ग्रहण बारे २००० बर्ष पुरानो विभेदकारी अन्धविश्वास

ग्रहण बारे २००० बर्ष पुरानो विभेदकारी अन्धविश्वास

प्राथमिक शिक्षा देखि नै विद्यार्थीलाई सिकाईन्छ किन चन्द्र ग्रहण वा सूर्य ग्रहण लाग्दछ भनेर । घुम्दै जाँदा सूर्यको किरणको सिधा रेखामा पृथ्वी र चन्द्रमा दुवै परेमा ग्रहण हुन्छ भन्ने हामीलाई थाहै छ । सूर्यको किरणलाई चन्द्रमाले छेकेर पृथ्वीमा अध्यारो भयो भने सूर्य ग्रहण र पृथ्वीले सूर्यको किरणलाई छेकेर चन्द्रमामा सूर्य किरण पुग्न सकेन भने त्यसलाई चन्द्र ग्रहण भनिन्छ । पृथ्वी र चन्द्रमा निरन्तर घुमिरहने भएकाले ग्रहण नियमित झै भई रहन्छ । 

यति सामान्य विज्ञानलाई समेत बुझ्न नसकेर हाम्रो समाज करिब २००० बर्ष अघिदेखिको अन्धविश्वासलाई बोकेर हिँडिरहेको देख्दा आश्चर्य लाग्छ । सर्वसाधारणको त कुरै छाडौ हिजोका नियमित पत्रपत्रिकामा समेत चन्द्र ग्रहण लागेको बेलामा के गर्नु हुँदैन भन्ने शिर्षकमाम खाना खान नहुने, कुन कुन राशीलाई असुभ हुने, कुुन राशिलाई कन्या लाभ हुने र कसलाई श्री प्राप्त हुने जस्ता हास्यास्पद अन्धविश्वासका फेहरिस्त छापिएको पाईयो । तर्क बिहिन र असंभव यस्ता अन्धविश्वासका पछाडी करिब करिब सम्पुर्ण समाज लागेको छ । सायद पत्रपत्रिकाका यस्ता आलेख मानिसले बढी पढ्ने भएकाले होला यस्ता बिषयवस्तुले बढी स्थान पाउने । 

ग्रहणसँग जोडिएको अन्धविश्वास विभिन्न देशमा अलग अलग छन् । हिन्दु धर्ममा ग्रहणलाई राहु र केतु ग्रहको कथा बनाईएको छ । चीन, हंगेरी, साईबेरिया तथा बर्मामा विभिन्न कथा कहानीमा जोडिएको छ । तर ग्रहणका बारेमा यत्तिका धेरै अन्धविश्वासहरु रहनुका पछाडी त्यसका बारेमा रहेको मानविय अज्ञानता नै हो । किनकी जब कुनै कुराकाबारेमा ज्ञान हुँदैन तब त्यसदेखि डर लाग्दछ र त्यो डरबाट मुक्क्ति पाउन काल्पनिक कथाहरु सृजना गरिन्छ जसलाई समाजले सत्य हो भनि नानाथरि रीति र व्यवहार गरिरहेको हुन्छ । ग्रहणसँग जोडिएका अन्धविश्वासहरुपनि मानिसको त्रासको मानसिकता हो । 

हिन्दू धर्म शास्त्रको महत्वपुर्ण भागवत पुराणका अनुसार दैत्यहरुसँगको युद्धमा हार्न लागेपछि देवताहरुले ब्रम्हासँग आशिर्वाद मागे । ब्रम्हाले विष्णुको नेतृत्वमा समुद्र मन्थन गरि अमृत निकाल्न र त्यसलाई खाएर अमरत्व प्राप्त गर्न सल्लाह दिए । तर दैत्यहरु बलवान र शहासि भएकाले पनि होला उनीहरुको सहायता बिना कायर र कपटीपुर्ण देवताहरुले समुद्र मन्थन गरि अमृत निकाल्ने हिम्मत गर्न सकेनन् । विष्णुको मध्यस्थतामा देवता र दानव दुवैले बाँडेर खाने सर्तमा समुद्र मन्थन गरियो । तर देउताका कपटीपुर्ण राजा ईन्द्रले विगतको शर्तलाई भंग गर्ने चाल चले । त्यसै अनुसार दानवलाई अमृत नदिई देउताहरुले मात्रै बाँडेर खाने प्रपञ्च गरियो । देउताहरुले मात्रै बाँडेर खाने अन्यायपुर्ण तयारी देखेपछि दानव मध्येका सदस्य राहुले आफ्नो रुप बदली चन्द्र र सूर्य देउताको बिचमा लाईनमा बसेर अमृत थापे  । राहु देवताका बिचमा आएको देखेपछि सूर्य र चन्द्रमाले विष्णुलाई सूचना दिए । राहुले अमृत खान हात थापेको देखेपछि विष्णुले राहुको टाउको काटिदिए । त्यतिन्जेल सम्ममा राहुले अमृत निल्न भ्याएका थिए । अमृत खाई सकेको हुनाले राहु अमर त भए तर लगत्तै विष्णुको चक्रले टाउको र शरीर अलग भै सकेको थियो । सूर्य र चन्द्रमाले पोल लाईदिएकाले राहुका बारेमा विष्णुले थाहा पाएका थिए । तसर्थ राहु सधैँ सुर्य र चन्द्रमाको शत्रु भए । तसर्थ, राहु सधैँ सूर्य र चन्द्रमालाई पराजित गर्न लागि रहेका हुनछन् भन्ने अन्धविश्वास छ । त्यसै अनुरुप सूर्य वा चन्द्र ग्रहणलाई राहुले सूर्य वा चन्द्रमालाई खाएको भनि मान्ने अन्धविश्वास छ । केतु भनेको राहुको शरिर मानिन्छ । 

कतिपयले राहुलाई तल्लो जातको भनेको पाईन्छ । हुनत हिन्दु शास्त्रमा ब्राम्हण र देउता बाहेक सबै मानिस अछुत नै हुन् । हिजोकै चन्द्र ग्रहणका समयमा कतिले चन्द्रमा तर्फ फर्केर छाड्दे चमारे छाड्दे भनेको सुन्यौँ होला । नेपाली धार्मीक समाजले चमार जातिका मानिसलाई अछुत मान्दछ । अथवा दलित अथवा चमारले सूर्यलाई छोएको हुनाले चन्द्र वा सूर्य अछुत भयो भनेर उक्त समयमा धर्तीमा राखिएको पानी, खाना लगायत शरीर नै पनि बिटुलो हुन्छ भन्ने अन्धविश्वास छ । खुलेआम दलितहरुको आत्मसम्मानको धज्जी उडाईएको छ । यसतर्फ दलित समाजले खासै आवाज उठाएकोे पाईन्न । 

अतः ग्रहणको खास कारणका बारेमा बहस गर्न छाडेर यस्ता अन्धविश्वासलाई आजपनि मुख्य संचार माध्ययमहरुले स्थान दिनाले हाम्रो समाजले ज्ञान र विज्ञानको क्षेत्रमा तरक्की गर्न नसक्नुको कारण अनुमान गर्न सकिन्छ । अहिलेका हाम्रा बालबालिकाले ग्रहण लाग्नुको खास कारण भन्दापनि छोड्दे चमारेको पछाडी लागेर समय व्यतित गर्ने खतरा यथावत छ । तसर्थ कम्तिमा आधुनिक शिक्षा हाँसिल गरेका हाम्रा पत्रकार साथीहरुले अन्धविश्वासलाई भन्दा विज्ञान र वास्तविकतालाई प्राथमिकता मात्रै दिएमा यो समाजको सोच परिवर्तन हुन खासै समय लाग्ने थिएन ।

उत्तम निरौला

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *