कुरीति : प्रभाव र अत्यावश्यकता विषयक अन्तरक्रिया कार्यक्रम

मानवबादी समाज (सोच) नेपालको १२ औं साधारण सभाको अबसरमा २०७५ आश्विन १२ गते "Harmful practice in society (Kuriti):Impact and Urgency" बिषयक बृहत अन्तरकृया कार्यक्रम भयो । कार्यक्रममा लेखक, साहित्यकार, कानूनविद्, प्राध्यापक, वैज्ञानिक, समाजशास्त्री, राजनितिक नेता, सामाजिक अभियन्ता, विद्यार्थी, शिक्षक, आदिको सहभागिता रहेको थियो । कार्यक्रमको शुरुवात सोच युवा समुहकी सदस्य रश्मी पौडेलले गर्नुभएको थियो । वहाँले नेपाली समाजमा व्याप्त धार्मिक अन्धबिश्वास र त्यसमा आधारीत कुरीति, कुसंस्कार, बारे जानकारी गराउदै त्यस प्रकारका रुढी परम्पराको अभ्यासबाट घटेका हिंसाका घटनाको तथ्याकं प्रस्तुत गर्नुभयो । हिंसाग्रस्त समाजमा मानिस प्रताडित हुने कहालीलाग्दो अवस्थाबाट मुक्ति पाउन सबैले प्रयास गर्नुपर्ने कुरा ब्यक्त गर्नुभएको थियो । त्यसपछि अन्तरक्रिया कार्यक्रम शत्र २ चरणमा सम्पन्न गरिएको थियो ।

प्रथम सत्र

प्रथम शत्रको सहजीकरण सोच नेपालका संस्थापक तथा अन्तराष्ट्रिय मानववादी महासंघ का कार्यसमिति सदस्य श्री उत्तम निरौलाले गर्नुभएको थियो । निरौलाले अन्तरक्रियामा उपस्थित सहभागिहरुलाई स्वागत गर्दै विषयबस्तु माथि प्रकाश पार्नुभएको थियो । प्रथम शत्रका अतिथी बक्ता समाजशास्त्री डा.खगेन्द्र प्रसाई, अधिबक्ता सुनिता रेग्मी र बरिष्ठ सचांरकर्मी आरती चटौत विज्ञ समुह रहनु भएको थियो ।

समाजशास्त्री डा.खगेन्द्र प्रसाईले धर्म, अन्धबिश्वास, कुरीति समाजमा पुरातनकाल देखि निरन्तर अभ्यासमा रहिररहेकोले समाज बिकासमा बाधा पु¥याइरहेको तथा यसबाट मानिस प्रताडित बनेको बताउनु भयो । मानिसमा ज्ञान, बिज्ञान र चेतनाको क्रमिक विकास हुदैं जादाँ धर्म, अन्धबिश्वास, कुरीति समाजबाट बिस्थापित हुदैं जाने वताउनु भयो । उहाँले छाउपडी, छुवाछुत, बोक्सी प्रथा तथा अन्य विविध कुसंस्कृतिको समष्टि नै धर्म भएकोले कुसंस्कृति र धर्मको बिश्वासको आधार एउटै रहेको बताउनु भयो । अन्धविश्वास र कुसंस्कृति सबै प्रमाण बिहिन भएपनि समाजको आर्थिक तथा समाजिक परिवेशले बचाइराख्न मद्दत गरिरहेको बताउनु भयो । मानिसको जीबनपद्धती सहज हुने र सामाजिक सुरक्षा (शिक्षा, स्वास्थ्य, रोजगारी) सुनिश्चित हुने हो भने मानिस धर्मको शरणमा नजाने उहाँको जिकीर थियो । उदाहरणको लागि ज्ञान, विज्ञान र चेतनाले विकसीत मानिएको अमेरिका र युरोपियन देशको तुलना गर्ने हो भने अमेरिकामा भन्दा युरोपियन देशमा कम सख्यामा मानिस चर्च जाने गरेको जानकारी दिनुभयो । जसको कारण युरोपमा सामाजिक सुरक्षा (शिक्षा, स्वास्थ्य, रोजगारी) अमेरिकामा भन्दा अधिक सुनिश्चिता छ । त्यसैले कुसंस्कार र कुरीति समाजबाट अन्त्य गर्नको लागि राज्यले नागरिकको सामाजिक सुरक्षाको प्रबन्ध सुनिश्चत गर्न जरुरी रहेको बताउनु भयो । राज्य नागरिकको जीवनप्रति जिम्मेवार नहुँदा पुँजिबादले धर्म, कुरिती, कुसंस्कारलाई बिज्ञान र प्रबिधीको उपयोग गरी नाफा कमाउने साधन बनाइरहेकोले ज्ञान, बिज्ञान र प्रबिधीकोे बिकाससगंै त्यसमा जनताको पहँुच एबं राज्यले जनताको आधारभुत आबस्यकता पुर्तिको सुनिश्चितता गर्न सकेको खण्डमा धर्म, अन्धबिश्वास, कुरीति तथा यस्ता बिश्वास र मान्यताबाट सृजना हुने हिंसा समाजबाट अन्त्य हुने जिकीर गर्नुभयो ।

कानूनविद सुनिता रेग्मीले कुनै पनि प्रथा समाजको आवश्यकताले निर्माण गर्ने तथा  निरन्तरता पाउने गरेको बताउनु भयो । तर ती प्रथाहरु समाजको अहितमा जब प्रयोग हुन्छन तिनीहरुले समाजमा विभेद, उत्पीडन र हिंसाको रुप ग्रहण गर्ने गरेको बताउनु भयो । प्रथा, कुरीति परम्पराको स्रोत धर्म वा धर्मशास्त्र हुन् । धर्मशास्त्रमा आज पनि महिला माथिको अत्याचारको घटनाहरुलाई प्राकृतिक ढंगले व्याख्या गरिएकोले ती अत्याचारका घटनाहरुलाई समाजले प्रथाको रुपमा अपनाउदै आइरहेको बताउनु भयो । उहाँले समाज यस्ता प्रथाहरुबाट मुक्त हुन खोजिरहेको बताउदै प्रथमत धर्मशास्त्रमा उल्लेख भएका महिला माथिका उत्पीडनका विवरणहरुलाई धार्मिक गुरु र पण्डितहरुले सच्याउन आवश्यक रहेको बताउनु भयो । धर्मशास्त्रले पुरुषलाई श्रेष्ठ स्थान दिएर समाजमा पितृसतात्मक सत्ता कायम गरेको बताउनु भयो । समाजको विकासक्रममा निजी सम्पतिको उत्पति सुरु भए पछि पुरुषले आफ्नो सम्पति पछिल्लो पुस्तामा हस्तान्तरण गर्ने सोचले सन्तानको पहिचानको लागि पुरुष हुनुपर्ने संरचना बनाई महिलालाई निश्चित घेरामा सिमित गर्ने कार्यको थालनी भएबाटनै सन्तानको वंशजमा  पुरुषको स्थान माथि हुन पुगेको बतायनु भयो । अहिले पनि नागरिकताको सबालमा बाबु किटान हुनुपर्ने कारणले आमाको अस्तित्व स्वीकार नगरिएको जिकीर गर्नु भयो । समाजमा धर्म, प्रथा, परम्परा एवम् अन्धविश्वासमा आधारित पितृसतात्मक राज्य संरचनाले महिलालाई उत्पीडन र हिंसा गरेको बताउदै सर्वोच्च अदालतले लैंगीक हिंसा र उत्पीडन अन्त्य गर्न कुरीतिको अनुसन्धान गरी कानुन बनाउन र कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन गरेतापनि सरकारले हालसम्म कुनै पहल नगरेको बताउनु भयो । त्यसैले समाजको प्रगतिको बाधक यस्ता प्रथाको अन्त्यका लागि अग्रगामी वैज्ञानिक नीति, राज्यका सबै निकायमा महिलाको पहँुच र त्यसको लागि सबैको साझा प्रयास अनिर्वाय रहेको बताउनु भयो ।

संचारकर्मी आरती चटौतले चिन्तन व्यवहार र आचरण नै संस्कृति रहेको बताउदै  समाजमा संस्कृतिको सकरात्मक वा नकरात्मक दुबै असरको अध्ययन गरी परिष्कृत गर्दै लैजानु पर्नेमा जोड दिनुभयो । वर्तमान नेपाली समाज पितृसत्तामक सोच, चिन्तन, र व्यवहारबाट परिचालित छ । महिलाको समग्र जीवनपद्धति पुरुषका आधारमा निर्देशित हुन बाध्य पारिएको छ । पुरुष विना महिलाको स्वतन्त्र पहिचान छैन । महिलाको स्वतन्त्र पहिचान हुने सामाजिक साँस्कृतिक परिवेश तयार नहुदासम्म महिलामाथिको उत्पीडन र हिंसा निरन्तर भइरहने बताउनु भयो । यस प्रकारको महिला उत्पीडन र हिंसाको अन्त्यकालागि सामाजिक चिन्तन, व्यवहार परिवर्तन गर्न संचार क्षेत्रको अंहम भूमिका रहने भएतापनि संचार गृहको नेतृत्व वा संचार क्षेत्रमा निर्णायक भूमिका राख्ने अधिकांश पात्र पितृसतात्मक सोच, चिन्तन र व्यवहारबाट मुक्त हुन नसकेकोले संचार क्षेत्रले लैगिक विभेद र हिंसा घटाउन  अपेक्षित भूमिका खेल्न नसकेको बताउनु भयो । अझ पछिल्लो समयमा खुल्ला बजार अर्थतन्त्रको कारणले संचार माध्यमले महिला र महिलाको सुन्दरतालाई नाफा कमाउने साधन बनाइरहेकोले महिलाको क्षमता भन्दा सुन्दरतालाई स्थान दिएर कमजोर बनाइरहेको जिकीर गर्नु भयो । लैगिक हिंसा अन्त्य गर्न पितृसत्तामक संरचना, सोच, आचरण तथा महिला हिंसा निम्त्याउने कुरीतिको अन्त्य, महिलाको प्रतिनिधित्व समानुपातिक हुनु आवश्यक रहेको बताउनु भयो ।

दोस्रो सत्र

अन्तरकृयात्मक कार्यक्रमको दोस्रो शत्रको सहजीकरण संचारकर्मी लोग्श्वरी कुवँरले गर्नु भएको थियो । यस सत्रका अतिथि वक्ताहरु प्राध्यापक तथा बरिष्ठ बैज्ञानिक डा.दिनेश भुजु, साहित्यकार कृष्ण धारावासी, नेपालि कंग्रेस का.केन्द्रीय सदस्य जीवन परियार, महिला नेतृ तथा पुर्व मन्त्री कल्पना धमला, महालेखा परिक्षकको कार्यालयका सहसचिव दामोदर पुडासैैनी रहनु भएको थियो ।

साहित्यकार कृष्ण धारावासीले धर्म पौराणिक कालको समाज व्यवस्थापन गर्ने राजनीति वा विधान तथा धर्मशास्त्रका कृति महाआख्यान, आख्यान भएकोले समाजमा तिनीहरुको अनुसरण कुनै सन्दर्भ र आवश्यकता विना नै गर्दा विभेद र हिंसाले प्रश्रय पाइरहेको बताउनु भयो । धार्मिक ग्रन्थ र धर्ममा आधारित प्रथा वा संस्कारलाई समाजको आवश्यकता र औचित्यताको आधारमा परिष्कार गर्दे लैजानु पर्नेमा उहाँले जोड दिनुभयो । समाजमा अहिले पनि छाउपडी, दहेज, छुवाछुत, बोक्सी प्रथा कायम रहेको, विधवा महिलाप्रतिको धारणा संकुचित भएकोले अन्धविश्वासमा आधारित शोषणकारी प्रथा वा कुरीतिहरु समाजमा व्याप्त रहेसम्म नेपाली समाज सभ्य र सुसंकृत हुन नसक्ने बताउनु भयो । शिक्षा, चेतना विस्तार हुँदै जाँदा यस्ता संस्कारहरु हट्दै जाने र पढेलेखेका सचेतहरुको संख्या बढ्दै गएता पनि पुरातन सामाजिक प्रचलनहरु अभैmँ समाजमा अभ्यासरत हुनु विडम्वना भएको बताउनु भयो । समाजको कुरीतिको अन्त्यका लागि सुरुवात आफैबाट गर्नपर्ने बताउदै परिवर्तनको लागि भाषण गर्ने, लेख्ने, तर्क गर्ने मात्र नभई प्रत्यक्ष रुपमा सोच, चिन्तन, आचरण र व्यवहारमा अभ्यास गर्नु अहिलेको आवश्यकता भएको धारणा राख्नु भयो ।

प्राध्यापक तथा बरिष्ठ बैज्ञानिक डा. दिनेश भुजुले वैज्ञानिक चिन्तन, सोच राख्नु र विज्ञान सम्बन्धि क्रियाकलापमा भाग लिनु फरक कुरा भएको बताउनु भयो । नेपालमा प्राकृतिक विज्ञान वा विज्ञान विषय सम्बन्धि अध्ययन गरेका जनशक्ति करिब नब्बे हजारको संख्यामा रहेता पनि समाजमा विज्ञानको महत्वलाई ग्रहण नगर्नु र समाज धार्मिक अन्धविश्वास र रुढि परम्परामा चलिरहनु दुखद भएको धारण राख्नु भयो । समाजमा वैज्ञानिक चिन्तन र संस्कृतिको व्यवस्थित अभ्यासको थालनी नहुँदा समाजको विकास र प्रगतिमा अहम महत्व राख्ने विज्ञान, प्रविधि र नवीन खोज अनुशन्धानका क्षेत्रमा उल्लेखनीय प्रगति हुन नसकेकोले नेपाली समाज अझै पनि पछौटे र गरिबीमा बाँचिरहेको बताउनु भयो । विकसित युरोपेली समाजमा वैज्ञानिक प्राविधिक क्षेत्रका साथै औद्योगिक क्रान्ति हुँदा नेपाली समाज अन्धकारमा रहनुले पनि नेपाली समाजमा वैज्ञानिक चिन्तन, दृष्टिकोण एवम् संस्कारको विजारोपण हुननसक्नाले नेपालमा वैज्ञानिक सोच, चिन्तन र दृष्टिकोणको क्षेत्रमा उल्लेखनीय कार्य नभएकोले यसको विकास र विस्तार हुन नसकेको बताउनु भयो । आज पनि विज्ञान विषय अध्यापन वैज्ञानिक चिन्तन, दृष्टिकोण एवम् संस्कार सहित नहुँदा नयाँ पुस्ता विज्ञान र धर्मलाई छुट्याउन अस्पष्ट भइरहेका र यसले नेपाली समाजलाई अझै पछाडि लैजान सहायता गरिरहेको बताउनु भयो ।

महालेखा परिक्षकको कार्यालयका सहसचिव दामोदर पुडासैनीले धर्म धेरै काल अगाडिको समाजको उपज भएको र धर्मले संसारका सबै समाजमा शासन गरेको धारणा राख्नुभयो । राज्य संचालनमा धर्मले विगतमा भूमिका प्रदान गरेता पनि मानिसलाई उत्पीडन, हिंसा र शोषण गरेको कारणले राज्यहरु कालन्तरमा धर्मबाट अलग हुन पुगेको  बताउनु भयो ।  नयाँ संविधान २०७२ अनुसार नेपाल धर्मनिरपेक्ष राष्ट्र बनेता पनि राज्यले अझैं पनि राज्य कोषको ठूलो हिस्सा धर्म सम्बन्धि क्रियाकलापमा खर्च गरिरहेको बताउनुभयो । राज्यकोष धार्मिक क्रियाकलापमा खर्च गर्नुले समाजमा कुरीतिबाट हुने विभेद र हिंसालाई प्रवद्र्धन गरिरहेको बतायनु भयो । धर्म गुरु र राजनैतिक नेताका बिच अघोषित सम्बन्ध हुनुले धर्म निरपेक्ष राज्य व्यवहारता सार्थक हुन नसकेको तथा धार्मिक क्रियाकलापमा हुने राज्यकोषको खर्चले भ्रष्टाचारलाई बढवा दिइरहेको बताउनुभयो । वैज्ञानिक सोच, चिन्तन र संस्कारको आधारमा आधुनिक राज्य संचालनको विधि अभ्यास गर्नका लागि राज्यलाई धर्मबाट अलग गरेतापनि राजनीतिक, प्रशासनिक क्षेत्रमा रहेका व्यक्तिहरुको पुरातन सोच र व्यवहारमा परिवर्तन आउन नसकेको कारण रुढि परम्पराको निरन्तरता पाइरहेको जीकिर गर्नुभयो ।

नेपालि कांग्रेसका केन्द्रीय सदस्य नेता जीवन परियारले दलित समुदाय राज्यले कानुन नै निर्माण गरेर बहिष्करण गरेको बताउदै धार्मिक रुपमा हिन्दु वर्णाश्रम व्यवस्थाबाट निसृत यो समस्या ३५ सय वर्षदेखि भारतीय महाद्विपमा अभ्यासरत रहेको तथा नेपालमा विभिन्न काल हुँदै पछिल्लो वि.सं. १९१० मा मुलुकी ऐन नै बनाएर विभेद थालिएको धारण राख्नु भयो । परिणामस्वरुप दलितहरु माथि छुवाछुत मात्र नभई आर्थिक, सामाजिक एवम् राजनीतिक रुपमा समाजको तल्लो तहमा सिमित हुन पगेको बताउनु भयो । २०६२÷६३ को जनआन्दोलनपछि बनेको अन्तरिम संविधान २०६३ ले मुलुकलाई छुवाछुत मुक्त राष्ट्र घोषणा, २०६७ मा छुवाछुत कसुर तथा दण्ड सजाय ऐन पारित, दलितको थर परिवर्तनका लागि ऐन बन्नु सकारात्मक कुरा भएको तर दलितमाथिको विभेद र हिंसा कायमनै रहनुले समाज हालसम्म पनि पुरातन धारणा, अन्धविश्वास हटि नसकेको बताउनु भयो । शिक्षितहरुको संख्या विस्तार भइरहँदा समेत नेपाली समाजमा जातीय भेदभाव र छुवाछुत प्रथा कायम हुनुले नेपाली समाजको विकास र प्रगतीको पथ रोकिएकोले राज्य गम्भीर नभएसम्म छुवाछुत समस्या अन्त्य नहुँने बताउनु भयो ।

महिला नेतृ कल्पना धमलाले महिला हिंसा वा लैङ्गीक उत्पीडन ऐतिहासिक समाजको आर्थिक, समाजिक र राजनैतिक परिवेशबाट सृजना भएको समस्या भएकोबताउनु भयो । नेपाली समाज पितृसत्तामक सोच, चिन्तन र धारणाबाट चलिरहेकोले आधुनिक भनिएको समाजमा अझै महिलामाथि चरम उत्पीडन भइरहेको तथा राजनैतिक दलहरुले हिजोका दिनमा व्यवस्था परिवर्तनको आन्दोलनमा महिलाका मुद्धा समाबेश गरेतापनि व्यवस्था परिवर्तन पछि संरचनात्मक ढंगले संबोधन गर्न नसकिरहेको बताउनु भयो । विशेष गरी नेपालको राजनैतिक वृतमा महिलाको हक, अधिकार सुनिश्चित गर्ने स्पष्ट इच्छा शक्ति नहुँदा महिलाहरुको सशक्तीकरणमा उल्लेख्य परिवर्तन हुन नसकेकोले महिलाहरुलाई आर्थिक, सामाजिक र राजनैतिक रुपमा समानुपातिक ढंगले सहभागी गराई अगाडि बढ्न सकेमा लैङ्गीक हिंसा अन्त्य गर्न सकिनेमा विश्वास व्यक्त गर्नुभयो । यसका लागि राज्यले महिलामुखी वुहत कार्यक्रमा तर्जुमा गरी अभियान मूलक ढंगले अगाडि बढ्न जरुरी रहेको बताउनु भयो ।

वक्ताको भनाइपछि सहभागीको जिज्ञासा तथा सुझाव व्यक्त गरेका थिए । कुरीति, अन्धविश्वास एवम् धार्मिक क्रियाकलापबाट समाजमा उत्पीडन भोगिरहेका समुहहरु एक्ला एक्लै नभई सामूहिक र संगठित तबरबाट आफ्ना आवाजहरु उठाउनु पर्नेमा अधिकांस सहभागिले जोड दिनु भएको थियो ।  हाल नेपाली समाजमा समावेशीताको अभ्यासले उत्पीडितहरुको आवाज संगठित तबरबाट उठ्ने क्रम सुरु भएको तथा कुरीतिलाई बढवा दिने पाठ्यक्रमका सामग्रीहरु हटाउन पहल गर्नु आवश्यक भएको र हिंसाको अन्त्यको लागि तथ्याङ्को आधारमा अगाडि बढ्न सकेमा उत्पीडितका पक्षमा न्याय शिघ्र हुन मद्यत पुग्ने धारण राखेका थिए ।

धार्मिक अन्धविश्वास, कुरीति र पितृसत्तामक राज्य संरचनाले निमार्ण गरेको सोच, चिन्तन र व्यवहारले महिलामाथि हिंसा भइरहेकोले  महिलाहरुलाई आर्थिक, सामाजिक र राजनैतिक रुपमा समानुपातिक ढंगले सहभागी गराई अगाडि बढ्न सकेमा लैङ्गीक हिंसा अन्त्य गर्न सकिनेमा सहभागिहरुले जोड दिनुुभयो ।

कार्यक्रममा १५० भन्दा बढीको उपस्थिति रहेको थियो ।

All Rights Reserved with sochnepal.org.2018.

We're on social networks