटी रेटी हत्या गरेको घटनाप्रति मानववादी समाज (सोच) नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हत्या गरिएका बालक कोदाई चमारका नजिकका छिमेकी शिवचरण कोहारका १० वर्षका छोरा सोनु भनिने जीवन कोहार रहेका छन् । 
सोच नेपालका महासचिव अप्सरा कार्कीले आईतबार जारी गर्नुभएको प्रेस विज्ञप्तीमा गएको मंगलबार आफ्ना १८ वर्षीय छोरा विजय चमारको शरीरमा देउता चढेको र छोराले ‘मान्छेको मासु खान दिन्छस् भने दे, नत्र तेरै मासु खान्छु’ भनेपछि आफुले छिमेकी बालक सोनुको हत्या गरेको कुरा कोदाई चमारले प्रहरी सामु स्वीकार गरिसकेको उल्लेख छ । 

बालक हत्यामा संलग्न कोदाई चमार, उनका भाई सूर्यभान चमार, गाउँकै अर्का झाँक्री गंगा चमार र उनका ज्वाइँ रुदल यतिबेला जिल्ला प्रहरी कार्यालय नवलपरासीको हिरासतमा रहेका छन् ।

बिरामी बालक विजय चमारलाई निको पार्न देउताले भने बमोजिम छिमेकी बालकको हत्या गरेको दाबी हत्यामा संलग्नहरुको छ । 

विजय चमारलाई केही समय पहिले सर्पले टोकेपछि हत्या गरिएका बालक सोनुका बुबा शिवचरण कोहारलेनै त्रिवेणीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पु¥याई निको पारेका थिए । त्यसपछि मानसिक रुपमा बिछिप्त बनेका विजयलाई मनोविमर्श र मेडिकल उपचार गर्नुको सट्टा देउता चढेको भन्ने अन्धविश्वास पालेका विजयका बुबाले अन्ततः १० वर्षीय बालकको घाँटी रेटेर निर्ममतापूर्वक हत्या गरेको पनि विज्ञप्तीमा उल्लेख छ । 

विज्ञप्तीमा भनिएको छ,– “आजको बैज्ञानिक यूगमा पनि मान्छेमा देउता चढ्नु र देउतालाई खुसी पार्न मान्छेको बली दिएको घटनाले नेपाली समाज अहिले पनि कुन यूगमा छ, भन्ने कुरा सोच्न बाध्य बनाएको छ ।” 

घटनामा संलग्न व्यक्तिहरुलाई बालक हत्याको अभियोगमा मात्र कार्वाही नगरी अन्धविश्वास बढाएको प्रति समेत अभियोग लगाई थप कार्वाही गर्न पनि सोच नेपालले आग्रह गरेको छ । 

साथै यस्ता खालका अन्धविश्वास हटाउनका लागी कारवाही मात्र नभएर गाउँदेखि शहरसम्म सचेतनामूलक कार्यक्रम लागु गर्न पनि हामी नेपाल सरकारसँग जोडदार माग गरिएको छ । 

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *