Welcome

Warm greetings from the Society for Humanism (SOCH) Nepal, a secular Humanist organization based in Nepal, which aims to promote humanism and a humanistic life stance within Nepal. SOCH Nepal has a wide representation in Nepali society, including marginalized and female members within its executive board. SOCH Nepal was founded in 2005; within its short life, SOCH Nepal has already earned national and internal recognition within the humanist movement. The society is devoted to promoting humanism according to the Amsterdam Declaration 2002; SOCH has already carried out various activities to create awareness of humanism among the Nepali people.

हिन्दुत्वको भयानक आयात

 म सानो छँदा मलाई मेरा बुवा आमाले हामी हिन्दु हौँ छोरा भनि सिकाउनु भएको थियो । घर मुनी हजुरबुवाले बनाउनु भएको शिवालय मेरालागी सबै भन्दा पवित्र तिर्थस्थल थियो । उक्त शिवालयको छानासम्म हाँगा फैलिएको अम्बकको रुखमा चढेर पाकेका अम्बक टिप्दा आफ्नो पाईताला मुनी शिवजी पर्ने डरले त्यो अम्बकको शिवालय पट्टीको हाँगामा म कहिल्यै चढ्दिन थिएँ । 


घर माथीको मुल बाटोमा अर्का देवता थिए गणेश । वरिपरी ढुंगाको गाहे लाएर बनाएको आकर्षक गणेशस्थान मेरालागी अर्को तिर्थस्थल थियो । मेरो हरेक दिनको २ घण्टाको स्कुल यात्रा उक्त गणेशलाई दाहिने पारी परिक्रमा गरेर शुरु हुन्थ्यो । त्यसबाहेक डाँडा माथिको देवीस्थान मेरालागी अर्को तिर्थस्थल थियो । बर्षमा एकपटक पारी मगर गाँऊमा रहेको देवीस्थानमा हामी पूजा लगाउँदथ्यो भने दुवै देवीस्थानमा हामीले दर्जनौ परेवा र बाख्राको पाठी काट्यौँ होला भाकल पुरा गर्न । यस बाहेक विष्णु, कृष्ण र रामका बारेमा मैले पुराण र आमाले पढेको कृष्ण चरीत्र र रामायण सुनेका भरमा थाहा पाएको थिए ।  


यी सबै मेरा घर बाहिरका तिर्थस्थल थिए । तथापी मेरालागि सबै भन्दा ठुलो देवस्थल भनेको आफ्नै घरको पहिलो तल्लामा रहेको पुजा कोठा थियो । उक्त पुजा कोठामा ढुंगाको शीला बनाई कुल देवतालाई स्थापना गरिएको थियो । त्यो कुल देवता मेरालागि सबैभन्दा ठुला देवता लाग्थ्यो । कुल देवता रिसाए भने जे पनि विध्न हुन सक्दछ भन्ने मैले बुझेको थिएँ । त्यसमा पनि विभिन्न समयमा राखिने कुलका धामीले घरमा भएका विभिन्न विध्नका बारेमा कुरा गर्दथे । हाम्रो परिवारको पहिलो प्राथमिकता कुललाई खुसी राख्ने हुन्थ्यो । हाम्रो कुललाई टेडी मष्ट भनिन्थ्यो । घरमा मिठो पाक्दा, शुभ काम थाल्दा पहिले कुललाई चढाएर खुशी पार्नु पर्दथ्यो । 


दसैँ तिहार पछि हाम्रालागि सबैभन्दा ठुलो चाड भनेको कुल पुजा हुन्थ्यो । त्यसमापनि देवाली कहिले आउँछ भनी हामी महिना गनेर बस्दथ्यौँ । दसैँ र देवालीमा गरिने विभत्स प्राणी हत्यालाई म देवतालाई खुशी पार्न गर्नैपर्ने कार्य सम्झन्थे । तँ सानै छस् खसी बोकालाई च्वाट्ट काटेको हेर्न हुँदैन भन्नु हुन्थ्यो मेरी आमा । घरमा लगाईने पुराण, रुद्री पुजा, श्राद्धहरु मेरालागी अर्का महत्वपुर्ण पर्व थिए । र अर्को शब्दमा भन्नु पर्दा म हिन्दु भएवापत मेरो जीवनदर्शन त्यहि नै थियो । मलाई लाग्छ केही दशक अघि गाँऊमा जन्मेका प्राय हिन्दु नेपालीको जीवन पनि यसैगरी चल्दथ्यो होला । 


केही समयपछि राम्रो स्कुलको खोजीमा म सप्तरी जिल्लामा पढ्न पुगेँ । त्यहापनि धेरै नयाँ मानिससँग मेरो घुलमिल भयो । त्यहाँपनि सामान्यतया शिव, विष्णु, काली र हनुमान अनि सखडा लगायत  रैथाने देव देवीको पूजा गरेको पाएँ । मेरालागी त्यहापनि करिब उस्तै धर्म र चाड पर्व थिए । अध्ययन कै चहारीमा काठमाण्डौ आउँदापनि यहाँका नेवारी समुदायले आ आफ्नै टोलमा भएका मन्दिरम झ्याली पिट्दै मैथिलि भाषाका भजन गाएको सुन्दा रमाईलो लाग्दथ्यो । त्यो गाउने तरिका फरक थियो तथापी उनीहरुपनि केही स्थानीय र समग्रमा उनै देवी देवतालाई पुजा गरिरहेका देखिन्थे जो मेरापनि देवता हुन् ।  


समय बित्दैजाँदा आजभोली नेपाली समाजले आफ्ना कुल र स्थानीय देवी देवतालाई मान्ने धर्म करिब करिब छाडेको देखिन्छ । त्यसको सट्टा भिन्न धर्मलाई आफ्नो समाजमा आयात गरेको देखिन्छ । धेरै हिन्दुहरु अब हिन्दु नभएर क्रिश्चियन धर्ममा लागेको एउटा बिषय त छँदैछ । त्यसमापनि हिन्दुले आफ्नो कुल र समाजसँग जोडिएको हिन्दुत्वलाई चट्क्कै बिर्सेर आयातित हिन्दुत्वको फेसनमा फसेको पाईन्छ । 


पहिले टोल टोलमा शिव, काली, विष्णु, ईत्यादीका मन्दिरहरु बन्ने क्रम रोकिएर अब अनौठा बाबा र माताका मन्दिरहरु बन्ने क्रम बढेका छन् । भारतको कुनै स्थानमा जन्मेका बाबा वा माताहरु अहिले नेपालको मौलिक हिन्दुत्वलाई सक्न क्रिश्चियन भन्दापनि बेगसँग काम गरिरहेका छन् । पृथ्वी नारायण शाहले शुरु गरेको यज्ञवल्यक्य पुराण त हामी सुन्थ्यौँ नै । अब यी आधुनिक मठमा तिनै अनेक बाबाको चाकरीमा बनेका श्लोक गाईन्छ । टोल टोलमा चर्चसँगै ओम् साई केन्द्र, प्रणामी केन्द्र, राधेराधे केन्द्र, ब्रम्ह कुमारी केन्द्र लगायत विभिन्न केन्द्रको स्थापना गरिएको छ । हुँदा हुँदा अहिले भारतका रामदेव यादव (रामदेव बाबा) एक महत्वपूर्ण हिन्दु केन्द्र बनेका छन् । ति विभिन्न केन्द्र नेपालमा बनेका विचार हैनन् बल्की सबै आयातित धर्म हुन् । तथापी उनीहरु आफुलाई हिन्दु भएको हवाला दिन्छन् । 


हाम्रो मौलिक हिन्दुत्वलाई कमजोर पार्न क्रिश्चियनका मिशनले भन्दापनि यी मठ र मठाधिशले ठुलो भुमिका खेलेका छन् । क्रिश्चियनका नाममा नेपालमा अरबौँ रुपैया भित्रिएको पक्का हो । यस तर्फ सजग रहनु पर्दछ नै । तर मठाधिश र बाबाहरुले नेपालमा आयात गरिदिएको हिन्दुत्वका कारण नेपालबाट बार्षिक १४ अर्ब रुपैया विदेशीएको वास्तविकता अझ तितो छ । त्यो भन्दापनि डर लाग्दो कुरा त यी मठहरुले बषौँदेखिको हाम्रो सँस्कृतिलाई समाप्त पार्दै हिन्दु हिन्दुलाई फुटाई रहेका छन् । अब आफ्नै जीवनमा फर्केर हेर्दा कैयौ नेपालीले आफ्नो मौलिक धर्म हराई सकेका छन् । अब मैले मेरा छोराछोरीलाई सिकाउँन मसँग शिवालय छैन, गणेशस्थान छैन, देवीस्थान छैन छ त केवल यीनै छद्मभेदी विदेशी बाबाले बनाएका मठहरु छन् जुन ति बाबाको चरण छुने, चाप्लुसि गर्ने, उनीहरुलाई चन्दा उठाउने, देखासिखि गर्ने केन्द्रका रुपमा काम गर्दछन् । अब त धेरै नेपाली हिन्दुलाई थाहै छैन होला हिन्दुत्वको केन्द्र नेपाल थियो भनेर, हिन्दुका ६ वटा दर्शन मध्ये ४ वटा दर्शन नेपालमै बनेका थिए भनेर । किनकी हाम्रो मौलिक हिन्दुत्व नै करिब करिब लोप भई सकेको छ । 


तसर्थ, आफ्नै मौलिक धर्मलाई समाप्त पार्न नेपालीहरुले बार्षिक अरबौँ खर्च गरिरहेको देख्दा चित्त दुख्छ । क्रिश्चियनहरुले नेपालमा पैसा छरेर धर्म परिवर्तनको खेती गरे भन्नेहरुले हिन्दुत्वका नाममा हाम्रो पैसा खर्च गरेर अनेक बाबालाई आयात गरी आफ्नै मौलिक धर्म समाप्त गदै हिँड्ने यी मठ र मन्दिरका बारेमा पनि कुरा उठाईदिए कम्तिमा नेपालको मौलिक धर्मपनि संरक्षण हुने थियो कि ? 


उत्तम निरौला


We're on social networks