प्रेस विज्ञप्ती- बोक्सा बोक्सीका नाममा मध्ययुगिन बर्बरता कायमै

प्रेस विज्ञप्ती- बोक्सा बोक्सीका नाममा मध्ययुगिन बर्बरता कायमै

वैशाख ४ गते  बोक्सोको आरोपमा रसुवाको यार्सा ९–घोर्मु गाउँमा बस्ने ५५ वर्षका तुलु सार्की थिङलाई चरम यातना दिइ आगो लगाएर छिमेकीले जिउँदै जलाएर खाल्डोमा गाडी हत्या गरेको घटनाप्रति मानववादी समाज (सोच) नेपालको गम्भिर ध्यानाकर्षण भएको छ ।

घटनाक्रम अनुसार २०७२ चैत ५ गते स्थानीयले तुलु सार्की थिङलाई बोक्सो भन्दै मानव मलमुत्र खुवाई, कालोमोसो दलेर जुत्ताको माला लगाई गाउँ निकाला गरेका थिए । गाउँ निकालापछि केरुङतर्फ गएका थिङलाई गाउँमा बोलाएर पुनः वैशाख ४ गते अन्धविश्वासीहरुले कुटपिट गरेका थिए । त्यसपछि जङ्गलको बीचमा लगेर खाल्डो खन्दै थिङको शरीरमा आगो लगाई खाल्डोमा पुरिएको थियो । घटनाको २ हप्तापछि मात्रै प्रहरीको अनुसन्धानबाट घटनाबाहिर आएको हो ।

गाउँकै कान्छा शेर्पा थिङ विरामी भएपछि तुलुले बोक्सी विद्याको वलमा भेदेर बिरामी बनाएको भन्दै बोक्सीको आरोपमा जिउँदै जलाएर खाल्डोमा पुरेर हत्या भएको हो ।

थिङलाई बोक्सीको आरोपमा हत्या गरेको अभियोगमा प्रहरीले घोर्मुका कान्छा शेर्पा थिङ, भोर्ले गाविस २ का साहिला थिङ भनिने छेनुर्बु तामाङ र यार्सा ९ की लवाङ बुटी तामाङलाई पक्राउ गरिसकेको  छ । हत्यामा संलग्न भनिएका कान्छा मृतकका भतिज हुन भने लवाङ बुटी तामाङ भतिजी बुहारी हुन् ।

आजको वैज्ञानिक युगमा पनि कथित बोक्सा बोक्सीको आरोपमा निर्ममतापूर्वक मान्छेको हत्या गर्नु सभ्य समाजकालागि लाजमर्दो विषय हो । अतः बोक्सी आरोप लगाई ज्यान मार्ने, गाउँ निकाला गर्ने, यातना दिने, मानमर्दन गर्ने कार्य बिरुद्ध बनेको ऐन बमोजिम यो घटनामा संलग्न व्यक्तिहरुमाथि कडा भन्दा कडा कार्वाही हुनुपर्दछ ।  बोक्सा बोक्सी जस्ता सामाजिक कुरीति विरुद्ध ऐन निर्माणका साथै देशभर जागरण कार्यक्रम गर्न सरकारले तत्काल आफ्ना कार्यक्रमहरु सार्वजनिक गर्न ढिला भई सकेको छ । साथै मृतकका परिवारलाई क्षतिपुर्तीको व्यवस्था गर्न पनि सोच नेपाल नेपाल सरकारसँग माग गर्दछ । यसरी लगातार अन्धविश्वासी जमातले नेपाली नागरिकको ज्यान लिने गरेका घटनाहरु सार्वजनिक हुँदा समेत सरकार सधैँ मौन बस्नुलाई सरकारको मानवता हराएको हो भन्न किन्चित अन्यथा नहोला ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *