सुशासन प्रवद्र्धनमा नागरिक समाजको जोड

सुशासन प्रवद्र्धनमा नागरिक समाजको जोड

स्थानीय तहले शुसासन प्रवद्र्धन गर्न जोड दिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । गोरखा नगरपालिकाले तयार पारेको गैसस पाश्र्वचित्र विमोचन तथा स्थानीय तहको शुसासन प्रवद्र्धनमा नागरिक समाजको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले यस्तो बताएका हुन् । ‘हरेक योजनाको प्रभावकारी अनुगमन र पारदर्शितामा स्थानीय तहले बिशेष ख्याल गर्नु आवश्यक छ’ नागरिक समाजका अगुवा भोला भट्टराईले भने ‘हरेक गतिविधीमा जनसहभागिता, जवाफदेहिता र उत्तरदायित्वलाई मुख्य आधार बनाइनुपर्छ ।’ योजना निर्माण गर्ने र अनुगमन गर्ने संयन्त्र एउटै हुदा त्यसको प्रभावकारीता र विश्वास नियतामा प्रश्नचिन्ह खडा हुने भन्दै उनले यो संरचना नै परिवर्तन हुन जरुरी रहेको बताए ।

गोरखा नगरपालिकाको आयोजना तथा सोच नेपालको सहजीकरणमा भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले उपभोक्ता समितिका नाममा भइरहेका ठेक्का प्रथालाई नरोकेसम्म सुशासन प्रवद्र्धन हुन नसक्ने धारणा ब्यक्त गरेको छन् । ‘योजनाहरुमा ठेक्का नै दिनु नै छ भने उपभोक्ता समितिको के काम ? सिधै ठेक्का प्रकृयामा भए भइगयो नि’ थापाले थपे ‘यो खतरनाक खेल तत्काल रोकिनुपर्छ ।’

त्यस्तै नागरिक समाज संघसंसथाहरुले स्थानीय सरकारलाई सहयोग र खवरदारी गर्न सक्नुपर्ने गैसस महासंघ गोरखाका अध्यक्ष सीताराम श्रेष्ठले बताए । ‘हामी स्थानीय तहलाई सघाउन चाहान्छौ, विकास निर्माणमा साझेदार बन्न सक्छौ’ श्रेष्ठले भने ‘अरुलाई दोष दिनुअघि हामीे नागरिकले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्न आवश्यक छ ।’ कार्यक्रममा बोल्दै सोच नेपालका कार्यक्रम सल्लाहकार उत्तम निरौलाले स्थानीय तहले संचालन गर्ने कार्यक्रम तथा नीति निर्माण प्रकृयामा जनसहभागिता बढाउनुपर्नेमा जोड दिए । विकासे काममा एकले अर्कालाई दोष दिनुभन्दा सबै पक्ष जिम्मेवार बनेर अघि बढ्दा त्यसले स्थायीत्व प्रदान गर्ने उनको भनाई छ ।

कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिदै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले आफुहरुले संचालन गरेका योजनाहरुमा भ्रष्टाचार र अनियमितता भएको भए उजागर गर्न चुनौती दिए । ‘हामीले जति योजना र कार्यक्रम गर्छौ सबै नागरिक समाज र गैसससंगकै साझेदारी एवं सहकार्यमा गर्ने गरेका छौ’ उनले भने ‘गोरखा नगरपालिकाले संचालन गरेका कार्यक्रममा कहि कतै अनियमितता भएको भए त्यसलाई बाहिर ल्याउनुस, म कारबाही भोग्न र गर्न तयार छु ।’

आफु निर्वाचित भएर आउनु अघिसम्म नगरपालिका र यहाँ कार्यरत गैससका काममा धेरै समस्या रहेको स्मरण गर्दै नगरप्रमुख पन्तले अहिलेसम्म धेरै कुरा ब्यवस्थापन भइसकेको बताएका छन् । ब्यक्तिगत र राजनितिक स्वार्थबाट टाढा रहेर नमुना नगर निर्माणको अभियानमा जुटेको बताउदै उनले सुशासन प्रवद्र्धनमा प्रभावकारी कार्यान्वयन गर्न आफु प्रतिवद्ध रहेको बताए । साथै उनले आगामी दिनमा गोरखा नगरपालिकाले संचालन गरेका योजनाहरुको हरेक अनुगमनमा पत्रकार महासंघका प्रतिनिधीलाई अनिबार्य सहभागी गराउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

त्यस्तै उपप्रमुख बिनाकुमारी श्रेष्ठले सबैको उदेश्य विकास रहेकाले स्थानीय सरकारको काममा सहकार्य गर्न आह्वान गरेकी छिन् । आफुहरुले संचालन गर्ने विकास निर्माणका काम जनसहभागिता मै हुने गरेको उनले बताइन् । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत कृष्णकुमारी श्रेष्ठले गोरखा नगरपालिका शुसासनको बाटोमै रहेको बताइन् । नागरिकको सेवामा आफुहरु प्रतिवद्ध रहेको बताउदै श्रेष्ठले सेवाग्राही पनि आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने धारणा ब्यक्ति गरिन् ।

पाश्र्वचित्र विमोचन
गोरखा नगरपालिकाले जिल्लाका ११ स्थानीय तहमध्ये पहिलो पटक गैसस पाश्र्वचित्र प्रकाशन गरेको छ । बिहिबार एक कार्यक्रमका बिच नगरप्रमुख राजनराज पन्तले उक्त पाश्र्वचित्र विमोचन गरेका हुन् । सोच नेपालको सहकार्यमा निर्माण भएको पाश्र्वचित्रमा नगरक्षेत्रमा कार्यरत २१ वटा संस्थाहरुको विवरण उल्लेख गरिएको छ । पहिलो पटक प्रकाशन भएको पाश्र्वचित्र निर्माणमा सोच नेपालका जिल्ला प्रतिनिधी मोहसिन अलि मियाँले सम्पादन एवं संयोजन गरेका हुन् । नगरप्रमुख पन्तको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा अधिवक्ता स्थानेश्वर दुवाडीले पाश्र्वचित्र बारे टिप्पणी गरेका थिए ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *