अन्धविश्वासमा जकडिएको सुदूरपश्चिम

अन्धविश्वासमा जकडिएको सुदूरपश्चिम

वैशाख १६, २०७५अर्जुन शाह

धनगढी — सदियौंदेखि कायम रहेको रुढीवादी परम्पराले सिंगो सुदूरपश्चिम अझै आक्रान्त छ । सुदूरपश्चिम अर्थात अहिलेको प्रदेश ७ को समाज केवल आर्थिक विपन्नता मात्रै झेलिरहेको छैन्, अहिले पनि बोक्सी, छाउपडी, जातीय छुवाछुत, बालविवाह, धामीझाँक्री, सुत्केरीलाई गोठमा राख्ने चलन, लैङ्गिक विभेद, हलिया, खलियालगायतका रुढीवादी र अन्धविश्वासी परम्पराको डरलाग्दो जालोभित्र जेलिएको छ ।

Photo by Arjun Shah, Kantipur online

बाजुराको बुढीगंगा नगरपालिकाको गाउँमा एक गैरदलित महिला दशैंका बेला गाउँका दलित परिवारकालाई टाढैबाट खाना दिदैं । तस्बिर : अर्जुन शाह/कान्तिपुर । 

फेरिएको राजनीतिक ब्यवस्थाले यहाँ विद्यमान यि कुरितीलाई धक्का दिन सकिरहेको छैन ।

बोक्सी आरोपका क्रुर घटनाहरु सुदूरका सबै जिल्लामा बारम्वार दोहोरिरहन्छन्। पछिल्लोपटक प्रदेश राजधानी समेत रहेको जिल्ला कैलालीमा यस्तै घटना दोहोरिएपछि केही समयका लागि माहोल तात्यो। महिलाहरुको हकहितमा विश्वभर एकैसाथ मनाइने अन्तराष्ट्रिय नारी दिवस तामझामकासाथ मनाइदैगर्दा घोडाघोडी नगरपालिका–५ थारु बस्तीमा बोक्सी आरोपमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीया राधा चौधरीमाथि अमानवीय ब्यवहार भयो।
राधालाई मरणासन्न हुने गरी घण्टौंसम्म निर्घात कुटपीट भयो। गाउँकै सात जनाको समूहले घरबाट हातखुट्टा बाँधेर घिसार्दै लिएर पर पुर्‍याए। आफूमा दैवीशक्ति प्राप्त भएको बताउने रामबहादुर चौधरीले बोक्सी भगाउने भन्दै राधामाथि लगातार ६ घण्टासम्म निर्मम कुटपिट गरे। सयौंको संख्यामा त्यहाँ भेला भएका स्थानीय नाटक हेरेझै ताली बजाएर रमिते बने। राधाले ‘बोक्सी हुँ’ भनेर नस्वीकार्दासम्म संवेदनशील अंगसहित शरीरमा घण्टौं कुटपिट भइरहेपछि उनी स्वीकार्न बाध्य भइन्। घटनाको केही दिनसम्म माहोल खुब तात्यो। तर महिनादिन नबित्दै सेलाई हाल्यो। कैलालीमा यसअघि पनि बोक्सीको आरोपमा आधा दर्जन बढी घटना प्रकाशमा आइसकेका छन्। प्रकाशमा आउन नसकेका र गाउँघरमा नै मिलाइएका बोक्सी सम्वन्धी घटनाको संख्या यकिन छैन। यति भन्न सकिन्छ त्यो संख्या निकै ठूलो छ।

