विद्यालको पुननिर्माणको कार्य सुचारु गराउन गाउँपालिकालाई ज्ञापनपत्र

विद्यालको पुननिर्माणको कार्य सुचारु गराउन गाउँपालिकालाई ज्ञापनपत्र

ओखलढुङ्गान्युज, कात्तिक १५ भदौरे । भदौरेका स्थानीय नागरिकहरुले आफ्नो वडामा निर्माणाधिन अवस्थामा रहेको विद्यालको पुननिर्माणको कार्य सुचारु गराउन माग गर्दै बुधवार गाउँपालिकालाई ज्ञापनपत्र पेश गरेका छन् । चिशंखुगढि गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्ण बहादुर क्याप्छाकी मगर मार्फत चिशंखुगढि गाउँपालिका प्रमुखलाई ज्ञापनपत्र बुझाईएको स्थानीय सभाका अध्यक्ष लाल कुमार आले मगरले जानकारी दिनुभयो ।

बुधवार मात्रै पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत सोच नेपालले चिशंखुगढी गाउँपालिका वडा नं. ६ भदौेरेमा गठन गरेको स्थानीय सभाको बैठक बसेको थियो । बैठकमा सहभागीहरुले लामो समय वितिसक्दा पनि निर्माणाधिन अवस्थामा रहेका भदौरेका विद्यालयको थप पुननिर्माणको काम हुन नसकेको बताएका थिए । पुननिर्माणको काम रोकिदा बच्चाहरुलाई पठनपाठनमा समस्या भएकोमा भवन बनाउन ल्याईएको गिटी, वालुवा, रड, ईटाका कारण थप समस्या भएको भन्दै यसबारेमा तत्काल पहल थालिनु पर्ने बैठकका सहभागीहरुले बताएका थिए ।

विद्यालयको पुननिर्माणको काम आधा भएको तर गत साउन महिनादेखी जिल्ला कार्यक्रम कार्यान्वयन ईकाईवाट बजेट रोकिएकोले काम नगराउन जानकारी गराएपछि आफुहरुले निर्माणको क्रममा रहेको विद्यालयको काम त्यसै थाती राखेको महेश्वर माद्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष काजी कार्कीले बताउनुभयो । ‘गत २०७४ मंशिरमा भवन परेको जानकारी भयो, फागुनमा सम्झौता भयो असारमा सकाउनुपर्ने गरि । फिल्डमा प्राविधिक ईञ्जिनियर पनि ढिला आउनुभयो । काम सुरुवात गर्न नै ढिलाई भएपछि कसरी असार मसान्तमा नै काम सक्नु ?’ प्रधानाध्यापक कार्कीले भन्नुभयो, ‘अब काम लगाउनुभनेको, बजेट आउने कि नआउने भन्ने दुबिधा छ । ल्याएको सामान समेत सड्न लाग्यो ।’

कामको ढिलाई त छदै थियो । फेरी भवन निर्माणका लागि आवश्यक पर्ने सबै सामानहरु ईञ्जिनियरहरुले भनेको ठामवाट मात्रै खरिद गर्नुपर्दा थप समस्या भएर भवन निर्माण असारमा नै सम्पन्न हुन नसकेको छात्रप्रगति माद्यमिक विद्यालयका प्रधानाध्यापक शंकर प्रसाद कोईरालाले बताउनुभयो । प्रधानाध्यापक कोईरालाको प्रश्न थियो, ‘भवन निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट, रड, ईटा, जस्ता सबै ईञ्जिनियरले भनेको ठाउ वाट मात्रै ल्याउुपर्ने । नत्र कुनैपनि सामानको भुक्तानी हुदैन भन्नुभयो । त्यसै अनुसार सामान खरिदका लागि पेश्की दियौ । जेठ १५, २०७५ सम्म ट्रष्टको सामान झरेन । बल्ल केही सामान झर्यो, उदयपुरमा ठाटीको बाटो वन्द भयो । त्यसपछि वर्षात लाग्यो । अनि भवन कसरी असार मसान्तमा नै सकिन्छ ?’

प्रधानाध्यापक कोईरालाले भन्नुभयो, ‘साउन लागेपछि पनि वर्षे विदाका बेला आफै बसेर काम लगाउछु भनेको जिल्ला कार्यक्रम कार्यान्वयन ईकाई शिक्षा ओखलढुङ्गावाट अब बजेट निकासा नहुने भएकोले काम रोक्नु भन्ने आदेश आयो । भवन निर्माणका सामानहरु चौरमा थुप्रिएर रहेका छन् । रड, सिमेन्ट ड्यामेज हुन लाग्यो । बाकी काम लगाउ भने विद्यालयको आर्थिक श्रोत छैन । माथिवाट आउने नआउने टुङ्गो छैन । नलगाउ भने भएको सामान सड्न लाग्यो । चौर र कम्पाउण्डमा जताततै निर्माण सामाग्री भएका कारण शिक्षक विद्यार्थी सबैलाई समस्या भैरहेको छ ।’

भुकम्पका कारण क्षति भएका अधिकांश विद्यालयको काम अहिले निर्माणको क्रममा रहेका छन् । निर्माणको क्रममा रहदै गर्दा विभिन्न प्राबिधिक समस्याका कारण असार मसान्तमा नै सम्पन्न हुनुपर्ने विद्यालयहरु सम्पन्न हुन सकेका छैनन् । विद्यालय पुननिर्माणको लागि प्राप्त हुनुपर्ने बजेट आफु भन्दा माथिल्लो निकायबाटै रोकिएको कारण आफुहरुले विद्यालयहलाई जानकारी गराएको जिल्ला कार्यक्रम कार्यान्वयन ईकाई शिक्षा ओखलढुङ्गाका तत्कालिन प्रमुख रेविका अमात्यले बताउनुभयो । अमात्य अहिले ओखलढुङ्गावाट सरुवा भैसक्नुभएको छ ।

ज्ञापनपत्र बुझ्दै वडा अध्यक्ष मगरले आफुले यो ज्ञापनपत्रको बारेमा तत्काल गाउँपालिका प्रमुखलाई जानकारी गराउने र अब हुने गाउँ कार्यपालिकाको बैठकमा प्राथमिकताका आधारमा यस विषयलाई उठान गर्ने बताउनुभयो । विद्यालयको पुननिर्माणमा बजेट रोकिएको कारण ढिलाई हुदा भदौरेमा मात्रै नभएर गाउँपालिका भरि नै समस्या रहेको पनि वडा अध्यक्ष मगरको भनाई थियो ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *