विज्ञान दिवसमा विज्ञानकै उपाहास !

विज्ञान दिवसमा विज्ञानकै उपाहास !

रमेश सुनुवार
नेपालमा यो वर्ष असोज १ गते सातौं विज्ञान दिवस भव्य रुपमा मनाइयो । त्यस अवसरमा राष्ट्रिय सभागृहमा एउटा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । त्यहाँ दुई विपरित दृश्यहरु देखिन्थे । बाहिर विज्ञान–प्रविधिको भव्य प्रदर्शनी थियो । त्यहाँ आधुनिकतम विज्ञान–प्रविधिका उपलब्धिहरु राखिएका थिए– ड्रोन, रोबोट, आर्टिफिसिल इन्टेलिजेन्स, इत्यादि । तिनीहरु एकसे एक आधुनिक सभ्यताका शान थिए । तिनीहरु मानवजातिको संघर्ष, बलिदान र पराक्रमको परिणाम थिए । र, तिनीहरु मानवजातिले चाह्यो भने के के गर्नसक्छ भन्ने कुराको प्रमाण थिए ।
भित्र सम्माननीय प्रधानमन्त्री के.पी. ओलीको महावाणी गुञ्जिरहेको थियो । उनी राष्ट्रकवि माधव घिमिरेको शैलीमा हाम्रो अतीतको महिमागान गरिरहेका थिए– ‘हामीले हिमाल उठायौं एशियाको माझमा, सभ्यता बास बसेथ्यो आएर यही साँझमा ।’ उनी भन्दै थिए– ‘हामीसँग विज्ञानको पनि विज्ञान थियो, वैज्ञानिकहरुका पनि वैज्ञानिक थिए । हात हेरेर ग्रहदशा बताउन सक्ने, नाडी छामेर रोग पत्ता लगाउन सक्ने, झारफुक गरेर रोगीको उपचार गर्नसक्ने– यस्ता अद्भुत विज्ञान आज कतै छन् ? तर दुःखको कुरा विज्ञान भन्नेबित्तिकै कोपर्निकस र ग्यालिलियोको नाम लिइन्छ, ज्योतिषको नाम लिइँदैन, पाश्चर र डार्विनको नाम लिइन्छ, वैद्यको नाम लिइँदैन, न्यूटन र आइन्स्टाइनको नाम लिइन्छ, धामी–झाँक्रीको नाम लिइँदैन ।’
राष्ट्रिय सभागृहको दृश्य हेर्दा दार्शनिक प्लेटोको एउटा प्रसंगको स्मरण हुन्थ्यो । प्राचीन ग्रीसका महान दार्शनिक प्लेटोले सत्य र भ्रमको भिन्नता, वास्तविक संसार र अवास्तविक संसारको भिन्नता बुझाउनको लागि एउटा गुफाको उपमा प्रयोग गर्छन् । गुफाभित्र केही मानिसहरुलाइ बाँधेर राखिएको हुन्छ र त्यहाँ आगो बालेर उज्यालो बनाइएको हुन्छ । ती मानिसहरुले एकतिर मात्र हेर्नसक्छन् र उनीहरुले देख्ने ठाउँमा मानिसहरुका छायाँ देखिन्छन् । उनीहरुले ती छायाँहरुलाई नै वास्तविक वस्तु ठान्छन् । उनीहरुमध्ये एकजनालाई छोडिन्छ र ऊ गुफाबाहिर आउँछ । उसले बाहिर सूर्यको उज्यालोमा मानिसहरुलाई देख्छ । त्यसपछि उसले बाहिरका मानिसहरु वास्तविक वस्तु रहेछन् र गुफाभित्र देखिने दृश्य छायाँ मात्र रहेछन् भन्ने कुरा थाहा पाउँछ ।
यसको अर्थ के हो भने जबसम्म हामीले छायाँमात्र देख्छौं, तबसम्म त्यसलाई नै सत्य मान्छौं । त्यो भ्रमबाट मुक्त हुनको लागि हामीले छायाँ जुन वस्तुको हो, त्यसलाई साक्षात्कार गर्नुपर्छ ।
त्यस्तै राष्ट्रिय सभागृहमा पनि दुई दृश्यहरु देखिन्थे । भित्र एउटा संसार थियो, बाहिर अर्कै संसार थियो । भित्र छायाँ थियो, बाहिर यथार्थ । भित्र भ्रमको खेती भइरहेको थियो, बाहिर सत्यको उद्घाटन भइरहेको थियो । भित्र अँध्यारो थियो, बाहिर उज्यालो । भित्र विगत थियो, बाहिर वर्तमान । भित्र पश्चताप थियो, बाहिर उत्साह । भित्र चिन्ता थियो, बाहिर मनोरञ्जन । भित्र असन्तुष्टि थियो, बाहिर खुशी । भित्र विज्ञान–प्रविधिको उपाहास थियो, बाहिर विज्ञान–प्रविधिको उत्सव थियो । त्यसकारण वास्तविक विज्ञानको साक्षात्कार गर्न भित्रबाट बाहिर निस्किनु पथ्र्यो ।
यसरी विज्ञान दिवसको सुअवसरमा आजसम्मकै सवैभन्दा वैज्ञानिक दर्शन मानिएको माक्र्सवादको अनुसरण गर्ने प्रधानमन्त्री के.पी. ओलीको अवैज्ञानिक लीला देखिएको थियो । उनको यस्तो अवैज्ञानिक व्यवहारका अरु पनि उदाहरणहरु छन् ।
नेपालमा विज्ञान–प्रविधिसम्बन्धी काम गर्ने संस्था नास्टले बजेट बढाइदिन माग गर्दा प्रधानमन्त्री भिखारीलाई भिक्षा दिने भाषामा उत्तर दिन्छन्– ‘नासालाई दिएजस्तो दिन सकिँदैन ।’ जुन संस्था नासा नै होइन, त्यसले नासाको जति बजेट किन माग्दो होला ? अनि जुन संस्था नासा होइन, त्यसलाई नासाको जति बजेट दिने कुरा किन सोच्नुपर्दो होला ? के यो विज्ञानको अपमान होइन ?
आदित्य ज्योतिषशास्त्र प्रतिष्ठान खोल्नको लागि मुक्तकण्ठले मुट्ठी फुकाएर बजेट विनियोजन गर्न अभिरुचि देखाउने प्रधानमन्त्री के.पी. ओली विज्ञान–प्रविधि प्रतिष्ठानलाई बजेट विनियोजन गर्दा मन अमिलो बनाउँछन्, मुट्ठी कस्छन् । यहाँ यसरी विज्ञान–प्रविधिको उपेक्षा गरिन्छ ।
आज जुन–जुन देशहरु उन्नति–प्रगतिको शिखरमा छन्, त्यहाँ प्रगतिशील नेताहरुले मात्र होइन, निरंकुश शासकहरुले पनि विज्ञान–प्रविधिको विकासमा सहयोग गरेका थिए । बेलायतका राजा चाल्र्स द्वितीयले रोयल सोसाइटी स्थापना गर्न सहयोग गरेका थिए, फ्रान्सका राजा लुई चौधौंले एकेडेमी अफ साइन्स स्थापना गर्न सहयोग गरेका थिए र रुसकी साम्राज्ञी क्याथरिनले त विदेशबाट उत्कृष्ट वैज्ञानिकहरु र गणितज्ञहरुलाई आफ्नो देशमा ल्याएर विज्ञानको विकास गर्ने प्रयत्न गरेकी थिइन् । फ्रान्सका सम्राट नेपोलियन बोनापार्टसँग सधैं वैज्ञानिकहरु, गणितज्ञहरु र इन्जिनियरहरुको ठूलो टिम हुन्थ्यो । तर आपूmलाई सवैभन्दा क्रान्तिकारी दर्शन माक्र्सवादको अनुयायी मान्ने, सवैभन्दा सक्कली कम्युनिष्ट पार्टीको नेता मान्ने र संयोगवश गणतान्त्रिक देशको प्रधानमन्त्री पनि बनेका के.पी. ओली चाहिँ विज्ञानको उपाहास गर्छन् ।
जुन युगमा विज्ञान–प्रविधि मानव–समाजको आधार बनेको छ, जुन युगमा विज्ञान–प्रविधि उन्नति–प्रगतिको प्रमुख साधन बनेको छ, त्यो युगमा विज्ञान–प्रविधिको उपाहास गरेर देशको उन्नति कसरी होला त !
विज्ञानजगतमा एउटा भनाइ प्रचलित छ– ‘आवश्यकता आविष्कारको जननी हो ।’ तर हाम्रा नेताहरु हामीसँग सवै कुरा छ भन्छन् । एकतिर उनीहरु हामीसँग सवै कुरा छ भनेर गर्व गर्छन्, अर्कोतिर उनीहरु सवै कुरा दाउमा राखेर भिक्षा माग्दै हिँड्छन् ।
यहाँ नूनदेखि सूनसम्म, चप्पलदेखि ताजसम्म, सियोदेखि प्लेनसम्म विदेशबाट नल्याए हाम्रो गुजारा चल्दैन । तर फेरि पनि हामी भन्छौं– ‘हामीसँग सवै कुरा छ ।’ यो खोक्रो राष्ट्रवादको अहंकारले हामीलाई दरिद्रताको शिखरमा पु¥यायो, तर पनि हामी अभैm यसकै गुणगान गर्छौं ।
यदि युरोपेलीहरुले हामीसँग सवै कुरा छ भनेका भए कोलम्बस अमेरिका पुग्ने थिएनन् र अमेरिकीहरुले हामीसँग सवै कुरा छ भनेका भए नील आरम्स्टङ्ग चन्द्रमा पुग्ने थिएनन् । यदि एड्मण्ड हिलारीले सवै कुरा न्युजील्याण्डमा छ भनेका भए उनी र तेन्जिङ्ग शेर्पा सगरमाथाको शिखरमा पुग्ने थिएनन् । यदि बाइबलमा सवै कुरा छ भनेर बसेको भए कोपर्निकस, ग्यालिलियो, न्यूटन, डार्विन र आइन्स्टाइन कोही पनि हुने थिएनन् ।
त्यसकारण यसरी हामीसँग सवै कुरा छ भनेर खोक्रो राष्ट्रवादको अहंकारमा रमाउनु भनेको सुतुरमुर्गले बालुवाभित्र टाउको घुसारेर शत्रुबाट सुरक्षित भएको महसुस गरेजस्तै हो ।

Share this post

Comment (1)

  • इन्द्र भण्डारी Reply

    दमदार लाग्यो । लेखक अनि SOCH Team लाई बधाई ।

    21st October 2019 at 2:48 pm

Leave a Reply

Your email address will not be published. Required fields are marked *