‘छाउपडी’ सुदूरपश्चिमको अर्को कुप्रथाका रुपमा विद्यमान छ। यहाँका ९ वटै जिल्लामा छाउपडी परम्पराले गहिरो गरी जरा गाडेको छ। महिनावारी भएका बेला छाउगोठमा मृत्यु भएका घटनाको उल्लेख्य संख्याका कारण अछाम सबैभन्दा बढी बद्नाम पनि छ। हालसम्म अछाममा छाउपडी गोठमा १२ जना महिलाहरुले ज्यान गुमाएको प्रदेशसभा सदस्य दुर्गा कामी बताउँछिन्।गएको माघ दोस्रो साता साविकको वीरपथ गाविस–७ की ४० वर्षीया डिक्रादेवी ढकालको छाउपडी गोठमा सुतिरहेको अवस्थामा मृत्यु भयो। घरदेखि टाढा बनाइएको छाउपडी गोठमा सुतिरहेकी डिक्रालाई बिहान पानी दिनजाँदा परिवारले मृत अवस्थामा भेटेका थिए। महिनावारी भएका बेला महिलालाई छुनै नहुने रुढीवादी मान्यताका कारण गाउँलेहरुले उनको शव पोष्टमार्टम समेत नगरेर दाहसंस्कार गरे।अछामको ग्रामीण समूदायका महिलाहरुले मात्रै ‘छाउ’ बार्छन भन्ने होइन्। पढेलेखेका शिक्षित र बजार क्षेत्रमा बसोवास भएका महिलाहरुसमेत महिनावारीका बेला छाउगोठ बस्छन्।साँफेबगरस्थित मष्टामाण्डौं आधारभूत विद्यालयकी शिक्षिका ज्ञानु ठकुल्ला महिनावारी भएका बेला जहिल्यै बिदामा बस्छिन्। अरु शिक्षिका पनि बिदा लिएर बस्छन्। विद्यालय नजिकै देवताको मन्दिर भएकाले शिक्षिकाहरु महिनावारीकाबेला विद्यालय जाँदैनन्।ढकारी–७ को त्रिपुरेश्वरी आधारभूत विद्यालयकी शिक्षिका शान्ती भुषाल महिनावारी भएकाबेला गोठमै बस्छिन्। साँफेबगर र ढकारीमा मात्र होइन, जिल्लाभरका अधिकांश शिक्षिका महिनावारी हुँदा छाउगोठमा बस्ने गरेका तथ्यहरु बारम्बार सञ्चारमाध्ययममा आइरहन्छन्। जिल्ला शिक्षा अधिकारी झंकरबहादुर विष्टले भने, ‘महिनावारी भएका बेला विद्यालय नै नआउने शिक्षिका थोरै भएपनि छाउ बार्ने शिक्षिकाहरु भने धेरै छन्।
छाउगोठमा बस्नेमा जान्नेबुझ्ने महिलाहरु नै बढी छन्। छाउगोठमा निसासिएर मृत्यु भएकी तुर्माखाँदकी गौरी बुढा उनी नागरिक सचेतना केन्द्रकी सदस्य रहेकी सामाजिक अगुवा थिइन्। त्यसअघि छाउगोठमै मृत्यु भएकी ढकारीकी लक्ष्मी बुढा, रिडिकोटकी शर्मिला भुल र गाज्राकी रोशनी तिरुवा पनि पढेलेखेकी थिइन्।
रजस्वला भएकाबेला महिलालाई सार्वजनिक स्थानमा प्रवेश निषेध गरिने यहाँको समाजमा उनीहरुले पाँच दिनसम्म छाउपडीगोठमै बस्नुपर्ने बाध्यता हुन्छ। हालसम्म मृत्युका घटना प्रकाशमा नआएको भएपनि दार्चुला, बाजुरा, बझाङ्ग, बैतडी, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा एकनासकै छ। साक्षरतामा अन्यत्रभन्दा अग्रस्थानमा रहेको तराईको कञ्चनपुरको महेन्द्रनगरमा महिनावारी हुने महिलाहरुले डेरासमेत पाउँदैनन्।बाजुरा धामीझाक्री, सुत्केरीलाई गोठमा राख्ने, बालविवाह, देउताको भाकल पुरागर्न छोरीलाई देउताको नाममा सुनाउने, छोरी तान्नेलगायतका सामाजिक कुप्रथाबाट आक्रान्त छ। कुल्देवमाण्डौंकी मनु सार्की गतवर्ष जंगलको भिरालोमा लडेर टाउकोमा गम्भिर चोट लागेर अचेत भइन्। घरपरिवारले भने बेहोस भएकी उनलाई अस्पतालमा लैजानुको साटो नजिकको धामी झाँक्रीलाई बोलाएर झारफुक गराउन थाले। गाउँकै र वल्लोपल्लो गाउँका धामीलाई समेत बोलाएर घरपरिवारले चार दिनसम्म सिकिस्त विरामीको झारफुक गराए। केहीले देउता लागेको भने, केहीले अब बाँच्दिनन् भनेर ठोकुवा गरे। विरामीको अवस्था भने दिनदिनै नाजुक हुदै गयो। हप्तादिनपछि उनको शरीर नचल्ने भयो। ढिलोगरी चिकित्सकलाई देखाउँदा डाक्टरहरुले विरामीलाई समयमा उपचार नगर्दा टाउकोमा रगत जमेर पक्षघात भएको बताए।देवीदेउता मान्ने चलन झनधेरै जकडिएको छ बाजुरामा। गतवर्ष महेन्द्रनगरमा स्नातक तेस्रो वर्षमा अध्ययनरत बाह्रवीस खारेखेतका २२ वर्षीय अर्जुन बिकलाई अकस्मात देब्रे खुट्टा दुखेर सास्ती भयो। उपचारका लागि उनी सिधै भारतको दिल्ली गए। दिल्लीका डाक्टरले एक सातासम्म उपचार गरे। केही हल्का भएपछि दशैंअघि उनी महेन्द्रनगर फर्के। तर, महेन्द्रनगर पुगेको दोस्रो दिनमा फेरी पहिला जस्तै समस्या दोहोरिएर आपत पर्‍यो। अप्ठ्यारो बढेपछि उनी घर फर्के। पढ्न शहर गएको छोरा विरामी भएर घर फर्केपछि अभिभावकले ‘पुन्याखेत देउता’ का धामी बसाले। पुन्याखेत मष्टो उनीहरुको कुलदेउता हो। धामीले त्यही कुलदेउता बिग्रेको बताएपछि बिक परिवार देउता सपार्ने योजनामा लागे। त्यसअघि कहिल्यै देउताको थान (मन्दिर) मा नगएका अर्जुन रोगले थलिएपछि पुजाआजा गर्दै आफै थानमा पण्यास्नु (मन्दिरमै बस्ने) कुर्न थाले।
झैझगडा, जग्गा विवादलगायत अन्य विषयमा न्याय खोज्न यहाँ देउताका मन्दिरमा हरेक महिनाको औशीपूर्णिमामा उजुरी गर्ने र प्रतिवादी फर्काउनेहरुको घुईचो लाग्ने गर्दछ। ‘औशीपुर्णिमामा थानमा खुट्टो टेक्ने ठाउँ हुँदैन’, पुन्याखेत मष्टो देउताका धामी चन्द्र बिष्टले भने। देउताका धामीको सल्लाह अनुसार विरामी, अन्य मामिलाका उजुरीकर्ता र प्रतिवादीहरुले वर्षौसम्म देउताको थानमा तारेख जारी राख्छन्। छिनोफानो (फैसला) भने देउताका धामीले निश्चित समयमा गर्छन्। पुस्तौंदेखिका मुद्दाहरु अहिलेसम्म चलिरहेका बाह्रवीसकै डिल्ली बिष्टले बताए। छिमेकी बझाङ, अछाम, बैतडीमा समेत यस्तै जनविश्वास तथा परिपाटी कायम रहि आएको छ।
धामी झाँक्रीका विषयमा भएका अध्ययनहरुले भने धाँमी विद्याको पछाडि मनोवैज्ञानिक उपचार एवं हर्बल मेडिसिनको प्रयोगले बिरामी निको हुने गरेको पुष्टि गरेका छन्। धामीझाँक्री प्रथा दास युगबाट सुरु भएको मानिन्छ। जंगली युगमा प्रकृतिले नै रोगव्याधि नियन्त्रण गरेको मान्यता छ। त्यसपछि दासयुगमा जादुवालाले टुनामुना, पुजारी र धामीझाँक्रीले झारफुकबाट उपचार गर्ने गरेको धामीझाँक्री सम्बन्धि गरिएका अध्ययनहरुमा उल्लेख भएको पाइन्छ।बाजुराको समाजमा उमेर नपुगी विवाह गर्नु र विद्यालय छाड्नु कुनै अनौठो कुरा मानिंदैन्। दुई वर्षअघि परिवारकै समर्थनमा छताराकी १२ वर्षीया काजु विकले विवाह गरिन्। गुदुखाती–४ का १५ वर्षीय भरत धामीले पनि घरपरिवारकै सहमतिमा विवाह गरे। दुई वर्षअघि बाह्रबीस–१ की तारा रावतले १४ वर्षकै उमेरमा विवाह गरिन्। कक्षा ७ मा अध्ययनरत रहेकी उनले विवाहलगत्तै पढाइ छाड्नु पर्‍यो। बाह्रबीसकै मनसरा रावत पनि तारासंगै पढ्थिन्। १४ वर्षकै उमेरकी मनसरासमेत विवाह गरेर हिँडे लगत्तै विद्यालय पनि रोकियो।
साविकका १२ गाविसमा दुई वर्षअघि गरिएको एक सर्भेक्षणमा जिल्लामा ७० प्रतिशत बालविवाह भएको देखिएको थियो। एक वर्षमा ती गाविसमा ५ सय ७३ जनाले विवाह गरेका थिए। ती मध्ये ४ सय २ जनाको विवाह बालविवाह थियो। गैरकानूनी विवाह रोक्न प्रहरीमा उजुरी भने कसैले दिएनन्। कानुनले २० वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई गैरकानूनी मानेको छ। ‘पढ्दा–पढ्दै विवाह गरेका किशोरकिशोरीहरु अधिकांशले विवाहपछि पढाई छाड्छन्’ रत्न उच्च माध्यमिक विद्यालयका प्राचार्य रतनबहादुर अयडीले भने, ‘बालविवाह बाजुराको कुप्रथा हो।’
बाजुरामा सुत्केरीलाई गोरु गोठमा राख्ने अर्को कुप्रथा हो। गर्भवतीलाई सुत्केरी व्यथा सुरु हुनेबित्तिकै स्वास्थ्य संस्था लैजानुको साटो यहाँको विकट क्षेत्रका परिवारले हत्तपत्त गोठमा सार्छन्। जस्तोसूकै चिसो सिरेटोको सास्ती ब्यहोर्नु परेपनि आमाले शिशुसँगै पूरापूर एक महिना त्यही जेलको छिंडीजस्तो गोठभित्र गुजार्नुपर्छ। सामाजिक परम्पराअनुसार गोठको मूल ढोकामा तरबार ठड्याइन्छ। माथिबाट माछा मार्ने जाल ढोकामा फिंजाइएको हुन्छ। तरबार र जालले नै सुत्केरी र शिशुलाई भूतप्रेत र कपटबाट सुरक्षा गर्ने अन्धविश्वासअनुसार घरपरिवारले त्यसो गर्छन्। गोरु गोठमा बस्नुपर्ने परम्परा गलत लाग्नेसंग पनि यो परम्परागत मान्यता तोड्ने हिम्मत छैन। बाजुराको पूर्वोत्तर क्षेत्रका महिलाहरुका लागि समाजले बनाएको यो कडा बन्धन हो। नियम नमाने देउताले सराप्ने डरका कारण सुत्केरीहरु गोरु गोठमा बस्न बाध्य छन्।
सुदूरकै अर्को जिल्ला बझाङ जातीय छुवाछुतबाट ग्रसित छ। साविकको रिलु गाविसका ५५ वर्षीय लालसिंह आग्रीलाई स्थानीय रुद्र कठायत, मान कठायत, गोर्खे कठायत लोकबहादुर ग्वाल, धनजित ग्वाल र गगे बोहराले दलित भएर मन्दिर परिसरमा गएको भन्दै दुर्व्यवहार गरे। हरेलो मेलाहेर्न गएका आग्री मन्दिर नजिक प्रसाद पकाउने ठाउँमा गएका थिए। उनलाई देउता विगारेको भन्दै दुई हजार नगद र चार आना सुन पनि जरिवाना गराइयो। तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले समेत घटनामा आफ्नो ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारवाही गर्न प्रहरीलाई निर्देशन दिएका थिए।जातीय भेदभाव तथा छुवाछुतको कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०६८ ले जातीय छुवाछुतलाई मानवता विरोधी कार्य भन्दै छुवाछुत गर्नेलाई सजाय गर्ने व्यवस्था गरेको छ। त्यसअघि ०२० सालमा बनेको मुलुकी ऐनले नै जातीय छुवाछुत गर्ने कार्यलाई दण्डनीय भनेर परिभाषित गरिसकेको भएपनि हालसम्म गाउँघरका पसलमा दलितहरुले चिया खाएको गिलास समेत आफैले सफा गर्नुपर्ने अवस्था कायमै छ।लैगिंक विभेदले समेत यस प्रदेशमा गहिरो जरा गाडेको छ। महिलाले आफ्नै परिवारमासमेत मृत्यु भएका आफन्तको दागबत्ती दिने कुरा अकल्पनीय जस्तै छ। शवलाई समेत छुन नहुने मान्यता कायम रहँदै आएको छ। यसअघि बझाङमा दुई महिलाले आफ्ना बाबुलाई दागवत्ती दिएको घटनाले चर्चा पाएको थियो। बझाङको कफलसेरीका नन्ता बोहरा र मंगली बोहराले बाबुलाई दागवत्ती दिएका थिए। सुदूरपश्चिममा महिलाले दागबत्ती दिएर प्रचारमा आएको पहिलो घटना यही हो।
सुदूरपश्चिमको अर्को पहाडी जिल्ला बैतडीमा अर्को अनौठो परम्परा छ। तल्लोस्वराडमा पर्ने मेलौली गाउँमा जेठो सन्तानका रुपमा छोरा जन्माएका आमाबुवाले हरेक वर्ष तिहारको औंसीका दिन गाउँलेलाई खसी काटेर खुवाउनै पर्ने चलन छ। यदी त्यसो नगरे छोरालाई अशुभ हुने जनविश्वासका कारण यो परम्पराले सामाजिक तथा लैङ्गिक विभेदलाई बढावा दिएको छ।हालको ७ नम्बर प्रदेश तथा यसअघिको सुदूरपश्चिमले अलग पहिचान पाएको हो। त्यस अगाडी सुदूरपश्चिमको सदरमुकाम सुर्खेतमा थियो। ०५१ सालमा कर्णालीमा पुल नबन्दासम्म सुदूरपश्चिम राजधानीबाट अलग रह्यो। कर्णाली नदीमा पुल निर्माण भएपछि मात्र यो क्षेत्र राजधानी काठमाडौंस‌ँग सडक यातायातबाट जोडियो। कर्णालीको पुल बनेपछि मात्र सुदूरपश्चिममा विकासको अध्याय सुरु भएको मान्न हो भने यस क्षेत्रको विकास प्रयासको इतिहास दुई दशकको देखिन्छ। यही कारणले पनि यस प्रदेशमा अनेकौं कुरिती कायमै रहेका हुन सक्छन्।

प्रकाशित : वैशाख १६, २०७५ १५:१४

Share this post