धार्मीक अतिवादमा फस्दो बंगलादेश

धार्मीक अतिवादमा फस्दो बंगलादेश

अमेरीकी मानववादी संघको बार्षिक उत्सवमा सहभागीहुन निम्ता आए अनुसार म अमेरीकाको सिकागो सहरमा आएँ । बढी विज्ञानका बिषयमा केन्द्रित भएको भेलामा केही मावन अधिकार र धर्मसँस्कृतिका पनि कुरा हुन्थे । कार्यक्रममा बाल्ने वक्ता मध्ये मध्ये बंगलादेशकी राफिया बोन्या अहमदको प्रस्तुति सुनिसकेपछि म बंगलादेशका बारेमा नलेखि बस्नै सकिन ।

विगतमा बेलायतले राज्य गरेको भुभाग मध्ये बंगलादेश मात्रै एउटा देश हो जो धर्मका कारणले हैन सँस्कृति र भाषाका कारणले अलग्गै स्थापित भएको थियो । तर अहिले बंगलादेशको राजनीति यति धमिलियो कि स्वतन्त्र अभिव्यक्ति जाहेर गर्ने माथी हप्तै पिच्छे ज्यान लिनेगरी हमला भई रहेको छ तथापी सरकार मुक दर्शक मात्र बनेको छ । हालका दिनमा बंगलादेशमा तर्कवादीहरुमाथी भई रहेको हमला बंगलादेशको वैज्ञानिक सँस्कृतिलाई अन्त्य गर्न खोजिएको भान हुन्छ । हुँदा हुँदा हत्याको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका परिवार तथा अरु धर्मका पुजारी र पादरीलाईपनि उनीहरु छानी छानी मार्न थालेका छन् । सेक्युलर सोचका साथ स्थापना भएको बंगलादेशमा आज आतंकको बादल छाएको छ । बहुसंख्यक जनता मुसलमान भएका कारण पनि ईस्लामिक भोटको खेती गर्ने राजनीतिक दलले यस विरुद्ध मुख खोल्न सकेका छैनन् ।

अतिवादीहरुको हत्या सृंखलाको शुरुवात तसलिमा नसरीनलाई मार्ने असफल प्रयासबाट भएको थियो ।  तथापी २०१५ मा ढाकामा भएको पुस्तक प्रदर्शनीमा मानववादी लेखक अभिजित रोयलाई क्रुर तरीकाले हत्या गरेपछि हत्या श्रृंखलाको शुरुवात भयो । अमेरीकामा नै बसाई भएपनि अभिजित नियमितरुपमा बंगाली भाषामा पुस्तक र ब्लग लेख्ने कार्य गरिरहेका थिए । उनको लेखनको लक्ष्य नै बंगलादेशी समाजलाई बढी तर्कसंगत र कम रुढीवादी बनाउनु थियो । रोय छोटै समयमा बंगलादेशी समाजमा सु परीचित नाम हो । बंगलादेशको समाजले अभिजितलाई युवा सेलिब्रेटी कै स्थान दिएको थियो जसरी चेतन भगतलाई भारतमा दिईन्छ । २०१५ मा अभिजित श्रीमती राफिया पुस्तक प्रदर्शनीकालागि बंगलादेशको ढाकामा गएका थिए ।

२० हजार भन्दा बढी मानिस सहभागी पुस्तक प्रदर्शनी सकेर बासस्थान तर्फ रिक्सामा फर्कने क्रममा रोय र उनकी श्रीमती राफिया बोन्या अहमदलाई अपरिचित समुहले रिक्साबाट तानेर लछारपछार गर्दै ढाका विश्वविद्यालयको ढोकामा लगि मासु काट्ने हतियारले राक्षसियरुपमा आक्रमण गर्यो । भाग्यले श्रीमती राफिया बाँचिन तर उनका श्रीमान्को अस्पताल समेत लान नपाई मृत्यु भयो । राफियाका अनुसार नजिकै रहेको प्रहरीपनि उनीहरुको हत्याको मुकदर्शक मात्रै बने । प्रहरीले अलिकति मात्रै सहयोग गरिदिएको भए मात्र आज अभिजित जिवितै हुने संभावना थियो । अभिजितले जिवनमा गरेको एउटा मात्रै पाप भनेको अभिव्यक्ति स्वतन्त्रतालाई प्रबद्र्धन गर्नु थियो । बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भएदेखि अभिजितलाई मार्ने समयसम्म आईपुग्दा  अतिवादले ग्रस्त भईसकेको थियो ।

