सँस्कृत सिरियाबाट आएको हो

सँस्कृत सिरियाबाट आएको हो

समाजशास्त्र र मानवशास्त्रमा प्रसारवाद भन्ने एउटा सिद्धान्त छ जसले सँस्कृति, रीति रिवाज र समाजका चरित्र समाजहरुबिच प्रसार भईरहन्छन् भन्दछ । हुनपनि समाजलाई मिहिन ढंगले अध्ययन गर्ने हो भने विश्वका विभिन्न सँस्कृतिमा अनेकन् समानता पाईन्छन् । तसर्थ, मैले बोली रहेको भाषा अन्य भाषासँग मिल्न गएमा, मेरो मान्यता वा विश्वास अन्य समाजसँग मिल्न गएमा त्यो केवल संयोग मात्र नहुन सक्दछ । विगतमा कहिँ न कहिँ ति सँस्कृति बिच मिलन भएकोपनि हुन सक्दछ । बसाई सराई र व्यापारले सँस्कृतिको प्रसार गराईरहेको हुन्छ । भाषाको अध्ययन गर्ने विज्ञहरुलाई यस बारेमा अझ बढी जानकारी हुन्छ । 

माथिको बिषलाई मैले सँस्कृत भाषासँग जोड्न खोजेको हो । सँस्कृत भाषा बाट विकास भएका अन्य भाषाहरु जस्तै मैथिली, हिन्दी, नेपाली, लगायतका भाषा बोल्ने लाई सँस्कृत भारतका हिन्दुहरुले उत्पत्ति र विकास गरेका हुन भन्ने सामान्य बुझाई पाईन्छ । यस बुझाईले हाम्रो समाजको विकासक्रमको अध्ययनलाई पथभ्रष्ट गर्दछ । किनकी धार्मीकरुपमा भाषालाई व्याख्या गरिदिँदा अन्य समाजसँगको सम्बन्धलाई अध्ययन गर्न नै छुट्याईएको हुन्छ । अहिलेपनि धार्मीक पुस्तक पढ्दा अन्य धर्मसँगको सम्बन्ध युद्ध, अहंकार, तिरस्कारबाट शुरु हुन्छ । यो कुनै एक धर्ममा लागु हुदैन । सबै धर्मको मर्म यहि हो । हिन्दुले क्रिश्चियनलाई, क्रिश्चियनले ईसलामलाई, क्रिश्चियनले हिन्दुलाई हेर्ने दृष्टिकोणमा कहि कतैपनि सम्मान र सद्भाव हुदैनन् । उनीहरुका ग्रन्थले एकले अर्कालाई होच्याउने र आफैँ सर्वैसर्वा हुँ भन्ने मान्यता स्थापित गरेका हुन्छन् । त्यसैलेपनि धार्मीक पुस्तकले समाजका बारेमा निश्पक्ष अध्ययन गर्ने अवसर प्रदान गर्दैन । अन्ततः हाम्रो ज्ञान वृहत हुन पाउदैन । 

सँस्कृत भाषा विश्वकै पुरानो भाषामा पर्दछ । आजको समाजमा यो भाषालाई बोलिचालिमा प्रयोग नगरेतापनि यो भाषाले एउटा सिंगै सभ्यताको प्रतिनिधित्व गर्दछ । आजपनि सँस्कृतजति सम्पन्न भाषा अन्य कुनैपनि छैन भनि दावी समेत गरिन्छ । यो आफैँमा महत्वपुर्ण कुरा हो । सँस्कृत भाषाको नाम सँस्कृति भन्ने शब्दबाट राखिएको देखिन्छ । सँस्कृती भन्नाले भाषा मात्र नभएर समाजको रहनसहन, बोलीचाली, रीति रिवाजलाई समेज जनाउदछ । अथवा यो भाषा आफैँमा भाषा मात्रै नभएर सँस्कृति थियो । यो भाषा बोलिचालीको भाषा भएका समयमा हाम्रो सँस्कृति कस्तो थियो भन्ने कुरा सँस्कृतका साहित्य पढेरपनि थाहा हुन्छ । 

भाषाविज्ञका अनुसार युरोप, ईरान, रसिया र दक्षिण एशियामा बोलिने भाषाहरुको पुर्खा एकै हो । सन् १७८६ मा सर विलियम जोन्सले गरेको एक अध्ययनमा सँस्कृत, ग्रिक र ल्याटिन भाषाहरु साझा मूलबाट आएका हुन् भनेका छन् । अझ पर्सियन भाषाकोपनि मूल एउटै भएको उनको तर्क छ । यी सबै भाषाहरुको मुललाई प्रोटो ईन्डो यूरोपियन (आद्य भारतयुरोप) भाषा भनि सम्बोधन गरियो । यसलेपनि सँस्कृत भाषाको सम्बन्ध युरोप र ग्रिस र ल्याटिन भाषासँग छ भन्ने स्पष्ट हुन्छ । अझ वर्तमान समयमा जर्मनको नाजीले स्वस्तिक चिन्ह प्रयोग गर्नु, उनीहरुको राष्ट्रिय ध्वजावाहक विमानको नाम लुप्त हंस (वा लुप्थान्सा) रहनुले त युरोपियन भाषा सँस्कृतसँग नजिक भएको अनुमान गर्न सकिन्छ । हुनत जर्मनी, अमेरीका, बेलायत लगायतका स्थानमा सँस्कृतभाषाको अध्ययन गर्ने औपचारीक संस्था छन् । अन्य देशमापनि होलान् । 

अब लागौँ सँस्कृत तिर । के धार्मीक गुरुहरुले भनेझैँ यो भाषा एकाएक हिन्दुहरुका माझमा आकाशबाट खसेको हो त ? अथवा देवताले बनाईदिएका हुन्त ? यो दुवै संभव छैन । यस भाषाकोपनि उत्पत्ति छ र विकासक्रम छ । त्यसो हो भने यसलाई मानवशास्त्रीय आधारमा अध्ययन गरिनु पर्दछ । 

भारतमा द्रविडहरु ६ हजार ईसापूर्वमा आएको पाईएको छ भने आर्यनहरु १५०० ईसापूर्वमा आएका थिए । आर्यनको भाषालाई ३०० बर्ष अगाडी र तमिलको भाषालाई करिब ३००० बर्ष अगाडी ईन्दस भ्यालीमा पाईएको थियो । एशियाको केन्द्रबाट आएका आर्यनहरुले द्रविडलाई भगाएर आफ्नो वासस्थान ईन्दस भ्यालीलाई बनाएका थिए । उनीहरुले हरप्पा भन्ने समुदायलाई युद्धमा तह लगाएका थिए । ईन्दस भ्यालीमा करिब १९०० ईसापूर्वमा सरस्वती भन्ने सभ्यतापनि थियो तर त्यो सभ्यता लोप भएर गएको थियो । केन्द्रिय एशियाबाट आएका आर्यनको बसोवासपछि मात्रै त्यहा सँस्कृत भाषाको प्रवेश भएको पाईएको छ । 

अब सँस्कृत भाषा कहाँबाट आएको थियो भन्ने तथ्यको खोजी गरौँ । डेभिड डब्लु एन्थोनी भन्ने लेखकले आफ्नो पुस्तक घोडा, चक्का र भाषा (The Horse, the Wheel, and Language )  शीर्षकमा सन् २००७ मा लेखेको पुस्तकमा सँस्कृत भाषाका बारेमापनि खोजी गरिएको छ । उनले सँस्कृत भाषा भारतमा नभएर सिरियामा सबैभन्दा पहिले बोलीचालीमा आएको बताएका छन् । 

ईसापूर्वको करिब १५०० तिर हालको उत्तरी सिरिया, ईराक र टर्कीमा मित्तानी भन्ने वंशले शासन गर्ने देश थियो । उनीहरु उस समयमा हुर्रियन भन्ने भाषा बोल्दथे । तर सबै राजा र त्यहाका मुख्य मान्छेको नाम अहिले सँस्कृतमा भएका नामहरु जस्ता हुन्थे । उदाहरणकालागि पुरुष, ईन्द्रोत्त, शुभ्रदत्त, तुश्रत्त, शुबन्धु ईत्यादी । यी सबै नामहरु आजपनि हामी वेदिक सँस्कृतमा पाउछौँ । र तिनिहरुका सँस्कृतमा आफ्नै अर्थ छन् । उक्त समयमा भारतवर्षको सभ्यतामा यस्ता नामहरु पाईदैन थिए । त्यति मात्रै हैन मित्तानी सभ्यतामा अहिले वेदिक सँस्कृतमा उल्लेख भएका असंख्य सँस्कृतिहरु थिए । जस्तै रथबाट गरिने युद्ध । उनीहरुसँग घोडालाई तालिम दिने नियमावली पनि थियो जसमा नंबरहरु हालको सँस्कृत भाषामा नै राखिएका थियो । घोडालाई उनीहरुपनि अश्व (सँस्कृतमा घोडालाई अश्व नै भन्दछन्) भन्दथे । अहिले हामीले पढेको ऋग्वेदमा उल्लिखित देवतालाई उनीहरु त्यसबेलामा पुजा गर्दथे । ईन्द्र, वरुण, मित्र, अश्विन लगायतका बारेमा उनीहरुकै समयमा उल्लेख भएको पाईन्छ । 

मित्तानीराज्यका मानिसहरु घोडाका रथमा चढेर व्यापार गर्न जाने गरेको ईतिहास छ । त्यसै सिलसिलामा उनीहरु हालको भारत बर्षमा आएको हुनु पर्दछ  जहाँ उनीहरुले आफ्नो भाषा र सँस्कृतिलाईपनि लिएर आए । डेभिड डब्लु एन्थोनीको पुस्तकले यहि बिषयलाई प्रमाण सहित पेश गर्दछ । उनीहरुले बोल्ने भाषा वैदिक ऋग्वेदीक भाषा नै थियो । तर उता मित्तेनीको सँस्कार भने बिस्तारै हुर्र्रियतको भाषाले थिच्दै गयो जसरी हालको ईन्डोनेसियालाई मुसलमानले थिच्दै गए । र अन्ततः सँस्कृत भाषाको विकास भारतबर्षमा अझ बढी हुन थाल्यो र सिरिया लगायतको मुलुकमा मरेर गयो । तथापी यो भाषालाई भारत मात्र नभएर दक्षिण एशियामा ल्याउनकालागि मित्तानीका व्यापारीहरुको ठुलो हात छ । 

यहाँ याद गर्नु पर्ने बिषय के छ भने मित्तानीहरुले बोल्ने भाषा वैदिक सँस्कृत हो जुन हिजोआजको सँस्कृत भन्दा केही फरक छ । 


उत्तम निरौला

uttamniraula73@gmail.com

Share this post

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *