भ्रमपूर्ण र तथ्यहीन समाचार सार्वजनिक गरिएकाे सम्बन्धमा साेच नेपालकाे प्रेस विज्ञप्ती
मानववादी समाज (सोच) नेपाल करिब १७ वर्षदेखि मानववाद, मानव अधिकार र सुशासनको क्षेत्रमा देशव्यापीरुपमा कार्य गर्दै आएको नागरिक संस्था हो ।
यस संस्थाका मुख्य उद्देश्यहरु अहिंसा, सहअस्तित्व, सहकार्य, मैत्रीभावलाई प्रवद्र्धन गर्नु हो । त्यस्तै वर्ण, लिंग, जातका आधारमा हुने विभेद र शोषण विरुद्ध जनचेतना अभिवृद्धि गर्नु हो । यसैगरी मानवतावादी विचार अँगाल्दै अनाचार तथा भ्रष्टाचार विरुद्धको अभियानलाई प्रवद्र्धन गर्नु हो । साथै मानवद्वारा कुनै पनि धर्म, संस्कार र संस्कृतिका नाममा थोपरिएका अन्धविश्वास, रुढिवाद, जातीय छुवाछुत, र कुरीति विरुद्ध कार्य गर्नु हो ।

हामी यथार्थमा मानवीय आत्मसम्मानको प्रवद्र्धनमा महत्वपूर्ण मार्गदर्शन गर्ने हाम्रा पूर्वीय दर्शनका हाम्रै भूभागका चिन्तकहरु कपिल, गौतम बुद्ध, पछिल्लो कालखण्डमा जयपृथ्वीबहादुर सिंहले सुरु गरेको मानववादी दृष्टिकोण प्रवद्र्धनमा क्रियाशील संस्था मानववादी समाज (सोच) नेपालमा आबद्ध छौं । यी चिन्तकले सुरु गरेको अभियानलाई निरन्तरता दिनु धर्मविरुद्धको क्रियाकलाप कसरी हुन सक्छ ? हामी आश्चर्यमा परेका छौं ।
हालैमात्र केही सञ्चार माध्यमले यस संस्थालाई जोडेर धर्म परिवर्तन र अनास्था फैलाउने प्रयोजनका लागि अमेरिकी सरकारबाट करोडौं रुपैयाँ ल्याएको भनेर तथ्यहीन समाचार सार्वजनिक गरिएको घटनाप्रति हाम्रो गम्भीर ध्यान आकृष्ट भएको छ । सोच नेपाल नेपालको संविधान, कानून, मानवअधिकार र मानवीय मूल्य मान्यताविरुद्धको कार्य र व्यक्तिको आस्थामा प्रहार गर्ने कुराको कल्पना पनि गर्न सक्दैन ।
उल्लिखित कुनै पनि कार्य नगरे नगराएको हुँदा, गरे गराएको प्रमाणित गर्न चुनौती दिन्छौं । यस्ता कपोलकल्पित, भ्रमपूर्ण समाचार प्रकाशन तथा प्रसारण नगर्न त्यस्ता सञ्चार माध्यमलाई सचेत गर्दछौं । साथै अमेरिकी संसद्मा एक सांसदले बोलेको कुराको सत्यतथ्य खोजबिन गरेर गहिराइमा जानुको सट्टा अनर्गल प्रचारप्रसारमा संलग्न रहनु दुःखद छ ।
संस्थासँग सम्बद्ध कुनै पनि सूचना समाचार सामग्रीका रुपमा प्रस्तुत गर्नुअघि सम्बद्ध संस्थासँग सम्पर्क गर्नु आवश्यक छ । सञ्चार माध्यमका सामान्य सिद्धान्त शुद्धता, सन्तुलन र विश्वसनीयतासमेतलाई पालना गरेर सञ्चार माध्यमको विश्वसनीयता कायम राख्न सादर अनुरोध गर्दछौं ।
यस घटनाले संस्था र त्यसमा आबद्ध पदाधिकारी एवम् पूर्व पदाधिकारीसमेतको प्रतिष्ठामा आँच पुगेको र सुरक्षासमेतमा आघात पुगेको जानकारी गराउँदै त्यस्ता कार्यमा उद्यत् नहुन, नगर्न र नगराउन अनुरोध गर्दै त्यस्ता कार्यमा संलग्नहरुलाई आवश्यक कारबाही गर्न पनि नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौं ।
Leave a Reply