हत्या श्रृंखला त्यहा आएर टुंगीदैन । अतिवादीहरुले हिन्दु पुजारी, क्रिश्चियन पादरी, सेक्युलर लेखक, प्राध्यापक, पत्रकार, विद्यार्थी, तेश्रो लिंगी तथा मानवअधिकारवादी लगायतलाई हिट लिस्ट नै बनाएर मार्न थाले । २०१३ पछि मात्रै बंगलादेशी अतिवादीले २२ जना भन्दा बढीको ज्यान दिईसकेका छन् । त्यसबाहेक उनीहरुले त्यहा कार्यरत ईटली र जापानका नागरिकको समेत हत्या गरिसकेका छन्  । उनीहरु सबैको हत्याको जिम्मा केही निश्चित अतिवादी संगठनले लिएका छन् । जसमध्ये मुख्य समुह भनेको अन्सरुल्लाह बंगला टिम हो जसलाई भारतबर्षको अलकाईदापनि भन्ने गरिन्छ । त्यत्रो ज्यादती बढी रहँदापनि बंगलादेशकको सरकारले गहनताका साथ दोषीको खोजी गरेको पाईदैन । अझ त्यहाँकी प्रधानमन्त्री शेख हसिनाले ईस्लाम धर्मले गरेका मानव अधिकार हनन्का बिषयमा नबोल्न स्वतन्त्रतावादीहरुलाई सम्झाईन् । हत्याको जिम्मा लिएका केही अतिवादी संगठनहरुले आफु बंगलादेशमा अतिवादी ईस्लममिक स्टेट (आईएस) को शाखा भएको बताईरहेतापनि सरकारले बंगलादेशमा आईएसको शाखा नभएको जिकिर गर्दै आएको छ । पछिल्लो समय लगातार हत्याका घटना बढेपछि बंगलादेशको सरकारलाई अन्तराष्ट्रिय दवाब पर्दै गएपछि बल्ल शेख हसिनाले यति सम्म मुख खोलेकी हुन । यतीसम्मकि हत्याको अनुसन्धान गर्ने प्रहरीकी श्रीमतिमाथी सांघातिक हमला गरी हत्या गर्दा समेत बंगलादेशका सत्ताशीन र विपक्षी नेताहरु अतिवादीहरु विरुद्ध बोल्न सकेका छैनन् । करीब ८७ प्रतिशत मुसलमान जनसंख्या रहेको बंगलादेशमा मुसलमान अतिवादीहरुले गरेको हत्या श्रृंखलाको विरोध गर्दा आफ्नो भोट नआउने डरले होला त्यहाका नेताहरु तै चुप मै चुपको स्थितिमा छन् ।

यसरी धर्मको आडमा भोट माँग्ने सँस्कारले बंगलादेश धार्मिक अतिवादको चपेटामा फसिसकेको छ । सेक्युलर राजनीतिज्ञले निर्माण गरेको बंगलादेश यमन वा पाकिस्तान कै जसरी धार्मिक अतिवादको चंगुलमा फसिसकेको स्पस्ट हुन्छ । अब यो चंगुलबाट बाहिर निस्किन निकै मुस्किल भै सकेको छ ।

नियमित हत्याविरुद्ध विश्वभर बंगलादेश सरकारको विरोध भईरहेका छन् । बंगलादेशको स्वतन्त्रता पक्षधरहरु कति पिडित छन् भन्ने थाहा पाउने अभिजित रोयले शुरु गरेको मुक्त मोना (स्वतन्त्र अभिव्यक्ति) नामक वेभसाईटलाई धेरै बंगलादेशीहरुले गरेको मायाबाट स्पष्ट हुन्छ तर जबसम्म सरकार मुस्लिम धर्मको अन्धताको भोटको आधारमा टिकिरहन्छ स्वतन्त्रावादीहरुको पराजय निरन्तर छ ।

उत्तम निरौला

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *