दाईजो नियन्त्रणको प्रयास

दाईजो नियन्त्रणको प्रयास

दाईजो प्रथा आधुनिक समाजमा महिला दमनको नयाँ श्रृंखलाकारुपमा उदाएको छ । छोरीलाई परिवारको बोझ मानेर पुरुषलाई ससम्पत्ति दान दिईने प्रथालाई दाईजो मानिन्छ । विभिन्न सँस्कृतिका मानिसले यसलाई बचाउ गर्नकालागि जुनसुकै तर्क गरेतापनि वास्तविकता के हो भने दाईजो महिला बेचबिखनको सामाजिक रीति हो । 

स्वाभाविकरुपमा दाईजो प्रथा विवाहसँग संबन्धित छ  । करिब बीस लाख बर्ष पहिले मानव सभ्यतामा विवाह भन्ने वस्तु नै थिएन । विभिन्न समाजमा विभिन्न प्रयोजनले विवाहको शुरुवात् भए । तर विवाहको शुरुवात् सामाजिकरुपमा महिलालार्ई  दासी बनाइ भित्रयाउनकालागि गरिएको थियो । विवाहबाट पुरुषलाई दुईवटा फाईदा थिएः एक, अन्नपात संकलन गर्न मानव श्रोत पाईयो र दोश्रो यौन आनन्द र बच्चा जन्माउने स्त्री शरीर उपलब्ध भयो । हिन्दु धर्मअनुसारकै विवाहमा आजपनि केटीले आफुलाई केटाको दासी भएको पटक पटक कसम खानुपर्ने बाध्यताले यसलाई अझ स्पष्ट पार्दछ । विवाहको स्वरप फेरिँदै जाँदा आफ्नो कुलका महिलासँग पुरुषले विवाह गर्न छाडी अर्को कुलमा केटी खोज्न थाले । यसकालागि केटी खोज्न टाढा टाढाको बाटो जानु पर्ने भयो । केटीलाई खोजेर आफ्नो गाऊँसम्म ल्याउदा बिचैमा ति केटीलाई अर्कोले लुटेर लैजाने खतरा रहेकाले गाऊँका धेरै मानिस केटी ल्याउन सहयोग गर्न जान थाले । त्यसरी धेरै मानिस केटी ल्याउन अर्को गाऊँ जाने प्रथालाई आज हामी नेपाली भाषामा जन्ती जाने भन्दछौँ । त्यसरी लामो बाटो तयगरि केटी ल्याउनु पर्ने हुँदा जन्तीलाई बाटैमा भोक लाग्ने नै भयो । जन्तीको भोक मेटाउन केटी पक्षले बाटोमा खानेकुरा दिने चलन बस्न थाल्यो । यसरी दासीपनि पाईने मिठो खानपनि पाईने भयो । उस समयमा मिठो खान पाउनुको निकै महत्व हुन्थ्यो । कालान्तरमा समाज आधुनिकता तर्फ मोडिदै गयो । बस्तीहरु नजिक नजिक सर्न थाले, यातायातका साधनहरु उपलब्ध हुन थाले ईत्यादी कारणले जन्तिलाई बाटोमा खानाको खासै जरुरत पर्न छाड्यो । तथापी केटीपक्षबाट आईरहेको खानाक वापतको खर्च केटापक्षले माग्न भने छाडेनन् । तिम्रि छोरी मैले लगेर पाल्नु परेको छ त्यसैले मलाई यति देऊ उति देऊ भनेर केटा पक्षले केटी पक्षसँग मोलमोलाई गर्न थाल्यो । आजपनि मोलमोलाई छँदैछ दहेज वा दाईजोकारुपमा । दाईजोका कारण आजपनि धेरै घरहरु महिला बन्दीगृह झैँ छन् । कति घरहरु त महिलाकालागि  घाटमा परिणत भएका छन् । 

समाजमा व्याप्त विभिन्न कुरीतिहरु मध्ये दाईजो प्रथा सबैभन्दा जटिल प्रथा हो । किनकी यो प्रत्यक्षरुपमा अर्थसँग गाँसिएको छ । त्यसमापनि आजको जस्तो पैसा केन्द्रित समाजमा त दाईजो प्रथा पुरुषकालागि रातारात जीवन मालामाल गर्ने माध्ययम बनेको छ । मिहिनंरुपमा हेर्ने हो भने विवाह गर्न चाहने महिलापनि दाईजोको खासै विरोधी हुदैनन् किनकी बाँकी जिन्दगी जोसँग काटीदैछ उसैले पैसा वा सम्पत्ति पाउनु भनेको आफैले सम्पत्ति पाउनु सरह हो । आफ्नो पति धनी भए आफुपनि धनी हुने पक्का छ । 

महिलालाई सानैदेखि अर्काको घरमा दिने जात भनेर हुर्काईएको हुन्छ । मानसिकरुपमा महिलाले आफ्ना बाउआमा भन्दा अर्कै पुरुषसँग बढी आश गरेकी हुन्छे । कति युवतिले त बाउ आमाले हामीलाई अंश नदिएपछि दाईजो दिनु परेन त ? भनि प्रतिप्रश्न गरेको पाईन्छ । एकतर्फबाट हेर्दा यो सहिपनि हो । परम्परागत परिवारमा केटी हेर्न जाँदा तीनकुरालाई ध्यान दिईन्छ, शारिरीक पक्ष, आमाबाबुको संपत्ति र केटीको चरित्र । माथी भनिएझै यी तिन कुरा भएमा अल्छे पुरुषले एउटी योग्न दासी पाउँछ । दाईजो भन्ने बित्तिकै यो मिथिला र भोजपुरी सँस्कृतिमा छ भन्ने हाम्रो बुझाई छ । तर यो सँस्कृति अन्तपनि उत्तिकै छ । फरक के हो भने दक्षिण नेपालमा खुलेआम मोलमोलाई हुन्छ तर उत्तर तर्फ समाजलाई देखाउनकालागि दाईजो  दिईन्छ ।

दाईजो सामाजिक समस्या हो भन्ने कुरा पंचायतकालदेखि नै अनुभव गरिएको पाईन्छ । केही शासकहरुले यसविरुद्ध बोलेका छन् । तथापी ठुला ठुला राजा महाराजाहरुले दाईजो लिन भने छाडेनन् । २०३२ सालमा दाईजो प्रथालाई निस्तेज पार्न पर्दछ भन्ने राज्यले अठोट गरि समाजिक व्यबहार सुधार ऐन ल्यायो । त्यसमा दाईजोमात्र नभएर भड्किलो सँस्कृतिलाई कसरी निस्तेज पार्ने भन्ने व्यवस्था गरियो तर ऐनले समाजमा कत्तिपनि असर पारेन । किनकी ऐन बनाउने र लागु गर्ने दुवै दाईजोको स्वादमा रमाएकाहरु थिए । आजपनि यो देशका मन्त्रि, प्रशासक र न्यायरक्षक नै दाईजोमा चुर्लुम्म डुबेका छन् । आफ्ना छोराको जीन्दगी भरको खर्च कसरी उकास्ने भन्ने योजना बुनिरहेकै छन् । 

दाईजो नियन्त्रण गर्न कानुनको आवश्यकता त छ तर कानुन एक्लैले केही गर्न सक्ने देखिदैन । दाईजो विरुद्ध सचेतना अभियानपनि नभएका हैनन् । तर सचेतनालेपनि खासै प्रभाव पार्ने देखिदैन किनकी पुरुषलाई सोझो आम्दानीको श्रोतको व्यवस्था जो छ । तसर्थ दाईजो प्रथालाई नियन्त्रण गर्न राज्यले थप रणनीति अपनाउनु पर्दछ । 

महिलालाई जसरी समाजले विवाहका नाममा वस्तुकारुपमा लेनदेन गरिरहेको छ त्यसलाई अन्त्य गर्नु पर्नेछ । यसको मतलब विवाहलाई सक्नु पर्दछ भन्ने हैन । तर वस्तु सरह केटीलाई माग्ने सँस्कृतिको अन्त्य गर्दै एक पुरुष र महिला बिचको सहकार्यकारुपमा विवाहलाई स्थापित गर्नु पर्दछ । अहिलेपनि हेरौँ गैर मागी विवाहमा दाईजो लेनदेनको संभावना लगभग शुन्य बराबर छ । यस्तो विवाहमा महिला दासीकारुपमा नभएर पुरुषको साथीकारुपमा विवाह गर्न राजी भएकि हुन्छे । तसर्थ विवाहलाई केटी दान दिने (कन्यादान गर्ने) समाजको दृष्टिकोणलाई सचेतनाका माध्ययमबाट फेर्न जरुरी छ । 

महिलालाई संपत्तिमाथिको पहुँच दिन नसक्दा आजपनि उ पुरुषको दास भएको अनुभव गर्न बाध्य छे । किनकी उसको ईज्जत, मानसम्मान, सम्पत्ति र पौरख पुरुषले काखी च्यापेका दिनसम्म मात्रै रहन्छ । कुनै पुरुषले उसलाई दोष मात्रै लगाई दिएमा उसको टेक्ने र समाउने दुवै ठाँऊ भत्किन्छ । तसर्थ, अब महिलालाई जन्मजात बाबु आमाको अंशमाथि अनिवार्य हक हुने व्यवस्था गर्न जरुरी छ । यसो गर्नाले आफ्नो संपत्तिका भरमा महिला स्थापित हुन सक्दछिन । आर्थिकरुपमा स्थापित केटीले विवाह कोसँग गर्ने उनको रोजाई बन्ने छ ।  आफ्नो पकडमा संपत्ति हुनासाथ महिलाले आफुविरुद्धको दमनमा बोल्न सक्दछिन । यसका साथै समयको क्रमसँगै हुने बसाई सराई, सीप विकास, आत्मनिर्भर हुने अन्य संभावनाहरुलाई राज्यले जति वेगले विकास गर्न सक्दछ दाईजो प्रथा र यसबाट हुने मानव अधिकार हनन् उत्तिकै वेगमा कम हुदैजाने निश्चित छ । तसर्थ, कानुन बनाएकै भरमा मात्रै दाईजो प्रथा नियन्त्रण नहोला  थप कार्य गर्न जरुरी छ । 

उत्तम निरौला

Share this post

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *