आस्थाको गरिमा कि अन्धविश्वासको महिमा?

आस्थाको गरिमा कि अन्धविश्वासको महिमा?

प्रविण पाठक(pravinpathak417@gmail.com)

केही समयअघि छाउगोठमा आगोमा रापिएर अनि धुवाँको मुस्लोमा गुम्सिएर एक महिला र उनका दुई सन्तानको ज्यान गयो। दोस्रो विश्व युद्ध अघि हिटलरको आततायी नेतृत्वमा दसौँ लाख यहुदीको बर्बर हत्या भयो। १९औं शताब्दीको मध्यतिर कालाहरूलाई दास बनाइराख्ने कि मान्छेको दर्जा दिने भन्ने द्वन्दको सेरोफेरोमा अमेरिकामा लाखौँ मान्छे अनाहकमा मरे। रुवान्डाकाहुतु र तुत्सीजातीबिचकोनरसंहारकोकहालीलाग्दो यथार्थ पनि धेरैले सुनेका होलान्।वर्तमानमा भारत र पाकिस्तानबिच युद्धको सम्भावनाले दुनियाँ चिन्तित छ। त्यस्तै, एक मुट्ठी माटोमाथि बेअर्थ अनेक आदर्श गुथेर वीरताको नाममा कति आमाका कोख रित्तिए होलान्। यी दृष्टान्तहरू कुनै इतिहासको मन्थन वा समाजशास्त्रीय विश्लेषण गर्न मैले प्रस्तुत गरेको होइन। झट्ट हेर्दा फरक फरक प्रकृतिका यी दर्दनाक घटनाको गहिरिएर विचार गर्ने हो भने उद्गम विन्दु एउटै भेटिन्छ। त्यो हो मान्छेका विज्ञानका तथ्यसँग मेल नखाने जात, धर्म, संस्कृति, राष्ट्र, नश्ल र वर्ण प्रतिको स्वकेन्द्रित परिवेश-प्रेरित मान्यताहरू। आजकै मितिमा हाम्रो देशमा हेरौँन, तथाकथित “लिटल बुद्ध” काण्डले नेपाली समाजको चैतन्यको उपहास गरिरहेको छ। हेर्दै रिँगटा चल्ने गरी युट्युब भरी छ्यापछ्याप्ती ठग ज्योतिषीका भविष्यवाणीका भिडियो पोखिएका छन्। लगातार पानी बर्साउने रुख, दूध पिउने गणेशको मूर्ती, देवी चढ्ने माताहरू, चट्टै क्यान्सर लगायत सय थरी रोग निको पार्ने आयुर्वेदिक/होमिओपेथिक डाक्टर, छामेर र सुंघेरतस्बिर, रङ अनि अङ्क पत्ता लाउने बालक, भूतले तर्साउने घरको कथा; यी र यस्ता चटकको अन्धविश्वास र दिग्भ्रमबाट त नेपाली समाज अझै उम्किन सकेको छैन। जे सुने पनि पत्याउने, जुन मुद्दाको पनि पछि लाग्ने, विपरीत तर्कको ढोका कहिले नखोल्ने, सही र गलत छुट्ट्याउन आफ्नो ब्रह्म र उपलब्ध तथ्यभन्दा पनि अरूको सम्मोहनमा भर पर्ने जमात होउन्जेलसम्व्रिद्धि एकादेशको कथा हो। यो सबैको जड कहीँ न कहीँ परिवार र समाजको तर्करहित चिन्तन पद्धत्तिको प्रभाव, अनि मानी आएका आस्थागतधङ्धङीको समष्टि स्वरूप हो। कार्लसेगनले उनको पुस्तक “द डिमन-हन्टेडवोर्ल्ड”मा यस्तो अन्धविश्वासको विस्तारित रूपमा शल्यकृया गरेका छन्। मेरो अन्तस्करणको नजरमा कुनै पनि प्रमाणरहित वा तर्करहित आधारमा थोपरिएको मान्यता, चाहे त्यो जुनसुकै भूगोल वा सम्प्रदायको किन नहोस्, ती सब बराबर गलत छन्, कोही विशेष वा कोही श्रेष्ठ छैनन्। त्यसैले यो वर्ग विभाजित समाजले मेरा तर्कलाई निस्तेज पार्न मलाई कुनै पूर्वीय जीवन पद्धत्तिको विरोधी चित्रण नगरोस्।स्वाभाविक हो म नेपाली समाजको शल्यक्रिया गर्दै छु, त्यसैले दृष्टान्तहरू सबै आस्था समेट्ने गरी समानुपातिक हुने छैनन्, क्षमा प्रार्थी छु।

हाम्रो शाश्वत पहिचान (खण्डीकृत मानसिकताको निरर्थकता)

लगभग चौध अर्ब वर्ष बुढो ब्रह्माण्डको साँढे चार अर्ब वर्ष पुरानो पृथ्वीमा केही लाख वर्ष अघि मान्छेको परिभाषामा समेटिँदै हाम्रा पुर्खा यो धर्तीमा विचरण गर्न लागे भन्ने कुरा कुनै मिथक होइन, विज्ञानले अथाह प्रमाण सहित पुष्टि गरेका तथ्यका निष्कर्ष हुन्।तर सबै धर्म ग्रन्थमा समेटिएका अलौकिक कथा-कहानीमात्र केही हजार वर्ष अघिको सेरोफेरोमा छन्। सोच्नुस् त, यथार्थको कस्तो संकुचनलाई स्वीकार गरेर बाँचेका छौँ हामी? अर्बौँ वर्ष पहिले नै प्राणतत्व भरिएका सूक्ष्म जीव उत्पत्ति भएर निरन्तरकोजैविक क्रमबिकासले एउटै पुर्खाबाट हामी यहाँसम्म आइपुगेकाहौँ भन्ने अकाट्य तथ्य माध्यमिक तहमै अनिवार्य पढाई हुन्छ। सूर्यको (वा अन्य ताराहरुको) गर्भमा पाकेका तत्त्वहरूले बनेका हामी, झन्डै दुरुस्तै रासायनिक संरचना भएका हामी, लाखौँ वर्षदेखि हजारौँ “जिन” र “डि.एन.ए” का टुक्रालाई आफ्ना गुण र दोष बोकाउँदै सन्तानै पिच्छे आनुवांशिक अभिलेख राख्न सफल पुर्खाका सन्तति हामी ९९.९ प्रतिशत एक अर्कासँग समान छौँ। त्यही हो हाम्रो असली पहिचान। यो धर्तीका हामी सबै मानवजातिकाविविधता त्यही ०.१ प्रतिशतमा खुम्चिएको छ। कति कृत्रिम छ जात-जात, राष्ट्र-राष्ट्र र धर्म-धर्म बिचकोवर्चस्वकोरस्साकस्सी? एउटा वन मान्छे र हाम्रो शरीरमा कारीब ९८ प्रतिशत आनुवांशिक समानता हुन्छ भनेर विज्ञानले पुष्टि गर्दै गर्दा हामीले मान्छे-मान्छे बिचचिम्सा र ठूला आँखा, चुच्चा र थेप्चा नाक, कालो र गोरो छाला आदिमा पहिचान खोजेको इतिहास पढ्दा भोलिको पिडीले के मूल्याङ्कन गर्ला? कहिलेकाहीँ म सोच्छु, मान्छेको पुरै सभ्यता कति तथ्यहिनमिथक र विज्ञान विपरीत कथ्यको भरिया बनेरै बित्छ। जात, धर्म, राष्ट्रियता र क्षेत्रीयताको मानव परिभाषित श्रेष्ठतालाई परा भौतिक दर्शन बनाएर कति स्वपीडन र परपीडनको भागीदार बन्छ मान्छे।भ्रम नरहोस्, राष्ट्र-राष्ट्र बिचको स्वार्थ संघर्षको निराकरण व्यावहारिक करणले निकट भविष्यमा सम्भव म देख्दिन किनभने प्राणीहरूको विकास कसरी अरूको सिकार हुनबाट बच्ने, कसरी प्रतिकुलतमा जसरी भएनि आफू बाँच्ने र कसरी आफ्नो वंश विस्तार गर्ने भन्ने डार्विनीअन् सिद्धान्तमा आधारित हुन्छ। ब्रह्माण्डीय चेतना सबैमा जागृत भएर आफैँ नैतिक र वैधानिक परिधि स्थापित गरी सामुदायिक व्यवस्थापन गर्ने, न्यायोचित श्रोत वितरण गर्ने, क्षमता अनुसार योगदान गर्ने, अनि व्यक्तिगत स्वतन्त्रता र उन्नयनको पनि ढोका खुल्लै राख्ने आदर्श समाज निर्माणको चरणमा अझै मानव मस्तिष्क विकास भएजस्तो यो संसार देखिँदैन। तर न्यायप्रतिको निष्ठा, कमजोर प्रतिको करुणा, युद्ध निषेधको प्रतिज्ञा, अहस्तक्षेपको नीति र साझा भुमण्डलीय चुनौतीमा एक्यवद्धता कायमा राखेर  सहविकासको संरचना तयार गर्ने हो भने राष्ट्रहरूको अस्तित्व रहँदा पनि मानव जातिको लागि सायद अभिशाप नै नबनिहाल्ला। हुन त विकल्प के नै छ र? अर्को कुरा ७ अर्ब मानिसको राजनैतिक व्यवस्थापन कसरी गर्ने भन्ने चासो मेरो यो लेखमा छैन। यो लेख केही हदसम्म विश्व-ग्रामको परिकल्पना पनि हो।

तथ्य र प्रमाण बिना स्वीकार गरिने हरेक मान्यता हानिकारक हुन्छन्

हामीमध्ये धेरैको बाल्यकाल वा कतिपयको सम्पूर्ण जीवन नै अनगिन्ती अर्थहीन हास्यास्पद मान्यताहरू, तर्क र तथ्यसँग मेल नखाने अनेक अन्धविश्वासयुक्त आदत र रुढीवादी कथ्यहरूको बोझ उचाल्दैबित्यो होला। ती मध्य कैयौँ प्रत्यक्ष हानिकारक त थिएनन्, जस्तै- घाँटीमा हातले छोएर फु फु गर्नु, नराम्रो कुरा बोलेर थु थु गर्नु, चट्याङ पर्छ भन्ने डरले उत्तानो परेर नसुत्नु, तिघ्रामानिलो डाम बस्यो भने बोक्सीले चुसिछ भन्नु, आँखा फर्फराउँदाको अर्थ लाउनु, अनेक किसिमका सपनाको अनेक अर्थ खोज्नु, बिरालोको बाटो कटाइ अनि रित्तो गाग्रीमा अप सगुन देख्नुआदि-इत्यादि, तर गहिरिएर सोच्दा हाम्रो व्यक्तित्व निर्माणको गति र मनोविज्ञानको सशक्तीकरणमा दैनन्दिनका यस्ता अवैज्ञानिक क्रियाकलापको असाध्धै नकारात्मक प्रभाव पर्छ। । मान्न थालेपछि तथ्यहीन सब थोक मान्न थाल्छ मान्छे। सही र गलत छान्ने, छुट्ट्याउने कसरी? टपरी-जनै-पिण्ड-टुप्पी-होम-औशेनी-जप-तप-यज्ञ-व्रत यिनको अस्तित्व सतहमा गैर हानिकारक देखिन्छन् तर मान्यताहरू तन्काउँदै लगेपछि धामी-झाँक्री-बोक्सी-दलित-छाउ प्रथा आदिका मान्यता सामान्य लाग्न थाल्छन्। किरिया बस्दा झन्डै निर्वश्त्र हुँदा, खोला-खोल्चिका फोहोर पानीमा खाना पकाउँदा, नुन नखाई बस्दा, पोषण नपाई तेह्र दिन कुनामा थलिँदा, साबुन नलाई नुहाउँदा, मन्जन नलाई दन्त मन्जन गर्दा कसरी प्रकृतिमा फर्किसकेका मान्छे मुक्त हुन्छन् भनेर सोच्न छोड्छ मान्छे, मान्न थालेपछि। चेतनाको आँखा चिम्लेपछि वर्षैपिच्छे चरम नारी विरोधी स्वस्थानी पाठ गर्न थाल्छ मान्छे। पहिलो पटक छोरी-चेली राजस्वाला हुँदा घर निकाला नभएको परिवार कुनै छैन होला, श्रीमानहरू “मारे पाप, पाले पुण्य” कमाउने पति-परमेश्वर बन्न थाल्छन्, नारीलाई नाङ्ला र थाङ्नामा खुम्चिनुपर्ने वर्ग देख्नु नौलो नलाग्न थाल्छ। यति मात्र हो र, मान्न थालेपछि मधेसी र पहाडी मनैदेखि एक अर्कालाई पराई लाग्न थाल्छन्। “बाहुन छेत्री काटिन्छ, आलो रगत चाटिन्छ” को नश्लीय नारा घन्किन थाल्छ, घरभाडामा बस्ने गाउँको बाउन “असभ्य” देख्छ नेवारले, त्यो बाउन नेवारलाई “फोहोरी ज्यापू” देख्छ, हिन्दुलाई इस्लाम र ईस्लामालाईहिन्दु “उल्टो प्राणी” लाग्छ। इसाईहरू “सैतान” लाग्छन्, हिन्दुहरू “जङ्गली” लाग्छन्। कठै, मान्छेको मान्दिने र चलिआएको कुरा पत्याइदिने कुराको कुनै लगाम हुँदैन। यो के हो, आस्थाको गरिमा कि अन्धविश्वासको महिमा? कति बन्धनहरू, कति उल्झनहरु,  यी सबमा के सही के गलत? के बेकारको के महत्त्वको? Bible सही हो भने डाइनसरकोजिवावशेषझुट? किनकिBibleमा त धर्ती ६००० वर्ष मात्रै पुरानो छ जबकिडाइनसरकोजिवावशेष करोडौँ वर्ष पुरानो छ। राजालाई विष्णुका अवतार मान्ने कि नमान्ने? यौन शोषक गुरुहरूको काण्ड कुन पत्याउने कुन नपत्याउने? महिलाहरूलाई के के कुरामा दोस्रो दर्जा दिने? कुरानको अपमान गर्ने ककसको शिर छेदन गर्ने? कति कुरा जेलिएर आउँछन्, मान्न थालेपछि।ज्ञानी बन्नु, सबैलाई माया गर्नु, अरूको भलो गर्नु जस्ता आवरणमा अति ग्राह्य नैतिक निर्देशनको खोल ओढाएर हरेक समाजले जन्मेदेखिमरुन्जेल उसका सदस्यलाई अन्धविश्वासको अनन्त जालोमा जकडेको पाइएको छ र त्यसैको चरम विष्फोटित स्वरूपमा मानव जाती सुरुमा उल्लेख गरिए जस्ता घटनाको विभिन्न कालखण्डमा साक्षी हुनुपर्ने बाध्यता छ।के म सारा रितिथिती, संस्कृति, चाड-पर्व, धर्म, दर्शनको विरोधी हुँ? पक्कै होइन। तर तिनीहरूको महत्त्वको परिभाषा म केवल विम्बमा देख्छु, कला-साहित्यको जगेर्णामा देख्छु, मान्छेका अनेक कालखण्डको चिन्तन प्रणालीको अध्ययनमा देख्छु, जीवन पद्धति र सभ्यता विकासको विविधताको रमाइलो इन्द्रेनीमा देख्छु। हो, वैज्ञानिक मापदण्डमा र प्राकृतिक यथार्थको धरातलमा अधिकांश कर्मकाण्डको कुनै अर्थ छैन। बरु कतिपय अत्यन्त घातक छन्।

अन्धविश्वासको पहिलो जड ईश्वरप्रतिको प्रश्नरहित आस्था

संसारमा कम्युनिस्टका नाममा धर्ममाथि धेरै पटक प्रहार भए तर कालान्तरमा तिनै कम्युनिस्ट समाजका नेता, विचारक, नायक वा पथप्रदर्शक लगभग ईश्वरीय विम्बमारुपान्तरित भए। धर्मको अन्धो नशाबाट मानव समाजलाई मुक्त गरेर भौतिकवादी, विज्ञान-निर्देशित, एक जातीय विश्व संरचना निर्माण गर्न अघि बढेका भनिएका साम्यवादीहरू आफ्नै विचारको एक पक्षीय दासताबाट यति ग्रसित भए कि अन्ततः: तिनकैपूज्य शासकका रोहवरमामानवजातिले सागरका सागर रगतको मूल्य चुकाउनु पर्‍यो। ईश्वर मान्नु वा नमान्नु कुनै राजनैतिक पक्षधरता मात्र भएको भए अधिकांशलाई अप्रिय लाग्न सक्ने यो लेख लेख्न म प्रेरित हुने थिइनँ तर प्रश्न समाजले शाश्वत सत्य स्थापित गर्ने प्रकृया कसरी निर्धारण गर्छ भन्ने हो। सोचाई र चिन्तनका कुन त्यस्तो प्रकृया अवलम्बन गर्ने जसले सही अर्थमा प्रगतिशील दिशामा समाजलाई डोर्यावोस् र अकारण पीडाका दलदलमा कुनै प्राणी भासिनु नपरोस्?

हो, संसार त चलेकै छ; आस्तिक पनि छन्, नास्तिक पनि छन्, शून्यवादी, अराजकतावादी सबै छन्। कर्मकाण्डको तहमा अनेक सांस्कृतिक तौरतरिका सहित सशरिर ईश्वर पुज्ने पनि छन्, अध्यात्म र मोक्षको हवाला दिँदै निर्गुण-निराकार दिव्य शक्तिको उपासना गर्ने पनि छन्, काल्पनिकप्रभुको परमसत्तामा लीन हुन ईश्वरको अंशका रूपमा सेतु बनिदिने भनिएका गुरुहरूका बलिदानी शिष्यहरू पनि छन्, इन्द्रिय र शरीरको महत्त्व नकार्ने अनि सुखदुख, बुद्धि र चिन्तनको परिधिभन्दा परका अलौकिक लीलाका रचयितालाई आफ्नो सारा अहम् समर्पित गर्ने भनिएका पनि छन्, त्यस्तै सर्वे भवन्तुसुखिन: जप्ने देखि लिएर आफ्नो धर्म बाहेकका सबैलाई रेट्नु पर्छ भन्ने पनि यो भूगोलमै छन्। कट्टरताको मात्रा फरक होला, सृष्टिको रहस्य र मानवको अस्तित्वको सम्बन्धमा दृष्टिकोण फरक होला, साहित्यको विरासत र संस्कृतिको पुँजी पृथक् होला तर ईश्वर मान्ने सबै पन्थ र समुदायको एउटै प्रकारका दार्शनिक आधार छन्, जस्तै – यो संसार विराट छ; यहाँको लीला अनि प्रकृतिको लालित्य वोधगम्य छैन; जीव -वनस्पतिको विविधता कस्तो अभूतपूर्व छ; मानवजातिको देह र मस्तिष्क कति जटिल छ, प्रेम र भावनाको अनुभूति पूर्णतः: अभौतिक छ; जीवनका अपत्यारिला संयोगहरू कसरी सम्भव छ कुनै सर्वशक्तिमान् अस्तित्व बिना; आदि-इत्यादि। हुन त भगवानको दण्डको त्रास, वा भौतिक फलको आसले आस्तिक भएका तथा आफ्नो मनोकामना पूरा नभएर वा अकल्पनीय विपदको सिकार हुनुको वितृष्णाले नास्तिक भएका जमातलाई आफ्नो मान्यताको दार्शनिक पृष्ठभूमिको सरोकार पक्कै हुँदैन।

मैले पनि मस्तिष्क गिर्खागिर्खा दुख्ने गरी सोचेँ। मेरो वैज्ञानिक अध्ययन, जिन्दगीका भोगाई, मानव जीवन तथा समस्त चराचर र यो सृष्टिको सम्पूर्ण ज्ञात तथ्यहरूलाई केलाएर घोत्लें। तटस्थ भएर ब्रह्माण्डको उत्पत्ति (Big-Bang) देखि जैविक क्रमबिकास सम्मका ज्ञान र प्रमाणका निष्कर्ष ओल्टाई-पल्टाई गरेँ। दार्शनिक भएर हेरेँ, तार्किक भएर मन्थन गरेँ, तर्करहित शून्य भएर पनि ध्यान गरेँ, करुणाले हेरेँ, बुद्धिले हेरेँ, विवेकले हेरेँ। सत्संग-प्रवचनका उध्गारहरु सम्झेँ, सत्गुरु भनिएका मानिसहरूको सानिध्यको प्रभाव विचार गरेँ, काल-अंतराल (Time and Space) को सापेक्षतामा रमेँ, Intelligent Design को सम्भावनामा कल्पेँ। अहँ, ईश्वरको अस्तित्व स्वीकार गर्नुपर्ने कुनै कारण छैन। कस्तो जड अहंकारीरैछ यो मान्छे, मैमत्वले ध्वस्त भएको, धर्महीन नकारात्मक प्राणी रहेछ भन्ठान्नु होला धेरै पाठकले, तर कृपया जतिसुकै खलपात्र बन्न परेपनि प्रश्न गर्न सिक्नोस्, तर्कहरूलाई चेतनाको तराजुमा जोख्न सिक्नोस्।    

सोच्नुस् त, कुनै सर्वशक्तिमान् ईश्वरलाई किन यो सृष्टि बनाउनु पर्‍यो? खेल्न? रमिता हेर्न? लीला रच्न? एक छिन विचार गर्नुस् त, जो सँग अनन्त सामर्थ्य छ, उसले यस्तो रङ्गमञ्च किन प्रयोग गर्दो हो? किन बनाएको होला महामारी ल्याउने virus? किन प्रकोप आउँछ होला भूकम्प, सुनामी, ज्वालामुखीको? प्राणीहरूलाई सजाय दिन? यातना दिन? पाप-धर्मको प्रश्नै नहुनु पर्ने, सबैमा सद्बुद्धि भरेर किन नपठाएको? पछि नर्कमा कोच्न? किन विभिन्न धर्म र जातको द्वन्द्व रच्ने बुद्धि दिएको? रमाइलो गर्न? सबैलाई असल बनाइदिए त महाभारत, रामायणको काण्ड किन चाहियो? अब भन्नुहोला, यो त समाजलाई धार्मिक तथा नैतिक मार्ग निर्देशन गर्न रचिएका लीला हुन तर त्यही त म भन्दै छु किन त्यस्तो घुमाउरो बाटो लिनपर्‍यो, सिधै दिमाग ठिक पारेर पठाइदिएभैगो। किन कुनै जनावरले अर्को जनावर खानै पर्ने बनाएको? पारिस्थितिक प्रणालीको चक्रीय नाटक हेर्न? रोग, भोक, शोक के का लागि? यो निर्मम डार्विनिअन प्राणी जगत मात्र प्रभुको मनोरञ्जनको लागि? आफ्नै सन्तानलाई सिधै मोक्ष दिए के फरक पर्छ होला? किन प्रार्थना र भक्तिको भोको भएको? अनि त्यस्तो, न आदि – न अन्त भएको ईश्वरको जटिलताको चाहिँ कसले सृष्टि गर्‍यो होला कुन्नि? प्रश्न त्यो मात्रै होइन म ईश्वर हुन्थेँ भने किन लुकामारी खेल्न पर्‍यो? किन ध्यान, ज्ञान, मोक्ष, निर्वाण आदि विम्बको घेरामा सीमित हुन पर्‍यो? नाथे आफूले प्राण फुकेर पठाएको क्षणभंगुर देहधारी जीवको विशिष्ट गुणले प्राप्य हुने वाहियात संकुचनमा कुनै विराट शक्तिको अस्तित्व अटाउँछ? किन प्रमाणित भौतिक नियम कहिल्यै भङ्ग हुँदैन? किन ब्रह्माण्डका खर्बौं“ग्यालेक्सी” मध्ये एउटाआकाशगङ्गाकोखर्बौं तारामध्येकोएउटातारा हाम्रो सूर्यको एउटा पुन्टे ग्रहको अर्बौँ वर्षको आयुमा एउटा कुनामा केही दशकलाई पाहुना लाग्न रासायनिक स्वरूप खडा गरेर हामीलाई संसारको रहस्य बुझ्न पठाएको?

क्रमविकासको अध्ययन र यो विश्व ब्रह्माण्डको बारेमा प्राप्त तथ्यहरूले कुनै पनि हस्तक्षेपकारी भगवान् छैनन् भन्ने स्पष्ट छ।रिचर्डडकिन्सको “दसेल्फिस जीन”, “द ब्लाइन्डवाचमेकर”, र “द गड डिल्युजन” पढ्दा यो तर्क लगभग अकाट्य हुन्छ। हो, विज्ञानले हरेक प्रश्नको चित्तबुझ्दो उत्तर दिन नसक्ला तर सत्यको सबै भन्दा नजिक हामीलाई पुर्‍याउने भनेको तथ्यमा आधारित चिन्तन प्रणाली नै हो। कतिपयको तर्क छ, केही न केही चिजवा शक्ति त सुरुमा चाहिएला नि, त्यसै फ्याट्ट, स्वत:यो सब जगत् भौतिक नियमले सृष्टि भयो त? हो, उत्तर ठ्याक्कै ठोकुवा गरेर भन्न नसकिएला तर लरेन्सक्राउस लगायत केही प्रसिद्ध भौतिकशास्त्रीको मत अनुसारआजडार्कएनर्जी (dark energy), एन्टी-म्याटर(antimatter), एम्प्टी स्पेस (empty space) रभर्चुअल पार्टिकल(virtual particle) बारे प्राप्त प्रारम्भिक निचोडले शून्यताबाट पनि पदार्थ प्रकट हुने कुरा इङ्गित गर्दछ। अर्थात् सरल भाषामा भन्नु पर्दा घडी बनाउन मेकानिकचाहिए जस्तो सृष्टि बनाउन सर्जक नचाहिनेबलिया आधार छन्। अझ भनौँ भौतिक नियमकै आधारमा बहुब्रह्माण्डको सम्भावना प्रबल भएको कतिपय वैज्ञानिकहरू विश्वास गर्छन्। स्मरण रहोस्, वस्तुपरक तथ्य वा उपलब्ध तार्किक आधारमा विज्ञानका पारखीहरूले गर्ने विश्वास र बाँदर जत्थाले समुन्द्रमा पुल बनाइदिएर भगवानका अवतार रामलाई लंकामा युद्ध गर्न जान सम्भव भयो भन्ने विश्वास बिच धेरै अन्तर हुन्छ।ईश्वर नभए पनि यो सबै सृष्टि सम्भव छ भन्ने पक्षमा पर्याप्त प्रमाण नहुनु र ईश्वर छन् भन्ने पक्षमा कुनै आधार, तर्क वा सम्भावना नै नहुनु एउटै वजनका समस्या होइनन्। लामो व्याख्या नगरिकन म महान् वैज्ञानिकहरूका तर्क सापट लिएर भन्न चाहन्छु कि शून्यबाट ब्रह्माण्ड सम्भव छ र ब्रह्माण्डको कुनै कुनामा संयोगले भौतिक र रासायनिक मन्थनले प्राणतत्व (self-replicating molecules) संश्लेषित हुने आधार छ। त्यसपछि क्रमबिकासले वनस्पति र प्राणी जगतको भाग्य निर्धारण गर्ने कुरामा वैज्ञानिक वृत्तमा कुनै दुई मत छैन। त्यस्तै हाम्रा चेतना, भावना, प्रेम, ममता करुणा सबै हाम्रो विशिष्ट मस्तिष्कका अर्बौँतान्त्रिका (neurons)का विद्धुत्तिय तरङ्गका उपज हुन्।  अब भन्नुहोस्, कहाँ छ ईश्वरको हस्तक्षेप? अनि त्यस्तानिष्कृयअहस्तक्षेपकारी, वास्ता नगर्ने, भौतिक नियम छुँदै नछुने, नदेखिने, लुक्ने, दु:ख नहर्ने ईश्वर छन् भने पनि के काम? मर्ने मरिराकै छन्, तड्पिने तड्पिराकै छन्।     

किन आस्थामा बाँच्नु पर्‍यो?

यो जगतमा कुनै पराभौतिक अस्तित्व छैन भनेर सोच्दा कतिपयलाई कहाली लाग्न सक्छ। खगोलीयएक्लोपनाले भाउन्न हुन सक्छ। कल्पनाकै सही, आफ्नो सम्पूर्ण अहम्, तनाव, कुन्ठा र भय कुनै दिव्य सत्तालाई  सुम्पेर अर्को जन्मको आशामा वा तथाकथित मोक्षको अभिलाषामा आनन्दको जीवन जिउनुको जस्तो सजिलो नहुन सक्छ यथार्थ सँगको साक्षात्कार। ईश्वरलाई पाप र पुण्यको न्यायधिश मान्ने जमातलाई तईश्वरको न्यायालय बिना यो संसार विचलन, पापाचार, नैतिक पतन र अराजकताको भुङ्ग्रोमा डढेर सकिएला भन्ने त्रास पनि होला। तर पटक पटक विज्ञानले पुष्टि गरेको छ, न्यूनतम परहीत, ममता, करुणा र नैतिक मूल्य मानव जीवनमा आनुवांशिक तहमै छापिएको हुन्छ। थुप्रैप्राणीहरूमा पनि सामूहिक हित र परोपकारी गुण देखिएको छ। कुनै दैवी शक्तिको प्रताडनाको डर भन्दा अरूको पीडा प्रतिको संवेदनशीलता मानव आचरणको मार्ग निर्देशक हुनु राम्रो होइन र? ईश्वरकै नाममा कति कुकृत्य र परपीडनको कारक बनेको छ मानिस। हो, अधिकांश धार्मिक मनहरूले अरूको सेवा गर्न चाहन्छन् तर दिगो र असली सेवा करुणा ले निस्रित हुनुपर्छ।स्वर्गको लोभ वानर्कको भयले होइन। म यस लेखको लेखक यति भौतिकवादी अनिश्वरवादी विचार त बोक्छु तर पशुवध गर्दा कुनै प्राणीले सहनुपर्ने पीडाको अंशियार नबन्न कहिले पनि मांशाहार गर्दिन। रह्यो कुरा दार्शनिक खुराकको, वा भनौँ आध्यात्मिक पाटोको – एकचोटी कल्पिनुस् त, तारै ताराको, प्रकाशै प्रकाशको यो ब्रह्माण्डमा, ऊर्जाले लैस यो अकल्पनीय विराटताको ब्रह्माण्डमा, धर्तीको एउटा कुनामा उम्रिएर आज मान्छेले कस्तो साम्राज्य खडा गरेको छ? आकाशमा बडे बडे यान्त्रिक यान उडेका छन्, कथाका पुष्पक विमान होइन; चन्द्रमामा मान्छे पुगेको ४० वर्ष नाघिसक्यो। २०-३० वर्षबाट मान्छे औसत ८० वर्ष बाच्ने भईसक्यो। २०० वर्ष अघिसम्म राजपरिवारले मात्र खान सक्ने भोजन अहिले केही पैसा हुने सबैले भोग गर्न सक्छन्। सानो बट्टाभित्र संसारका सबै सूचना, तस्बिर, चलचित्र, कला, साहित्य अटेको छ। सती जान बाध्य पारिने नारीहरू धेरै हदसम्म शक्तिशाली बनेका छन्। झिलिमिली छ जताततै। यो सब प्रत्यक्ष-अप्रत्यक्ष विज्ञान-निर्देशित पाइलाको प्रभाव हो। हामी वस्तुपरक भएर पनि जीवनको मूल्य खोज्न सक्छौँ। नास्तिक भएर पनि आध्यात्मिक पोषणले आफ्ना मानसिक विकार पखाल्न सक्छौँ। यो संसार सिँगार्न सक्छौँ, नयाँ संसारमा बस्ती बसाउन सक्छौँकिनकि हामी प्रकृतिका सबैभन्दा ओजस्वी सन्तान हौँ।

लेखक एक अमेरिकी विश्वविद्यालयमा रसायन शास्त्रमा विद्यावारिधीरत छन्।

Share this post

Comment (1)

  • Bal Rai Reply

    I love to read your articles and it is a logic.

    18th November 2019 at 5:08 pm

Leave a Reply

Your email address will not be published. Required fields are marked *