बहसः धर्म, धर्म निरपेक्षता र साम्प्रदायिकता

बहसः धर्म, धर्म निरपेक्षता र साम्प्रदायिकता

Uttam Niraula


धर्म शब्द र आमबुझाईः
धर्म शब्दलाई विभिन्न प्रसंगमा आआफ्नै तरिकाले परिभाषित गर्ने चलन छ । पूर्वीय दर्शनका ज्ञातासँग छलफल गर्दा धर्म शब्दको आ आफ्नै अर्थ लगाएको पाईन्छ । सर्वसाधारणलाई धर्म भनेको के हो भनेर सोध्दा यकिन उत्तर छैन । तसर्थ हाम्रो समाजिक परिवेशमा धर्म भन्ने शब्दबारे समान बुझाई छैन ।
धर्म भन्ने शब्दको अर्थ भ्रमपुर्ण बनाईएको छ । सोही धर्म शब्द जोडिएकाले धर्म निरपेक्षता भन्ने शब्द त्यसै भ्रमित छ । हाम्रो संविधानमा एकातर्फ राज्यलाई धर्म निरपेक्ष घोषणा गरिएको छ भने अर्को तर्फ सनातनदेखि चली आएका धर्मलाई संरक्षण गरिने छ भनि घोषणा गरिएबाट त धर्म, धर्मनिरपेक्षता र धर्म निरपेक्ष राज्यको चरित्र सबैमा भ्रम मात्रै पैदा भएका छन् । धर्म निरपेक्ष राज्यले धर्मको संरक्षण गर्ने भन्ने बिषय आफैँमा बाझिएको छ । राज्य कि त धार्मिक हुन्छ र धर्मको प्रबद्र्धन गर्दछ कि त धर्म निरपेक्ष हुन्छ र धर्मसँग साईनो सम्बन्ध राख्दैन । यदि धर्म निरपेक्षतालाई अंग्रेजीमा सेक्युलरीज्म भनिएकै अर्थ लगाउने हो भने धर्म निरपेक्ष राज्यको संचालन धर्मबाट राखेर गरिन्छ । सेक्युलर राज्यले धर्मको संरक्षण गर्दैन बरु धर्म मान्ने वा नमान्ने जनताको हकलाई ग्यारेन्टी गर्दछ । धार्मीक कार्यमा राज्यले संलग्नता जनाउदैन ।
संविधानको सनातन देखि चल्दै आएका धर्मको संरक्षण गर्दछ भन्ने बुँदा आफैँमा विवादास्पद छ । कुन धर्मलाई सनातन भन्ने र कुन धर्मलाई असनातन भन्ने भनि कुन आधारमा सिमा रेखा कोर्ने हो ? पूर्वमा जन्मे हुर्केका धर्महरु सनातन हुन् भनी बोलिचालिमा प्रयोग भएको पाईन्छ । यदि हिन्दु र बौद्ध र धर्मलाई सनातन मानिएको हो भने मुस्लिम र क्रिश्चियन किन सनातन् हैनन् ? किनकी ईस्लामका प्रणेता मोहम्द र क्रिश्चियन धर्मका प्रणेता यशुक्रिष्टपनि पुर्वमा जन्मेर धर्मको विस्तार गरेका थिए । क्रिश्चियन र मुस्लिम धमपनि पूर्वबाट विस्तार हुन थालेका धर्म हुन् । उता नास्तिकतापनि पूर्वमा सनातन देखि चल्दै आएको छ । चारवाक वा लोकायत जस्तो धर्म विरोधि नास्तिक अभियान पनि त सनातन देखि चल्दै आएको हो । अब नास्तिकतावादलाई पनि सनातन् धर्म भन्ने ? फेरी राज्यले जनताको नीतान्त नीजि बिषय धर्मलाई आधार मानेर आफ्ना जनतालाई तँ सनातन, तँ असनातन भनि ट्याग लगाउन कानुनीरुपमा मिल्ने कि नमिल्ने ?
आज काठमाण्डौलाई सनातन हिन्दु धर्मको केन्द्रकोरुपमा चर्चा गरिएको पाईन्छ । तर काठमाण्डौ हिन्दुहरु सनातन स्थान हैन बरु किराँत र बौद्ध धर्म मान्ने मानिसको प्राचिन बस्ति हो । भारतका शंकराचार्यले बुद्धधर्मलाई मासेर हिन्दुत्व स्थापित गर्ने क्रममा यहाँका धेरै मानिस हिन्दु हुन बाध्य पारिएका थिए । शंकराचार्यको उक्त अभियानले बुद्र्ध धर्म मान्ने मानिसलाई मात्र हैन नेपालका मौलिक धर्म मान्ने खसहरुको धर्मलाई पनि उत्तिकै क्षति गरेको छ । खसहरु अहिलेको हिन्दुत्व हैन मष्टो मान्ने मानिस हुन् । उनीहरुका प्रमुख देवता नै कुल हुन् । आजपनि धेरै खसहरु कुल पूजा गर्दछन् । पृथ्वीनारायण शाहले एकिकरण गरेपश्चातपनि उनले मौलिक किसिमका धर्म सँस्कृतिलाई प्रबद्र्धन गरेका थिए तथापी भारतीय हिन्दुत्व उक्तबेलासम्म निकै बलियो भईसकेको थियो । कुल पुजाको सँस्कृतिलाई समाप्त पार्न भारतको विस्तारवादी हिन्दुत्वको ठुलो हात छ । अहिले अधिकांस खसलाई आफनो मष्टोको नाम के हो भनेर सोध्ने हो भने उत्तरबिहिन हुन्छन् ।
हाम्रा मौलिक धर्महरु जस्तै मष्टो पुजा, बौद्ध धर्म, प्राकृतिक धर्म ईत्यादी मास्न उक्त समयमा शंकराचार्यले जस्तो भुमिका खेले अहिलेपनि भारतबाट विस्तार भईरहेका धर्महरुले नेपालीको मौलिक धर्मलाई क्रिश्चियनले जसरी नै मास्दै लगेका छन् । धर्म परिवर्तन गर्ने धन्दा चलाए भनेर क्रिश्चियन मिशनहरुलाई गाली गरिरहँदा भारतबाट आएका मिशनहरुले नेपालीको धर्मपरिवर्तन गरेको बिषयलाई पनि उत्तिकै महत्व दिन जरुरी छ । अहिले काठमाण्डौ र अन्य मुख्य शहरलाई नै मात्र हेर्ने हो भनेपनि मौलिक धर्म मान्ने नेपाली पाउन मुस्किल भईस्क्यो । अध्ययन भन्दाबढी साम्प्रदायीकतामा विश्वास गर्ने जमात नेपालमा बढेकाले त्यसो भएको हुन सक्तछ । हिन्दु धर्म मान्ने नेपालीहरु भारतबाट आयातित विभिन्न धर्महरु जस्तैः कृष्ण प्रणामि, राधेराधे, ओम् शान्ती वा ब्रम्हकुमारी, साईराम, वैश्णव, सत्पालजी महाराज ईत्यादीलाई आफ्नो धर्म मानिरहेका छन् । भारतीयबाट विस्तारित अनेकौ स्वरुपका हिन्दु धर्ममा परिवर्तन हुने नेपालीको संख्या अकल्पनिय छ । त्यसैगरी भारतका कट्टरवादी हिन्दु संगठनहरु राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस), गौरक्षक दल, विश्व हिन्दु परिषद्, बजरंग दल जस्ता अतिवादी साम्प्रदायीक संगठनहरुले नेपालीलाई भारतका धर्महरु आफ्ना हुन् भन्न लगाई जबरजस्ती अतिवादी बनाउने खतरा छ । अहिलेपनि जसरी क्रिश्चियन धर्ममा नेपालीहरु प्रवेश गरिरहेका छन् त्यसरी नै भारतीय हिन्दु साम्प्रदायीक धर्ममा नेपाली युवाहरु प्रवेश गरिरहेका छन् । यस अवस्थालाई हेर्ने हो भने नेपालीहरुको मौलिक धर्महरु केही बर्षमा करिब करिब सम्पुर्णरुपमा समाप्त हुने देखिन्छ । यहाँ केवल भारतीय हिन्दुत्व, क्रिश्चियन र अन्य केही धर्मको बाहुल्य हुने लक्षण देखिन्छ ।
सामान्यतया साम्प्रदायीकतालाई धर्म भनेर बुझाईएको छ । म हिन्दु धर्मको, त्यो मुसलमान धर्मको, उ क्रिश्चियन धर्मको भन्ने गरिन्छ । यदि धर्म शब्दको सोझो अर्थ ईश्वरमा विश्वास गर्नु भन्ने मात्र होईन भने अहिले हामीले प्रयोग गरिरहेको धर्म शब्द ज्यादै अस्पस्ट शब्द हो । जुन शब्दले यकिन अर्थ दिँदैन त्यो शब्दको दुरुपयोग बढी हुन्छ । अस्पष्ट शब्दमा तर्क हैन भावना मात्रै हुन्छ । हिन्दु धर्मलाई पनि अस्पष्ट बनाई भावनाको राजनीति भईरहेको छ । हिन्दु धर्म भनेको के हो ? यो धर्म कसरी बन्यो ? नेपालमा कसरी आईपुग्यो ? हामी कहिलेबाट हिन्दु हुन पुग्यौँ ? हिन्दु बन्नु अगाडी हाम्रो समाजले के धर्म मान्दथ्यो ? कसले हामीलाई हिनदु बनायो ? जस्ता प्रस्नको उत्तर हिन्दुत्वको हवाला दिने मानिसमा पाईदैन । पुरुष, महिला, पानी र आकाशलाई एउटै शब्दले चिनाउँदा भाषामा जस्तो समस्या आउँछ धर्म शब्दमापनि उस्तै समस्या बनाईदिएका छन् । धर्म भनेको प्रकृति हो अथवा प्रकृति भनेको महिला हो, धर्म भनेको भक्ति हो, धर्म भनेको कर्तव्य हो, धर्म भनेको धारण गर्ने वस्तु हो अथवा लुगा हो, धर्म भनेको आध्यात्म हो ईत्यादी भन्दै गर्दा हामीले हाम्रा छोराछोरीलाई कसरी बुझाउँदछौ । तसर्थ, हामीलाई धर्म बुझेझै लाग्दछ तर वास्तवमा बुझाई भन्दापनि भावना मात्रै छ ।
हिन्दु, मुसलमान, क्रिश्चियन, बौद्ध ईत्यादीलाई हामीले धर्म भन्ने शब्दबाट चिनायौँ भने धर्म शब्दको अर्थ पुर्नरलेखन गर्नु पर्दछ । त्यसो हुँदा धर्मको अर्थ अंग्रेजीमा रिलिजन हुन्छ । धर्म भन्ने शब्दको अर्थलाई अंग्रेजीमा रिलिजन भन्ने हो भने यसलाई बुझ्न सहज हुन्छ । अन्यथा धर्म शब्दले सर्वसाधारणमा भ्रम मात्रै बढ्दछ । भारतले संविधानमा धर्म निरपेक्षता शब्द राख्यो । धर्म भन्ने शब्दमा भएका अन्यौलताका कारण त्यहा अनगिन्ति विवादहरु झिकिएका छन् । नेपालले सोही वाक्य राख्यो र भारतको विवादलाई हुबहु नेपालमा भित्रयायो । धर्म निरपेक्षताको सट्टा बरु अंग्रेजी सेक्युलरिज्म नै राखेको भए बरु बौद्धिक जगतमा धर्म निरपेक्षतालाई सहज तरिकाले बुझ्न सकिने थियो ।

धर्म निरपेक्षताबारे बुझाईः
धर्म निरपेक्ष भनिएको राज्यको कुनै धर्म हुँदैन र धार्मिक कार्यमा राज्य कहिँ सहभागित हुँदैन बरु जनताको शिक्षा, स्वास्थ्य र आर्थिक उपार्जनको बिषयमा मात्रै केन्द्रित हुन्छ । तर हिन्दु राजा हटाएर जतनाबाट चुनिएका धर्म निरपेक्षा राज्यका राष्ट्र प्रमुख र विगतको हिन्दु राजाले गर्ने कृयाकलापमा कत्तिपनि फरक छैन । पशुपति र वसन्त श्रवण अनि होली वाईन पिउने कार्यक्रम उनीहरुकालागि जनताको रोग, भोक, अशिक्षा, छुवाछुत, गरिबि भन्दा महत्वपुर्ण छन् । धर्म निरपेक्ष राज्यको अधिकांश कोष मठमन्दिर, गुम्बा, चर्च र धार्मिक समारोहकालागि खर्च भईरहेको छ । राष्ट्र प्रमुख र मन्त्रीहरुको अधिकांश भ्रमण सरकारी पैसामा धार्मिक कार्यहरुकालागि हुन्छ । धर्मका नाममा धर्म निरपेक्ष भनिएको सरकारले विभिन्न संस्था खोल्ने र प्रबद्र्धन गर्ने गरेको पाईन्छ । पर्यटन र सँस्कृतिलाई राज्यले धर्म भन्दा बाहिर गएर कल्पना गर्न सकेको छैन । हुँदा हुँदा विज्ञानका उपजहरु जस्तै हवाईजहाज, गाडीलाई समेतलाई नेपाल ल्याएर विधिवत् धर्म परिवर्तन गराईन्छ । नेपाल एयरलाईन्सको विमानलाई हिन्दु धर्ममुताबिक अभिशेक गराई पवित्र बनाईन्छ जसरी क्रिश्चियनहरुले होली वाटरले व्यक्तिलाई सिंचित गरि धर्म परिवर्तन गराईरहेका छन् । यसरी धर्मलाई राज्यले प्रयोग र संरक्षण गर्दा विज्ञानको जरो मर्दछ । त्यसैले राज्य धार्मीक नभएर धर्म निरपेक्ष हुनु परेको हो । धर्म निरपेक्ष राज्यले विज्ञान र वैज्ञानीकतालाई अपनाउँछ ।
राज्यलाई धर्म निरपेक्ष घोषणा गरेपछि नेपालमा हिन्दुधर्म अपनाउने मानिसले धर्म परिवर्तन गर्ने क्रम ह्वात्तै बढेको आम बुझाई छ । मध्यकालमा बौद्ध धर्म छाडेर धेरै नेपालीले हिन्दु धर्म अपनाएका थिए भने राजा त्रिभुवनका पालादेखि केही मानिसले हिन्दु धर्म छाडेर क्रिश्चियन धर्म अपनाएको पाईन्छ । महेन्द्रको पंचायति कालमा नेपालमा धर्म परिवर्तनको लहर बढेको हो । वर्तमान धर्मनिरपेक्ष गणतन्त्रात्मक राज्यमापनि क्रिश्चियन धर्ममा परिवर्तन गर्ने क्रम बढेको कुरा सत्य हो । तर राज्य धर्म निरपेक्ष भएकाले धर्म परिवर्तन भएको हो भन्ने कुराको कार्य कारण सम्बन्ध स्थापना गर्न कठिन छ । बरु नेपालीहरुको अशिक्षा, गरिबि, कुसँस्कार ईत्यादीका कारण धर्म परिवर्तनको क्रम बढेको होला । हिन्दुत्वमा रहेको वर्णाश्रमको शिरमा रहेका ब्राम्ह्ण र क्षत्रि कमैले धर्म परिवर्तन गरेका छन् तर वर्णाश्रमको पिँधमा रहेका शुद्र वा दलित र मतुवाली वा जनजातीले धर्म परिवर्तन गर्ने क्रम बढि देखिन्छ । तसर्थ, धर्म परिवर्तन हिन्दु धर्म मान्ने मानिसकालागि चुनौतिका रुपमा खडा भएको छ भने त्यसको कारण आफ्नै धर्म भित्रको दमन र विभेद हुन सक्दछ भन्ने तर्फपनि सोच्न जरुरी छ । आधुनिक समाजको माग अनुसार हिन्दु धर्मलाई परिवर्तन गर्न जति ढिला हुन्छ उतिनै हिन्दु धर्मभित्र पिँधमा परेका मानिसमा छटपछि बढ्छ । त्यसबाट निकास लिने एउटा मात्र धर्म परिवर्तन हुन सक्दछ । माओवादी आन्दोलनले पनि हिन्दु धर्म भित्रको दमनको चपेटामा परेकालाई उत्तिकै प्रयोग गरेकै हो । अन्यथा, आफ्नो धर्म र सँस्कृतिलाई राम्ररी बुझेको र भिजेको मानिसले त्यो धर्मलाई छाडेर नितान्त फरक किसिमको धर्म अपनाउन हतपत आँट गर्न सक्दैन । आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गरिएको हो भन्ने सामान्य बुझाई छ । तर आर्थिक प्रलोभनमा परेर धर्म परिवर्तन गरेको हुन भन्ने हो भने त्यो धर्म रत्तिभरपनि टिक्नु नपर्ने हो । राज्यले सबै जनतालाई समान अवसर दिन नसकेकाले पो आर्थिक प्रलोभनमा धर्म परिवर्तन भई रहेको हो कि त? राज्यले जनताको आम्दानीमा विकास गर्ने हो कि ?
आजको खुला समाजमा बेलायतको उपनिवेशकाल झैँ धर्म परिवर्तन एकतर्फि हुँदैन । जसरी नेपाल जस्ता देशमा क्रिश्चियन धर्ममा धर्म परिवर्तन भईरहेको छ त्यसैगरी पश्चिमा समाजमापनि हिन्दु धर्म अपनाउने मानिसको संख्या बढेको पाईन्छ । २०११ सालमा नेपालमा १.४ प्रतिशत जनता क्रिश्चियन भएको तत्यांक विभागको तथ्यांकले बोल्दछ जबकि १९५१ मा करिब ६ सयको संख्यामा मात्रै नेपाली क्रिश्चियनहरु थिए । तर क्रिश्चियनहरुको मुलुक बेलायत वा अमेरिकालाई लिने हो भने क्रमशः १.५ र १ प्रतिशत हिन्दुहरु रहेका छन् । त्यहापनि हिन्दुको जनसंख्या बढ्दो क्रममा छ । हिन्दुहरु मात्र हैन क्रिश्चियन धर्म मानिरहेका बेलायति र अमेरीकीहरुपनि हिन्दु धर्ममा धर्म परिवर्तन गरिरहेका छन् । सबै भन्दा अनौठो त मुसलमान बाहेक विश्वका हरेक समाजमा धर्म परित्याग गर्नेहरुको संख्या बढ्दै गएको छ । बरु बौद्ध दर्शनमा अधिकांश बौद्धिक मानिसले झुकाव राख्न थालेको पाईन्छ । किनकी सामान्यतया बौद्ध दर्शन कम साम्प्रदायीक छ ।

साम्प्रदायीकता
नेपालमा जन्मेका ह्यारी भण्डारी अमेरिकाको प्रदेश सभाका सांसद भएकोमा धेरै नेपालीले गौरवान्वित भएर शुभकामना दिए । अमेरीकामा भन्दा बढी उनी नेपाली समाचार पत्र र फेसबुकमा छाए । सबै भन्दा ठुलो कुरा उनले गीतालाई छोएर संसदमा सपथ खाएको कुरा नेपालमा महत्वकासाथ उठाईयो, उनको प्रसंसा गरियो । हरी भण्डारी मात्रै अमेरिकाका सांसद हुन् । पदिय दायीत्वका हिसाबले उनको नेपालीसँग कुनै सम्बन्ध छैन । उनी मात्रै अमेरिकीहरुका सांसद हुन् । उनी अब हरी बाट ह्यारी भईसकेका छन् । तर नेपाली साम्प्रदायिक मनले यसलाई स्विकार गर्न सक्दैन । अतः करिब शुन्य दशमलव सात प्रतिशत जनसंख्या भएका हिन्दुको ग्रन्थ लिएर संसदमा सपथ खाँदा क्रिश्चियन बाहुल्य अमेरिकामा खासै समाचार बनेन । तर कल्पना गरौँ, अमेरिकाबाट बसाई सरेर नेपालमा आएको कसैले नेपालको सांसदको चुनाव जितेर बाईबल लिएर पदको सपथ खायो भने सामाजिक संजाल र समाचार माध्ययममा कस्तो समाचार आउला ? साम्प्रदायीकतामा आफ्नो सम्प्रदायकाले गरेको त्यहि काम सहि र अरुको सम्प्रदायले गरेको त्यहि काम गलत हुन्छ । त्यसैले साम्प्रदायीकतामा तर्क हैन बरु भावना मात्रै हुन्छ ।
यहाँ उठाउन खोजिएको कुरा के हो भने रंग, जात, धर्म, भुगोल ईत्यादीका नामका समुह खडागरी एजेन्डा बनाई यो समुहको मात्र विशेष अधिकार चाहिन्छ, यसले भनेको मात्रै सहि हो भन्नु साम्प्रदायीकता मात्र हो । साम्प्रदायीकताले एकपक्षबाट मात्र समाजलाई बुझाउँदछ । समाजको विविधतालाई स्विकार गर्दैन । समाजलाई खुला हुन बाट रोक्दछ । खुला र समालोचनात्मक समाज भन्दापनि एकोहोरो र मुढ समाजको निर्माण गर्दछ । अन्ततः त्यो समाजले आफ्नो बाहेक अरु सम्प्रदायको अपमान गरी आफु स्थापित हुने रणनीति अख्तियार गर्दछ जसले समाजमा कलह मात्र सृजना गर्दछ । त्यसैले, भावनामा आएर विविध धर्महरु अटाएको देशमा एउटै धर्मको आधिपत्य हुनु पर्दछ भनेर आवाज उठाउँदा प्रजातन्त्रको उपहास मात्रै हुन्छ । किनकी राज्यले जनतालाई हिन्दु, मुसलमान, क्रिश्चियन वा बौद्ध भनेर चिन्दैन केवल नेपाली भनेर चिन्नु पर्दछ । धर्म व्यक्तिको नितान्त व्यक्तिगत कुरा मात्रै हो ।

अन्त्यमा, राज्य धर्म निरपेक्ष रहने कि हिन्दु राज्य रहने भन्ने बिषयमा भईरहेका छलफलले जम्मा साम्प्रदायीकको मात्रै विकास गर्नेछ । जनता आ आफ्नो सम्प्रदायमा आबद्ध हुने र सरकारसँग साम्प्रदायीक बिषयमा मात्रै छलफल गर्न आतुर हुन्छन् । यसले देशको मुख्य समस्या गरिबि, अशिक्षा, रोग, बेरोजगार ईत्यादीका बारेमा राज्यको ध्यान जान पाउदैन । तथापी, त्यहि साम्प्रदायीकताको सिँढी चढेर नेता सत्तामा पुग्छन् र रोगले ग्रस्त गाउँमा अस्पताल बनाउन हैन सप्ताह पुराण लाउने काममा उसले सत्ताको उपयोग गर्दछ । जनताका मुख्य समस्या यथावत् रहन्छन् । अन्ततः विभिन्न सम्प्रदायको टकरावले देशलाई विग्रहमा मात्रै लैजान्छ । विश्वेश्वर प्रसाद कोईरालाले सो कुरा बुझेर नै नेपाल हिन्दु धर्मले शासन गर्नु हुदैन भनेका थिए । हिन्दु भन्ने बित्तिकै भारतको ठाडो साँस्कृतिक हस्तक्षेप नेपालमा भित्रन सक्दछ जुन अहिले भईरहेको छ । क्रिश्चियनका नाममा पनि पश्चिमाको ठाडो हस्तक्षेप नेपाल भित्रिईरहेको धेरैको आरोप छ । पृथ्वीनारायण शाहले भनेझैँ नेपाललाई सबैको साझा फुलवारी बनाउने हो भने राज्यले धर्म अपनाएर सम्भव छैन । बरु, जनताको शिक्षा, स्वास्थ्य र आर्थिक उपार्जन लगायतका विकासमा राज्यलेसमय खर्च गर्ने हो । अन्यथा विकास भन्दापनि बहसकालागि बहस गर्दागर्दै अरु कैयौ दशक व्यर्थमा गुज्रने निश्चित छ । म कुन धर्मको भन्ने व्यक्तिगत कुरा हो । म कुन देशको भन्ने साझा कुरा हो । तसर्थ, व्यक्तिगत कुरामा राज्यलाई नउल्झाई हाम्रा साझा समस्या समाधान गर्न तर्फ उन्मुख गराउन जरुरी छ ।

उत्तम निरौला
uttamniraula73@gmail.com

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *