ओखलढुंगामा जनप्रतिनिधीकाे: यस्तो छ पाँच वर्षे विकास लक्ष्य

ओखलढुंगामा जनप्रतिनिधीकाे: यस्तो छ पाँच वर्षे विकास लक्ष्य

ओखलढुंगा । ओखलढुंगाका निर्वाचित जनप्रतिनिधीहरुको दुई दिने अभिमुखीकरण÷साझासभा कार्यक्रम सम्पन्न भएको छ । अभिमुखिकरण कार्यक्रमको उद्घाटनमा प्रतिनिधी समभाका सदस्य यज्ञराज सुनुवार, प्रदेश सभा सांसदद्वय मोहन कुमार खड्का ‘हिमशिखर’ र अम्बिरबाबु गुरुङ, संविधानसभाका पूर्व सांसद हर्कबोल राई, राजनितीक दलका जिल्ला स्तरिय नेताहरुको पनि सहभागिता रहेको थियो ।
सभाको व्यवस्थापन संघीय संसदका सदस्य यज्ञराज सुनुवारको प्रस्तावमा जिल्ला समन्वय समिति र विभिन्न दातृ संस्थाहरुको सहकार्यमा गरिएको हो । विकासको अवधारणा तथा संभावनाका बारेमा सहजीकरण गरेको संस्था सोच नेपालका उत्तम निरौलाले प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा उपस्थित रहनु भएको संघीय मामिल तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा. दिनेश कुमार थपलियाले स्थानीय तहको काम, कर्तव्य, अधिकार र जिम्मेवारका वारेमा सहभागीहरुलाई प्रशिक्षण दिए । प्रशिक्षणको क्रममा सहभागी स्थानीय सरकारका जनप्रतिनिधीका प्रश्नहरुलाई सम्बोधन गर्दै सचिव थपलियाले जिल्ला समन्वय समिति र केही सरकारी कार्यालयका जिल्ला कार्यालयको असहयोगका कारण सबै स्थानीय तहमा आवश्यक कर्मचारीहरुको व्यबस्थापन गर्न नसकिएको बताए ।
राजनीतिक दलका नेताहरुलाई सचिव थपलियाले चुनावको वेलामा सरकारी कार्यालयका कर्मचारीहरुलाई प्रयोग र परिचालन गरे पनि अव चुनाव सकिएको र अर्को चुनाव पनि पाँच वर्ष नहुने भएकोले कर्मचारीहरुलाई आफ्नो काम गर्ने वाटो प्रष्ट पारिदिन पनि अनुरोध गरे ।
अभिमुखिकरणमा जनप्रतिनिधीहरुले काम गर्ने सन्दर्भमा स्थानीय तहमा धेरै समस्याहरु रहेको भन्दै त्यसलाई मन्त्रालय स्तरवाट नै समाधानको पहल गरिदिन आग्रह गरेका थिए । वडा अध्यक्षको गुनासाको बारेमा सम्बोधन गर्दै संघिय प्रतिनिधी सभाका यज्ञराज सुनुवार र प्रदेशसभा सदस्यद्वय मोहन कुमार खड्का ‘हिमशिखर’ र अम्बिरबाबु गुरुङले समाधान हुन सक्ने कुरा जिल्ला स्तरमा नै समाधानको प्रयास गरिने बताएका थिए । त्यस्तै जिल्ला स्तरमा हल हुन नसक्ने तथा कानून बनाएर नै लागू गर्नु पर्ने जस्ता विषयलाई कानूनमा नै उल्लेख गर्न आफूहरुले जस्ताको तस्तै प्रदेशसभाको सदन र प्रतिनिधीसभाको सदनमा उठान गर्ने प्रतिबद्धता जनाए ।
अभिमुखिकरण÷साझासभा कार्यक्रममा उठेका विषयहरुलाइ समेटेर सहभागीहरुले १० बुँदे ओखलढुङ्गा घोषणापत्र सार्वजनिक गरेका छन् । घोषणापत्रमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, विपद् व्यबस्थापन , यातायात, विद्युत, सञ्चार लगायतको क्षेत्रमा अबका पाँच वर्ष भित्रमा ओखलढुङ्गामा कार्यान्वयन गरिने विषयहरु समेटिएका छन् ।
कार्यक्रम USAID/Fhi360 अन्तर्गत सोच नेपाल, सबल परियोजना र नेपाल लाईफ ईन्स्योरेन्सको आर्थिक तथा प्राबिधिक सहयोगमा जिल्ला समन्वय समिति ओखलढुङ्गाले आयोजना गरेको हो । कार्यक्रममा ओखलढुङ्गा जिल्लाका १ नगरपालिका र ७ गाउँपालिकाका सहित ८ स्थानीय तहका निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, स्थानीय सरकारका प्रमुख प्रशासकीय अधिकृत लगायत १ सय ५० जना सहभागी थिए ।

घोषणाको पूर्ण पाठः

नेपालको संविधान २०७२ ले नेपाललाई संघिय संरचनामा स्थापित गरि तिनै तहका सरकारहरु समेत संचालनमा आईसकेको वर्तमान अवस्थामा संविधानको मर्मलाई आत्मसाथ गर्दै जिल्लावासीको समृद्धि र विकासको चाहनालाई यथासक्य छिटो पुरा गर्ने उद्देश्यले हामी ओखल्ढुंगा जिल्लाबाट निर्वाचित संघिय सांसद, प्रदेश सांसदहरु, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुख एवं वडाध्यक्ष समेतको भेलाले विकासका साझा बुझाई तय गर्नुपर्ने आवश्यकतालाई महसुस गर्दै 
ओखलढुङ्गा जिल्लाको प्रथम अन्तर तहका जनप्रतिनिधिहरु बीचको अभिमुखिकरण कार्यक्रम २०७५ बैशाख २१ र २२ गतेको निश्कर्ष स्वरुप समग्र जिल्लाको समृद्धि र विकास निर्माणप्रतिको प्रतिबद्धता स्वरुप यो घोषणा पत्र जारी गरिएको छ । 
१) शिक्षा
नेपाली जनताको आधारभूत आवश्यकताको महत्वपूर्ण पक्ष सवै नेपाली साक्षर हुनुपर्ने, शिक्षा वैज्ञानिक रोजगार मूलक, सर्वसूलभ र सवैको पक्षमा हुनुपर्ने आजको आवश्यकतालाई दृष्टीगत गरी 
– जिल्लाका सबै बालबालिकालाई अनिवार्य विद्यालय पठाउने अभियान संचालन गरिने छ । 
– सामुदायीक विद्यालयहरुको गुणस्तर बृद्धि गरिने छ । 
– हाल उच्च मा.वि. सञ्चालन भएको मा.वि.हरुमा क्षमता हेरी विभिन्न प्राविधिक शिक्षालय सञ्चालन गरिने छ ।
२) स्वास्थ्य 
– सबै वडामा स्वास्थ्य चौकी स्थापना गरिने छ । 
– सातवटै गाउँपालिकामा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र स्थापना गरिने छ । 
– ओखल्ढुंगा जिल्लामा स्वास्थ्य बिमा लागु गरिने छ ।
३ कृषि 
 कृषि उत्पादनमा जोड दिँदै पकेट, ब्लक र जोन क्षेत्र छुट्याई आधुनिक कृषी प्रणाली मार्फत अगर््यानीक खाद्य उत्पादन गरिने छ । 
 कृषि उत्पादनलाई प्रोत्साहन गर्ने, निर्वाहमूखि कृषि प्रणालीलाई व्यवसायिकिरण गर्ने । कुन स्थानमा कस्तो वाली उत्पादन हुन्छ सोहि अनुसार योजना वनाउने । समग्र जिल्लामा व्यवसायीक तरकारी खेतिमा थप प्रोत्साहान गरिने छ । 
 जिल्लाका युवावर्गलाई व्यवसायिक कृषी तर्फ आकर्षित गर्ने विशेष योजना बनाईने छ । 
 ओखलढुंगा जिल्लालाई अर्गानिक खाद्य उत्पादनको केन्द्र बनाईने छ ।
 पशुपालनलाई जिल्ला अभियानकारुपमा विस्तार गर्ने, पशुपालनलाई प्रबद्र्धन गर्न पशुबिमा लागु गरिने छ ।
४) पर्यटन 
 जिल्लाका हरेक गाउँपालिका वा नगरपालिकाले कम्तिमा एक पर्यटन केन्द्र स्थापना गरी ति सबै पर्यटकिय केन्द्रलाई जोड्ने गरी सडक वा पर्यटक पदमार्ग निर्माण गरिने छ । 
 ककनी, पोकली झरना, सेप्ली झरना, देम्बा, चुली, लगलगे, कोषभञ्ज्याङ्ग, कोटगढी, जन्तरधाप, लिब्जु, थामडाँडा, नर्मदेश्वर महादेव लगायत सम्भावित क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाईने छ । 
 शिरिसे, पोकली, खिजीदेम्बा, जन्तरधाप, ओखलढुंगा पर्यटकीय मार्ग, साँघुटार, ककनी, तीनतले अर्को मार्ग निर्माण गर्दै पत्ताले जन्तरधाप, ओखलढुंगा, लगलगे, जयराम, हलेसी पर्यटकीय मार्ग निर्माण गरिने छ ।

५) यातायात 
 मोलुङ एकवार, लिखु एकवार र दुधकोशी एकवार सडक निर्माण सम्पन्न गरिने छ।
 साँघुटार ओखलढुंगा, सिलौरीघाट मोटरबाटो कालोपत्रे गरिने छ ।
 नवलपुर कोषहाट ककनी सडक निर्माण संपन्न गरिने छ । 
 शिरिसे पोखरीडाँडा श्रीचौर ओखलढुंगा र खिजिफलाँटे मंगलबारे प्राप्चा रामपूर सडक निर्माण गरिने छ 
 सबै गा.पा. केन्द्र र वडाबीच सडक सञ्जाल विस्तार सम्पन्न गरिने छ ।
६) विद्युत 
 आगामी ५ बर्ष भित्र ७५ वटै वडामा विद्युत विस्तार गरिसक्ने र उज्यालो ओखलढुंगा बनाईने छ । 
 मोलुङ, दुधकोसी, लिखु बाट क्रमशः विद्युत उत्पादन गरिने छ ।
 उर्जा मन्त्रालयको समन्वयमा जिल्लाको कुनै एक जलविद्युत आयोजनामा सबै जिल्लाबासीको लगानी र सहभागीता रहने गरी जनता जलविद्युत आयोजना निर्माण गर्ने । 
७) सञ्चार 
 जिल्लाका सबै स्थानमा टेलिफोन र ईन्टरनेट सेवा पुर्याईने छ । 
 स्थानीय तहलाई मध्यनजर गर्दै सामुदायिक एफ.एम.रेडीयो सञ्चालनमा सहयोग र सञ्चालनमा प्रोत्साहन गरिने छ । 
८) बैँक 
 सबै गाउँपालिकामा बैँक स्थापना स्थापना गरिने छ । 
 राज्यको नीति अनुरुप सहकारी संस्था स्थापना एवं प्रबद्र्धनमा गरिने छ ।
९) वन 
 हरियो वन नेपालको धन भन्ने उक्तीलाई जोड दिँदै वनको संरक्षण उपभोक्ताहरुबाटै गराउने विद्यमान नीतिलाई थप प्रोत्सान गरिने छ । 
 औषधीजन्य जडीबुटी चिराईतो, ठूलोओखती, पाखावेत, पदमचाल, सुनाखरी, खयर, लोक्ता, मछिनो, तितेपाती, जस्ता जडीबुटीहरुको संकलन र संरक्षणमा जोड दिँदै आय आर्जनमा बृद्धि गरिने छ ।
 ओखलढुंगाको गौरबको रुपमा रहेको गौरीवन गुरुयोजना निर्माण गरिने छ ।
 एक व्यक्ति एक फलफूलको बिरुवा रोप्ने अभियान सञ्चालन गर्दै हरियो ओखलढुंगालाई सुनिश्चित गर्दै सिजनल फलफूलमा ५ बर्ष भित्रमा स्वावलम्भि जिल्ला बनाईने छ । 
१०. विविध
 सम्भावित खनिज पदार्थको खानी अन्वेषण सम्वन्धीत निकायसँग समन्वय गरी सञ्चालन गरिने छ ।
 एक गाउँपालिका एक उद्योग सञ्चालनका लागि विशेष पहल गरिने छ ।
 यस जिल्लालाई सुशासन युक्त र भ्रष्टचारमूक्त जिल्लाको रुपमा स्थापीत गराईने छ । 
 जातिय छुवाछुतलाई हदैसम्मको अमानविय कार्य मान्दै जातिय विभेद र छुवाछुतजस्ता अपराधमुक्त जिल्ला बनाईने छ । 
 जातिय छुवाछुत, लैङ्गिक हिंसामा संलग्न व्यक्ति वा समूहलाई सुविधा बहिष्करण गर्ने व्यवस्था गरिने छ ।
 सिद्धिचरण नगरपालिकालाई नमूना न.पा. बनाउन विशेष कार्यक्रम ल्याईने छ । 
 रुम्जाटारमा नियमित उडान सञ्चालन गर्नुका साथै निर्माणधिन खिजीचण्डेश्वरी एयरपोर्ट निर्माण सन्पन्न गरी सञ्चालन गरिने छ । 
 सूचना प्रविधिको अत्याधिक प्रयोग गरि जिल्लाभरीका सार्वजनिक तथा नीजि संस्थाका सेवा प्रवाहलाई सहज बनाउँदै प्रविधिकै माध्ययमबाट मुल्यांकन तथा नियमन गर्ने व्यवस्था मिलाईने छ । 
 उल्लिखित सम्पुर्ण लक्ष्य प्राप्त गर्न तिनै तहका सरकारले नागरिक समाज, संचार माध्ययम र नीजि क्षेत्रसँग आवश्यकता अनुसार सहकार्य गरिने छ ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *