महाव्याधीबीच बुद्धको सम्झना

महाव्याधीबीच बुद्धको सम्झना

डा. दिनेशराज भुजु

आज बुद्धजयन्ती, वैशाख पूर्णिमा । एउटा अनौठो योग छ वैशाख पूर्णिमाको । यही दिन बुद्ध जन्मिए आजभन्दा २५ सय ८३ वर्ष पहिले । यही दिन उनले ज्ञान प्राप्त गरे । त्यतिखेर उनी ३५ वर्षका थिए र यही दिन उनको अवसान भयो ८० वर्षको उमेरमा । मानव इतिहासमा यसरी लामो समय भन्नाले २५ सय वर्षभन्दा बढी चर्चामा रहेका मानिस सम्भवतः सिद्धार्थ गौतम बुद्ध नै होलान् । नाम चलेका त अरू पनि छन् तर ती वास्तविक इतिहासभन्दा परका पात्र हुन् । ती या त दन्त्यकथा, या त पुराण, या त पौराणिक कथाका पात्र हुन्, जसलाई देवीदेवता भनिन्छ । सिद्धार्थ गौतम बुद्ध चाहिँ तीभन्दा फरक, देवता वा देवदूत नभैकन हामीजस्तै आमाको कोखबाट जन्मेका, हामीले जस्तै दुःख सुख भोगेका, हामीले जस्तै हिँडेका, डुलेका र बोलेका । उनले आफूलाई कहिल्यै देवपुत्र वा देवावतार भनी भनेनन् न त देवदूत नै भने । पुत्र थिए त मायादेवी गौतमीका । यसकारण नाम पनि उनको सिद्धार्थ गौतम रहन गयो ।

किंवदन्ती त बुद्धका पनि छन् । त्यसो त उनका भक्तहरूले र हामी नै पनि भगवान बुद्ध भनी पुकार्छौं । तर खासमा उनी मूर्तिपूजा समेतका विरोधी थिए । हिन्दुहरूले त उनलाई विष्णुको नवौँ अवतार नै मानिदिए । वास्तवमा उनी त्यतिखेरको हिन्दु परम्पराकै पनि आलोचक थिए । सिद्धार्थ गौतम राजा शुद्धोदनको परिवारमा जन्मिए । उनी राजकुमार नै थिए तर उनलाई राजसिंहासनमा अभिरुचि भएन । उनलाई राजनीतिभन्दा जननीति मनप¥यो । जीवननीतिमा उनको आस्था रह्यो । मानिसहरू राजनीति र राजसिंहासनका निम्ति मरिहत्ते गर्छन् वा मारीहत्या पनि गर्छन् । तर सिद्धार्थ गौतमले सजिलै पाएको सुविधा र अधिकार पनि त्यागे र वनतिर हिँडि गए । श्रीमती थिइन् यशोधरा, छोरा राहुल भर्खर जन्मेको ।

सिद्धार्थ गौतमले गृहत्याग किन गरे ? धेरैले पढेको र सुनेको कुरा के हो भने सिद्धार्थलाई उनका बुवाले ठूलो नहुञ्जेल दरबारभित्रैै राखे, बाहिरी संसारभन्दा अलग्ग र राजकाजमा लगाउन चाहे । एकदिन उनी दरबारबाट बाहिर गए । बाहिर उनले असक्त रोगी देखे, बूढाबूढी देखे र मरेका मानिस पनि देखे । विरक्त भएर उनी गृहत्याग गरेर वन गए । हामीले पढेको र सुनेको यो कुरा बढी कथाजस्तो लाग्छ । हुन पनि यो कथा नै रचना गरिएको हुनुपर्छ । किनभने सिद्धार्थ गौतमले गृहत्याग गर्नुका पछाडि अर्कै ठ“लो कारण छ, जसलाई प्रमाणसहित र तर्कसङ्गत ढङ्गले अम्बेडकरले प्रस्तुत गर्नुभएको छ । डा. भीमराव अम्बेडकरले गणतन्त्र भारतको संविधान लेख्नुभएको थियो । उहाँकै एउटा पुस्तक छ, बुद्ध र उनको धम्म । उक्त पुस्तकमा सिद्धार्थ गौतमले कुन परिस्थितिमा गृहत्याग गर्नु परेको थियो भन्ने पनि बयान छ ।
अम्बेडकरको बयानअनुसार शाक्यवंश अर्थात् सिद्धार्थ गौतमको कुल वंशको राज्य कपिलवस्तुमा थियो । यो कोलीय राज्यसँग जोडिएको थियो । शाक्य र कोलीयहरूको राज्यलाई एउटा नदीले छुट्याएको थियो, नाम थियो रोहिणी । शाक्य र कोलीय राज्यका जनताले रोहिणी नदीको पानीबाट आआफ्ना खेतमा सिँचाइ गर्थे र बाली कमाउँथे । तर कसले पहिले र कति मात्रामा भन्ने विषयमा ती दुई राज्यबीच जहिल्यै विवाद हुने गथ्र्यो । यसै क्रममा एक वर्ष विवाद चुलियो, मारपिट चल्यो, लडाइँ हुने भयो । शाक्य सेनापतिले कोलीयविरुद्ध युद्ध घोषणा गर्न सङ्घमा प्रस्ताव ल्याए । शाक्यहरूको सङ्घ एक प्रकारको संसद् थियो, जसमा सिद्धार्थ गौतम पनि एक सदस्य थिए । सङ्घको छलफलमा उनले भने कि पानीकै लागि किन लडाइँ गनुप¥यो ? यो त प्राकृतिक स्रोत हो, सरसल्लाहमा मिलीजुली बाँडेर लिए त भइहाल्यो नि ! उनले प्रस्ताव राखे कि कोलीयसित लडाइँ होइन पानी बाँडफाँटका सम्बन्धमा वार्ता गरी सधैँका लागि युद्धको अन्त गरौँ । तर युद्ध उन्माद बोकेका सेनापतिले उनको कुरा अस्वीकार गरे । सङ्घमा मतदान भयो, कसको पक्षमा बढी मत छ भनेर । मतदान हुँदा सेनापति पक्षमा धेरै सदस्य गए । अर्थात् कोलीयसित वार्ता होइन लडाइँ गर्ने पक्षको जीत भयोे ।

सद्धार्थ गौतमले मतदानमा पराजय भएका कारण तीन वटा विकल्पहरूमध्ये एउटा रोज्नुपर्ने भयो । पहिलो विकल्प सेनापतिका कुरामा सहमत भएर युद्धमा जाने, दोस्रो आफ्ना सारा परिवारको सर्वस्वहरण गराई समाजबाट बहिस्कृत हुने र तेस्रो निर्वासन या मृत्युदण्ड । सिद्धार्थ गौतमले यी विकल्पहरूमध्ये तेस्रो अर्थात् निर्वासनलाई रोजे र उनी आफ्नो घर परिवार र राजकाज त्यागेर जङ्गल गए । ज्ञान प्राप्तिको उनको अभ्यास र अभियान बस् त्यहीँबाट सुरु हुन्छ । उनले प्राप्त गरेको ज्ञान अथाह छ, जुन उनले मृत्युशøया पुगुञ्जेल पनि सबैसित बाँडिरहे ।
सारांशमा भन्दा बुद्धको ज्ञानले तीन कुरा भन्छः एक संसारमा दुःख छ, दुई दुःखको कारण छ, र तीन दुःखको अन्त गर्ने मार्ग छ । हजारौँ वर्षदेखि ऋषिमुनि, विद्वान् विद“षीहरूले निरन्तर खोज गर्दै आएको प्रश्नको उत्तर सिद्धार्थ गौतमले दिए । धेरैले उनलाई प्रश्न गर्ने गर्छन् र उत्तर पाउने अपेक्षाले उनीकहाँ जान्थे । तर सिद्धार्थ गौतम जो ज्ञानी र बुद्ध भइसके, उनले भन्ने गर्दथे – हरेक वस्तुमाथि सन्देह गर । अर्थात् प्रश्न गर्नु र आफ्नो उज्यालो आफैँ भेट्टाउनु । यस अर्थमा ज्ञान पत्ता लगाउने सिद्धार्थ गौतमको जुन विधि छ त्यो विधि वैज्ञानिक छ । उनले अँगालेको विधि वैज्ञानिक विधि थियो । विज्ञानले पनि यही त भन्छः हरेक वस्तुमाथि प्रश्न गर, सन्देह गर । प्रश्न र सन्देह नै विज्ञानको आधार हो र यसको गतिशीलता हो ।

यतिखेर हामी वैश्विक महाव्याधी कोभिड १९ को भीषण अवस्थाबाट गुज्रिरहेका छौँ । एउटा प्रश्न स्वतः उठ्छ, के गौतम बुद्धको समयमा महामारी थियो ? त्यतिबेला पनि महामारीले मानिसको मृत्यु हुन्थ्यो ?

अध्ययनहरूबाट के देखिएको छ भने ऋग्वेदमा शिपादा भन्ने रोगको लक्षणबारे उल्लेख छ । जसको अर्थ छालाको रोग, सम्भवतः विफर भन्ने लाग्छ । ऋग्वेद करिब आठ हजार वर्ष पुरानोे ग्रन्थ मानिन्छ । त्यस्तै कलेरा (हैजा) को विषयमा सुश्रुतसंहितामा उल्लेख भएको पाइएको छ । यो ग्रन्थ पनि त्यस्तै २६ सय वर्ष पुरानो मानिन्छ । भन्नुको अर्थ सिद्धार्थ गौतमको समयमा पनि रोगव्याधीहरू प्रशस्त थिए । महामारीबाट हजारौँ लाखौँ मानिसको मृत्यु हुन्थ्यो ।

स्वास्थ्य उपचार, रोगव्याधी र स्वस्थ खानाका विषयमा बुद्धका वचनहरू विनयपित्तका, सुत्तपित्तका जस्ता ग्रन्थहरूमा उल्लेखित रहेछन् । बुद्ध दर्शनमा स्वास्थ्यलाई म“लतः दुई भागमा विभाजित गरिएको छ, शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्य । बुद्धका अनुसार केही मानिस शारीरिक बिमारीबाट टाढा रहन सक्छन् । बिमारीलाई पनि उनले दुई भागमा बाँडेका छन्ः निको हुने र निको नहुने । उनका अनुसार स्वास्थ्यलाई प्रभाव पार्ने तत्त्व भनेको प्राकृतिक तत्त्व हुन् जुन पाँच प्रकारका छन्ः मौसम, बीजखाद्य, काम, चित्त र धम्म । कोरोना भाइरस र यसबाट भइरहेको कोभिड १९ महाव्याधीको कारण केलाउँदा पनि यस्तै मानव क्रियाकलाप र प्राकृतिक तत्त्वहरूमा निहित देखिन्छ ।

बुद्धको जीवनीमा एउटा बडो घतलाग्दो घटना छ । उनी एकदिन आफ्ना शिष्य आनन्दसित आश्रममा फर्किंदा एक जना भिक्षु असक्त भई भुइँमा लडिराखेको हुन्छ । उसको सेवामा त्यहाँ कोही हुँदैन । उसलाई हैजा लागेको रहेछ र ऊ दीनहीन अवस्थामा थियो । बुद्ध तत्कालै बिरामीकोे सेवामा जुट्छन् । आनन्दलाई पानी मगाउँछन्, दिसा पखालिदिन्छन् र नुहाइदिन्छन् । जम्मा भएका शिष्यहरूलाई बुद्धले सम्झाउँछन् “जसले रोगीको सेवा गरेको हुन्छ वास्तवमा उसले मेरो सेवा गरेको हुन्छ ।” उनले थपे – “गुरु बिसञ्चो भएमा शिष्यले हेरचाह गर्नुपर्छ, शिष्य बिसञ्चो भएमा गुरुले हेरचाह गर्नुपर्छ । दुवै नभएमा सङ्घले हेरचाह गर्नुपर्छ ।”

आज कोभिड–१९ को यो वैश्विक महाव्याधीमा हजारौँ लाखौँ चिकित्सक र नर्सहरू यसरी नै बिरामीको सेवा र उपचारमा जुटिरहेका छन् । ती सबैमा बुद्धभाव छचल्किरहेको देखिन्छ ।

(लेखक नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ तथा यस स‌ंस्थाकाे सल्लाहकार हुनुहुन्छ ।)

गाेरखापत्र अनलाइनबाट साभार 

 

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *