नयाँ संविधान र कुरीति” विषयक सभासदहरुसंग छलफल कार्यक्रम

नयाँ संविधान र कुरीति” विषयक सभासदहरुसंग छलफल कार्यक्रम

कुरीति अन्त्य समाज (कास) को आयोजना र मानववादी समाज (सोच) नेपालको सहयोगमा “नयाँ संविधान र कुरीति” विषयक एकदिने छलफल कार्यक्रम चैत्र ९ गते सोमाबार काठमाडौंमा सम्पन्न भयो । 

 अब बन्ने नयाँ संविधानमा कुरीति बिरुद्ध कस्तो खालको कानुनी व्यवस्था गर्ने तयारी हुँदैछ भन्ने जानकारी लिन र कुरीतिलाई प्रसय दिने व्यवस्था नगर्न सुझाव दिने उद्देश्यका साथ संविधान सभाका सदस्यहरुहरुसँग छलफल कार्यक्रम आयोजना गरिएको थियो । 

कार्यक्रममा बोल्दै सभासदहरुले नयाँ संविधानमा धर्म र संस्कृितका नाममा विद्यमान कुरितिलाई अन्त्य गर्न नयाँ कानुनको निर्माणसंगै कडा कार्यान्वयनको आवश्यकता रहेकोमा जोड दिए ।

व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितीका सभापति तथा सभासद रञ्जु झाले विद्यमान कुरिति अन्त्यका लागी भएका कानुहरुको प्रभावकारी कार्यान्वयन र नयाँ कानुन निर्माणको आवश्यकता औल्याउनुभयो ।

उहाँले दाइजो, जातीय विभेद, बोक्सी लगायतका प्रथा एवम् कुरीतिका कारण सबैभन्दा बढी महिलाहरु पिडित भईरहे पनि त्यस सम्बन्धि स्पष्ट कानुन नहुँदा महिलामाथी हुने हिंसाका घटनाहरुमा कमी नआएको पनि बताउनुभयो ।

बर्षौदेखिका कुरीतिलाई अन्त्य गर्न पर्याप्त कानुनको अभाव हुँदा समस्या भएको भन्दै त्यसका लागी समिती संविधानमै सुनिश्चित गर्न दाइजो, बोक्सी आरोप लगायतका विधयेकहरु चाडैँ ल्याउन लागेको जानकारी समेत उहाँले दिनुभयो ।

सभासद सीता गुरुङले नयाँ संविधानमा कुरिती अन्त्यका लागी कानुन निर्माणको पहल भइरहेको भन्दै त्यसका लागी सबैले चेतना र सकारात्मक सोच विकास र विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । 

अब बन्ने संविधान कुरीतिलाई प्रसय दिने खालको हुन्छ की भनेर शंका नगर्नुहोला भन्दै सभासद गुरुङ्ले जातिय विभेद, बोक्सीको आरोप, बहुविवाह, छाउपडी जस्ता कुुरीति अन्त्य गर्ने खालको कानुन बनाउन पहल भईरहेको बताउनुभयो ।

सभासद भरत साउँदले कुरीति अन्त्यका लागी सामाजिक आन्दोलनको आवश्कता रहेको बताए । “समयानुसार सबै कुरा परिवर्तन हुन्छ भनी पर्खेर बस्नु हुँदैन । कुरीति अन्त्यका लागी अब सामाजिक आन्दोलनको आवश्यकता छ ।”

सभासद आसा यादवले अहिलेको जमाना पनि मानिसहरुले कथित जात र अनुहारको रंगका कारण विभेदको सामना गर्नुपरिरहेको भन्दै त्यसको अन्त्य गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

सभासद सकुन्तला राजभण्डारीले नीति निर्माण तहमा पनि पुरुषकै बाहुल्यता भएकाकारण महिला र विशेष गरी कुरीति प्रभाबितको पक्षमा कानुन बन्छ भन्ने कुरामा आफु ढुक्क नभएको बताउनुभयो । तर पिडितको पक्षमा कानुन बनाउनका लागी आफुहरुले सक्दो प्रयास जारी राखेको उहाँले बताउनुभयो । 

प्रथा र परम्पराका नाममा विद्यमान कुरीतिकाकारण महिला, दलित, पछाडी पारिएका जाति, वर्ग र समुदायले निकै कष्टर जीवन बाँच्नु परिरहेको भन्दै नयाँ संविधानले उनीहरुको मर्म र भावनाको कदर गर्नै पर्नेमा उहाँले जोड दिनुभयो ।

सभासद तुलसा रानाले पनि कुरीति अन्त्यका लागी कानुन बलियो बनाउनै पर्नेमा जोड दिनुभयो ।

केही कुरीतिहरु त यतिबेला ईतिहासमामात्र सिमित जस्तो भईसकेका छन् भन्दै बोक्सी आरोप, दाइजो, घुम्टो, बालविवाह, बहुविवाह जस्ता धर्म र संस्कारका नाममा रहेका कुरीतिहरुलाई समेत ईतिहासमा सिमित राख्ने काममा आम सचेत मानिसहरु लाग्नुपर्ने बताउनुभयो । 

संविधानसभाले कस्तो खालको संविधान बनाएको खण्डमा कुरीति अन्त्य हुन्छ भन्ने कुरामा सबै समुदायबाट सल्लाह र सुझाव आउनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।

सभासद आसा यादवले आफ्नो रंग कालो र भाष मैथिली भएकैकारण अन्य समुदायको हेलोहोचो सहनुपरिरहेको बताउनुभयो ।

आफु जस्तो सभासदले समेत कथित जात, भाषा, लिंग र रंगका आधारमा हिंसाको सामना गर्नुपर्छ भने आम मानिसको अवस्थालाई सहजै आँकलन गर्न सकिने पनि उहाँले बताउनुभयो ।

मानवअधिकारकर्मी चरण प्रसाईले धर्म, संस्कार र परम्पराको नाममा रहेका कुरीति बिरुद्ध बोल्दा धर्म बिरुद्ध गएको आरोप लाग्ने गरेको बताउनुभयो । 

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *